कालीगण्डकी नदीमा जीप खसालेर भागेका यहाँका एक चालक दम्पतीलाई म्याग्दी प्रहरीले आपराधिक विश्वासघातको कसुरमा मुद्धा अगाडि बढाएको छ ।

मालिका गाउँपालिका-५ देविस्थान घर भई बेनी नगरपालिका-७ महारानीथान बस्ने जीप चालक कमलेश परियार र उनी श्रीमती सीता लौडारी परियारलाई प्रहरीले आपराधिक विश्वासघातको कसुरमा पक्राउ गरेको हो ।

बेनी-जोमसोम सडकको महभीर भीरकाटे खण्डबाट साउन १० गते ग २ च १०३१ नम्बरको मालवाहक बोलेरो जीप कालीगण्डकी नदीमा फालेर बेपत्ता भएका कमलेशलाई प्रहरीले साउन १४ गते काठमाडौंको मित्रनगरस्थित ओम गेस्ट हाउसबाट पक्राउ गरेको थियो । श्रीमती सीतालाई भने साउन १५ गते बिहान सदरमुकामस्थित बेनी नगरपालिका ७ महारानीथानचोकमा रहेको डेराबाट २ लाखभन्दा बढी नगद रुपैयाँसहित पक्राउ गरेको थियो ।

बेनीबजारस्थित सुमन किराना स्टोर्सबाट खाद्यान्न लिएर अन्नपूर्ण गाउँपालिका-३ दाना र सोही पालिका-४ नारच्याङ क्षेत्रमा खाद्यान्न बेचेर करिब १४ लाख नगद रुपैयाँ उठाएका चालक परियारले साउन १० गते जीप कालीगण्डकीमा फालेर आफू रातातार भागेका थिए ।

श्रीमान् कमलेशलाई मालवाहक जिप कालीगण्डकीमा फाल्न लगाई रकमसहित भाग्न मिलिभगत गरेको आरोपमा श्रीमती सीतालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

‘साउन १० गतेदेखि बेपत्ता भएका चालक कमलेश र निजकी श्रीमती सीता परियारलाई फरक फरक स्थानबाट पक्राउ गरी आपराधिक विश्वासघात कसुरको अभियोगमा जिल्ला अदालतबाट एक साताको म्याद थप गरी अनुसन्धान गरिरहेका छौं‚’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन कुँवरले भने, ‘बेनीस्थित सुमन किराना स्टोर्सबाट बजार प्रतिनिधिको समेत भूमिकामा खाद्यान्नसमेत मालसामन लिएर गएका जिप चालक परियारले व्यापारिक विश्वासघात गरी जिपलाई कालीगण्डकी नदीमा फालेर सामान बेचेर उठेका रकम लिएर फरार भएका थिए ।’

श्रीमान श्रीमतीले योजना बनाई आपराधिक विश्वासघात गरेको प्रहरीको भनाई छ ।

यस्तो छ आपराधिक विश्वासघातको घटनाको विवरण :

जिल्ला प्रहरी कार्यालय म्याग्दीले सार्वजनिक गरेको लिखित विवरणअनुसार साउन ८ गते सदरमुकाम बेनीबाट ग २ च १०३१ नम्बरको मालवाहक बोलेरो जिपमा खाद्यान्नसमेत मालसामग्री लिएर चालक परियार अन्नपूर्ण गाउँपालिका २, ३ र ४ वडामा पर्ने विभिन्न बस्तीमा गएका थिए । ७–१० गतेसम्म चालक परियारले सो क्षेत्रमा सामान बेचे र नयाँ-पुरानो हिसाब उठाए । करिब १४ लाख नगदसहित सामान बेचेर सदरमुकाम फर्कने क्रममा परियारले अन्नपूर्ण गाउँपालिका-२ भुरुङतातोपानीको एक पसलबाट मोबाइलका लागि नयाँ सिम किने ।

साँझ वरपर बस्ती नभएको जंगल र एकान्त रहेको भीरकाटे खण्डमा पुगे र जिपको अगाडिको सिसा र लुकिङग्लास झिके, आफूले लगाएको टिसर्ट र सामान बेच्न जाँदा प्रयोग गर्ने बिलसमेतका कागजात पनि खोला किनारमा फाले । अनि सडकमा आएर जिपलाई न्युटलमा राखेर कालीगण्डकीको उर्लँदो भेलमा धकेलिदिए ।

