---Advertisement---

नेपाली विद्यार्थी समाज दक्षिण कोरियाद्वारा शैक्षिक सामग्री वितरण

On: August 7, 2023 7:40 PM
Follow Us:

नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) सोसाईटी अफ नेपलिज स्टुडेन्ट को आर्थिक सहयोगमा मंगला गाउँपालिका २ सल्यानमा रहेको विकास आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको आयोजनामा सोमवार उक्त विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीहरुलाई झोला, कपी, कलम, पेन्सिल, लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।

प्रतिष्ठान म्याग्दीको तर्फबाट उक्त सामग्री वितरण गर्नका लागि संस्थाका सदस्य तथा बेनी नगर प्रहरी प्रमुख शंकर पौडेलले सहजीकरण गर्नुभएको थियो । नेपाली विद्यार्थी समाज दक्षिण कोरीयाको आर्थिक सहयोगमा प्रतिष्ठानले जिल्लाका तीन वटा विद्यालयका ५४ जना विद्यार्थीहरुलाई करिव ५० हजार बराबरको सामग्री वितरण गर्ने कार्यक्रम सम्पन्न गरेको सदस्य पौडेलले बताउनुभयो ।

जिल्लाका विभिन्न विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुगोस भनेर शैक्षिक सामग्रीको सौजन्य गरेको बेनी नगरपालिका वडा नम्वर ६ घर भई हाल दक्षिण कोरियामा रहनुभएका नेपाली विद्यार्थी समाजका संयोजक मेघनाथ पौडेलको भनाई छ ।

विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद सुवेदी र प्रध्यानाध्यापक ख बहादुर किसानले नेपाली विद्यार्थी समाज दक्षिण कोरीया र प्रतिष्ठान म्याग्दीलाई आभार प्रकट गर्नुभएको थियो ।

प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले कला संस्कृतिको संरक्षण र कलाकारहरुलाई सम्मान तथा प्रोत्सहन गर्दै आएको संस्थाले सामाजिक गतिविधिहरु समेत संचालन गर्दै आएको बताउनुभयो ।

उहाँले यसअघि पनि प्रतिष्ठानले सामाजिक उत्तरदायित्व अन्तर्गत द्वण्ड पिडित तथा अपाङग विद्यार्थीहरुलाई निशुल्क कम्प्युटर तालिम संचालन वगुवाखोलाका वौद्धिक अपाङग विद्यार्थीहरुलाई संगीत तथा शैक्षिक सामग्री वितरण, निशुल्क योग शिविर जस्ता गतिविधिहरु आयोजना गरेको जानकारी गराउनुभयो ।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा प्रतिष्ठान म्याग्दीका सदस्य राजकुमार परियार, विजय परियारको उपस्थिति रहेको थियो । प्रतिष्ठान म्याग्दीका अध्यक्ष जिसीको अध्यक्षता र सदस्य विजय परियारको स्वागत रहेको कार्यक्रमको संचालन प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य तथा संचारकर्मी अमित विश्वकर्माले गर्नुभएको थियो ।