म्याग्दीमा कुल मुद्धाको ५० प्रतिशतभन्दा धेरै सम्बन्ध बिच्छेदको रहेको छ । कम उमेरमा बिहे हुँदा उत्पन्न पारिवारिक विवाद, वैदेशिक रोजगार गएका श्रीमान् वा श्रीमतीबीच बढ्दो असहमति, यौनजन्य गतिविधि महिला तथा पुरुषहरू डिपेन्डेन्ट भिसामा विदेश जानु, कुटपिट लगायतका कारणले म्याग्दीमा सम्बन्ध विच्छेद ह्वात्तै बढेको छ ।

आर्थिक बर्ष २०७९÷०८० मा कुल ६२० मुद्दामध्ये ३५२ मुद्धा सम्बन्ध विच्छेदको दर्ता भएको जिल्ला अदालत म्याग्दीका शाखा अधिकृत शंकर सापकोटाले बताए । उनका अनुसार ३५२ वटा सम्वन्ध विच्छेदका मुद्दामध्ये ३२९ फछर्यौट भएको छ भने २३ वटा मुद्दा विचाराधीन छन् ।

पछिल्ला आधादशक यता सम्बन्ध विच्छेदका मुद्धा उकालो लागेको शाखा अधिकृत सापकोटाले बताए । आर्थिक बर्ष २०७८÷०७९ मा सम्वन्ध विच्छेदका मुद्दा तीनसय २२ वटामध्ये २८४ वटा मुद्दा फछर्यौट गरिएको छ भने ३८ वटा विचाराधिन अवस्थामै छ ।

म्याग्दीमा बैदेशिक रोजगारीमा श्रीमान र श्रीमती जान सहमतिमै कानुनी कागजात मिलाउने देखि परिवारमा विश्वासको संकट भएर अदालतसम्म पुगेको देखिन्छ । श्रीमान र श्रीमतिकै सहमतिमा दुबैको उपस्थितीमा दूई÷तीन दिनमा टुंग्याउने सम्वन्ध विच्छेदका मुद्धा बढी रहेको छ । जिल्ला अदालतमा दर्ता भएको सम्बन्ध विच्छेदको संख्याले समाज र परिवारमा पति–पत्नीबीचको सम्बन्ध नाजुक अवस्थामा रहेको समेत देखाएको छ ।

म्याग्दीमा सम्बन्ध विच्छेद बढ्नुका मुख्य कारण अन्तर्राष्ट्रिय श्रम बजार भएको अधिबक्ता ठाकुरप्रसाद आचार्यले बताए । उनले कामको खोजीका साथ पैसा, प्रतिष्ठा कमाउन श्रीमान् वा श्रीमती वा दुवै वैदेशिक रोजगारीमा जाने गरेको अवस्थामा सामाजिक आर्थिक रूपमा आत्मनिर्भर महिला आत्मसम्मान र स्वतन्त्रताको नाममा सामान्य वादविवाद र झगडामा पनि सम्बन्ध विच्छेदको अवस्था आएको बताए ।

Leave a Reply