प्रहरीका अनुसार जिप नदीमा खसालेपछि चालक परियार बेनी-जोमसोम सडक हुँदै पैदल आएर बेनी नजिक एउटा गोठमा बास बसे । ११ गते बिहानै परियार जिप चढेर पर्वत सदरमुकाम कुस्मामा पुगे । ११ गते सदरमुकाम बेनीमा रहेकी श्रीमती सीतालाई कुस्मामै बोलाए र सो रात परियार दम्पती कुस्माको एक होटलमा बास बसे । १२ गते श्रीमान् कमलेश कुस्माबाट कास्कीको घान्द्रुकतर्फ लागे ।

श्रीमती सीता परियार भने म्याग्दी फर्केर ‘आफ्ना श्रीमान् कमलेश सुमन किनारा स्टोर्सको सामान लिएर गएको र जिपसहित कालीगण्डकी नदीमा बेपत्ता भएकाले श्रीमान्‌को सास कि लाश खोजी गरिदिन निवेदन दिइन् । कमलेश भने कास्कीको नयाँपुलबाट ४ हजारमा घोडामा घान्द्रुक हुँदै टाडापानी, घान्द्रुक देउराली पुगेर बास बसेका थिए ।

१३ गते परियार फेरि उल्लेरी हुँदै विरेठाँटी ओर्लेर पोखरा पुगी आफन्तको घरमा बसेका थिए । १४ गते उनी पोखराबाट बसमा काठमाडौं पुगेर होटलमा बसेका थिए ।

घटनास्थलको अध्ययनपछि जिप दुर्घटना नभई नियोजित घटना भएको निष्कर्षमा पुगेको प्रहरीले चालक परियारकी श्रीमतीको मोबाइल निगरानीमा राखेको थियो । साउन १४ गते दिउँसो करिब ४ बजेतिर काठमाडौंको एक होटलको भिजिटिङ कार्डसहित नजिकैको पसलबाट परियारले प्रहरीको नियन्त्रणमा रहेकी श्रीमतीको मोबाइलमा कल गरेका थिए । सोही कलको आधारमा कलब्याक गर्दा पसलेले फोन गर्ने व्यक्तिको हुलिया र होटलको नाम बताएपछि काठमाडौं प्रहरीले पिछा गर्दै जाँदा मित्रनगरको होटलबाट परियार पक्राउ गरेका थिए ।

साउन १२ गते श्रीमान्‌सँग कुस्मामा सँगै रात बिताएर फर्केकी कमलेश परियारकी श्रीमती सिताले प्रहरी कार्यालयमा पुगेर ‘श्रीमान्‌को सास कि लाश’ खोज्न निवेदन मात्र दिइनन्, आफन्तहरू बोलाई प्रहरी कार्यालयमा दबाब दिन लगाइन् । उनले श्रीमान्‌को मृत्यु भयो भन्दै रोइकराई गर्ने, बिलौना गर्नेसमेतको अभिनय गरेकी थिइन् । कमलेश काठमाडौंमा पक्राउ परेलगत्तै प्रहरीले सीतालाई सोधपुछका लागि लग्यो ।

सीतालाई प्रहरीले नियन्त्रणमा लिएपछि ‘जिपधनीसँग मिलेर गरिब चालकका परिवारलाई उल्टै दुःख दिएको भन्दै आफन्तहरू प्रहरी कार्यालयमा पुगेका थिए । जब प्रहरीले कमलेशलाई सकुशल आफन्तहरूसमक्ष देखायो तब आफन्तहरुले नाटकीय आपराधिक विश्वासघातको घटना जानकारी पाएका थिए ।

‘आरोपित पक्ष पक्राउ गरी अनुसन्धान सुरु गरेका छौं । पीडित पक्षले धेरै रकम उठाएको भनेका छन्, आरोपितसँग थोरै रकम बरामद भएको छ । अध्ययनकै क्रममा रहेकाले थप केही भन्न सकिएन । श्रीमान् / श्रीमतीबीच आपराधिक विश्वासघात गर्ने पूर्वयोजना भएको देखिन्छ । चालक परियार राहदानीसहित काठमाडौं पुगेकाले लुकिछिपी विदेश पुग्ने योजना हो कि भन्ने देखिन्छ‚’ प्रहरी नायव उपरीक्षक कुँवरले सुनाए ।

Leave a Reply