गलेश्वर, २२ साउन । पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको तट (किनार)मा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा घना जङ्गल । जङ्गलको माथिपट्टि विशाल भिर । त्यही भिरको मुख्य पहाडनै काटिएर अङ्ग्रेजी अक्षर भी  आकारमा माथिदेखि तल फैलँदै अर्धसोली आकारमा झरेको पानी उड्ने कोप्रे झरना हिजोआज धेरैको आकर्षणको केन्द्र विन्दु बन्दै गइरहेको छ ।

म्याग्दीको बेनी नगरपालिका–३ दुधेखोलास्थित सो झरना अवलोकनका लागि यहाँ आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेको छ ।  म्याग्दीको सदरमुकाम बेनी बजारको म्याग्दी पुल तरेर पश्चिम हाँडेभिर सुर्केमेला बरङ्जा सडकखण्डतर्फ लाग्दा बगरफाँटमा रमणीय धानका हरिया  फाँट कटेपछि यो झरनामा पुग्न सकिन्छ ।

म्याग्दी खोलाको काखमा सुन्दर शान्त बगरफाँट बस्ती र शिरमा झर्ने विभिन्न झरना हेर्दै करिब दुई किलोमिटरको यात्रापछि पुगिन्छ कोप्रे झरनामा । करिब दुई सय मिटर उचाइ रहेको कोप्रे छहरा र पाँच सय मिटर उचाइ रहेको यो झरना मुख्य सडकको एक सय मिटर दक्षिणी भागमा अवस्थित छ ।

यहाँ दैनिक ५० देखि दुई सय युवायुवती रमाउन आउने गर्दछन् । यहाँ दुई  कोप्रे र उडाइनो झरना छन्  । बेनी –२ का  कमल जिसीले कोप्रे झरना हिजोआज धेरैको आकर्षणको केन्द्र  बन्दै गइरहेका बताए । बेनी –२ बगरफाँटमा पर्ने उडाइनो झरना र बेनी –३ भकिम्लीको दुधेखोलामा पर्ने कोप्रे झरना दुवै वडाका आकर्षक झरना हुन् ।

बेनी –३ भकिम्लीको तोराखेतबाट झर्ने उडाइनो झरना र कोप्रे झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा बग्ने गर्दछन् । पूर्वाधार विकास र प्रचारप्रसार गर्नसके आकर्षक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गाश्रमजस्तै अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ ।

आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको झरना करिब दुई सय ५० मिटर अग्लो छ । झरना सदरमुकाम बेनी बजारदेखि करिब ४५ मिनेटको दूरी र बेनी–बगरफाँट–बरङ्जा सडकअन्तर्गत बगरफाँट गाउँबाट एक हजार मिटर दक्षिणमा पर्दछ । बेनपा–३ भकिम्लीको तोराखेतबाट झर्ने सो झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा बग्ने गर्दछ । पूर्वाधार विकास र प्रचारप्रसार गर्नसके आकर्षक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गद्वारी आश्रमजस्तै अर्को पर्यटकीय गन्तव्य बनाउन प्रयास गरिने बेनी –३ का वडाध्यक्ष पदमबहादुर पुनले बताए ।

म्याग्दीका बुद्धिजीवी एवं इतिहासका अध्येता चन्द्रप्रकाश बानियाँले म्याग्दी नदीको पानी लिफ्ट गरेर भए पनि झरनालाई निरन्तरता दिनुपर्ने बताए । सो झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभई पुलस्त्य डाँडो, ढोलठाना, मल्लाज, गाजने र टोड्केको समेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने उनको भनाइ छ ।

रमणीय जङ्गलको बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पशुपन्छीको वासस्थानसमेत छ । प्राकृतिकस्वरुप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाएर यसको विकासमा लाग्न स्थानीयले नगरपालिकासँग माग गरेका छन् । अन्य दिनभन्दा छुट्टीको दिनमा यहाँ घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको पाइएको छ भने किशोरकिशोरी र युवा समूहले बढी अवलोकन गर्ने गरेका स्थानीयवासीको भनाइ रहेको छ । यी दुई झरना पर्यटकीयस्थल लभ्लीहिल पछिको दोस्रो बढी तस्बिर खिचिने स्थान भएको बेनीबाट झरनामा घुम्न आएका कृष्ण श्रेष्ठले बताए ।

पैदल वा सवारी दुवैको प्रयोग गरी पुग्न सकिने यस छहरालाई व्यवस्थित गरी प्रचारप्रसार गर्न सकिएमा म्याग्दीको पर्यटनमा थप इँटा थपिने उनको भनाइ छ । यहाँ पर्यटकीय पूर्वाधारको विकास गर्ने हो भने भकिम्ली बेलढुङ्गा तथा मङ्गला गाउँपालिकाको झाँक्रीपानीसम्म पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने यहाँ पुग्ने युवाले बताएका छन् ।

रमणीय जङ्गलको बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पशुपन्छीको वासस्थानसमेत छ । प्राकृतिकस्वरुप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाउनुपर्ने स्थानीयको माग रहेको छ ।

Leave a Reply