म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगका वडा सचिब सरस्वती आचार्यले मृतकको सहित ५ जनाको सामाजिक सुरक्षा भक्ता आफैले झिक्ने गरेको भेटिएको छ ।

वडाबासीलाई सेवा दिएबापत अतिरिक्त सुविधा माग्ने, अनावश्यक दुख दिने र सामाजिक सुरक्षा भत्ता नै दुरुपयोगको गुनासोपछि भएको छानविनको क्रममा सचिव आचार्य दोषी देखिएपछि गाउँपालिकाले कारबाहिरको लागि सिफारिस गरेको छ । वडा सचिब आचार्यले लाभग्राहीको बैँक चेकमा आफैले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भक्तामा अनियमितता र हिनामिना गरेको गुनासो र उजुरी परेपछि गत असार १९ गते गाउँपालिकाले छानविन समिति गठन गरेको थियो ।

गाउँ कार्यपालिकाका प्रवक्ता समेत रहेका सामाजिक विकास समितिका संयोजक मनकुमार शेरपुञ्जाको संयोजकत्वमा वडा नम्बर १ का वडा सदस्य बलमान गौचन र पञ्जिकरण शाखाका प्रमुख बसुदा पुन सदस्य रहेको तीन सदस्यीय छानविन समितिले असार २५ गतेबाट वडा सचिबले अनियमितता गरेको प्रकरणमा आबश्यक छानविन गरेको र छानविनको क्रममा आरोप पुष्टि हुने कागजात र प्रमाणहरु संकलन भएको छानविन समितिका संयोजक शेरपुञ्जाले बताए ।

‘वडाबासीलाई दुख दिएको र सरकारी सुविधा दुरुपयोग गरेको भेटियो,‘गुनासो आएपछि रकम लाभग्राहीकै खातामा जम्मा भएको छ’ संयोजक शेरपुञ्जाले भने ।

उनका अनुसार वडा सचिब आचार्यले सामाजिक सुरक्षा पाउने बेगका टिकामा पुर्जा, रमायाँ फगामी पुन, लालमायाँ फगामी पुन र विन्दु गर्वुजा गरी चार जना व्यक्तिहरुको भक्ता आफ्नै हस्ताक्षर र आफै लिखित र औँठा छाप लगाएर रकम लिएको कागजातले पुष्टि गरेको छानविन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरि वडा सचिब आचार्यले मृतक गौदेवी तिलिजाको सामाजिक सुरक्षा भक्ता समेत आफैले झिक्ने गरेको भेटिएको बताए ।

समितिले पीडित लाभग्राही, वडा कार्यालयका कागजात र सामाजिक सुरक्षा भक्ता वितरण हुने प्रभु बैँकको रघुगंगा शाखामा समेत गएर आबश्यक कागजात, तथ्य र प्रमाणहरुको आधारमा छानविन गरेको र ७० पृष्ठ लामो प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदन बुधवारको कार्यपालिका बैठकमा पेश भएको थियो ।

कार्यपालिका बैठकले छानविन समितिको निष्कर्षका आधारमा वडा सचिब आचार्यले सामाजिक सुरक्षा भक्तामा अनियमितता गरेको भेटिएको भन्दै आबश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालय र निकायमा सिफारिस सहित प्रतिवेदन पठाउने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालले बताए ।

वडा सचिब आचार्यले पाँच जनाको सामाजिक सुरक्षा भक्ताको रु १ लाख ५४ हजार २० हिनामिना गरेको र गाउँपालिकामा लाभग्राहीका आफन्तले उजुरी गरेपनि आचार्यले उक्त रकम सम्बन्धित लाभग्राहीकै खातामा जम्मा गरिदिएको भेटिएको छानविन समितिका सदस्य बलमान गौचनले बताए ।

वडा सचिबले सामाजिक सुरक्षा भक्तामा अनियमिता गरेको उजुरी पछि आचार्यलाई वडा सचिबबाट फिर्ता बोलाएर गाउँपालिकामा हाजिर गराईएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । लोकसेवाबाट सिफारिस भएर आएका कर्मचारीलाई कारबाहि गर्ने अधिकार स्थानीय तहलाई नभएकाले आबश्यक छानविन गरेर कारबाहिको लागि सम्बन्धित निकायमा सिफारिस सहित पठाउने निर्णय गरिएको बताए । वडा सचिव आचार्यलाई सेवाबाटै बखास्त गर्ने गरी सिफारिस गरिने जनाइएको छ ।

 

Leave a Reply