पछिल्लो समय देशभर आँखा पाक्ने समस्या (कन्जंग्टिवाइटिस) फैलिएको छ । देशभरका अधिकांश आँखा अस्पतालहरूमा आँखा पाक्ने रोगका बिरामीको चाप बढिरहेको छ।

अहिले अस्पतालमा आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको हो ।नेपाल नेत्रज्योति संघ अन्तरगतका आँखा अस्पतालहरूमा पनि पछिल्ला दिनहरूमा आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामी कन्जंग्टिवाइटिसको उपचारका लागि आइरहेको संघले जनाएको छ।संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार हाल दैनिक आँखा उपचार गर्न आउनेमध्ये ५० प्रतिशत बिरामी कन्जंग्टिवाइटिसका रहेका हुन।

‘सुरुवातमा भारतको सिमावर्ती क्षेत्रहरुमा मात्र कन्जंग्टिवाइटिसको समस्या देखिएको थियो तर अहिले देशैभरी यो समस्या फैलिरहेको छ, हाम्रो नेटवर्कका सबै अस्पतालहरूको सोमबारसम्मको डाटा हेर्ने हो भने दैनिक आँखा जाँच गराउने बिरामीको ५० प्रतिशत बिरामीमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ’,डा. मिश्रले भने‚ ‘अहिलेको संक्रमण दर हेर्दा यो अझै बढ्ने जस्तो देखिन्छ।’

देशैभरी अहिले कन्जंग्टिवाइटिसको प्रकोप बढिरहेकाले यसमा केन्द्रित भएर सेवा प्रवाह गर्न संघ अन्तरगतका अस्पताल तथा उपचार केन्द्रहरुलाई निर्देशन दिइएको नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले बताए।

नेपाल नेत्रज्योति संघको तथ्याङ्क अनुसार अहिले दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्य दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल रौतहटमा २५ प्रतिशत र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत विरामीमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ

त्यस्तै कीर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगंजमा २० प्रतिशत, बिनोद निता कण्डेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, विराटनगर आँखा अस्पतालमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पतालमा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल,लहानमा २० प्रतिशत बिरामीहरूमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ।

आँखा पाक्ने समस्या भएका बिरामीहरूमा अकस्मात आँखा रातो हुनु,आँखाको डिल सुनिएर हेर्न समस्या हुनु,आँखाबाट पानी बगिरहनु , आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउनु, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनु आदि जस्ता लक्षणहरू देखिन्छन्।

हरेक बर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भए पनि यो पटक भने यो समस्या प्रकोपकै रुपमा फैलिरहेको चिकित्सकहरू बताउँछन्। सुरुवातमा भारतको सिमावर्ती क्षेत्रमा देखिएको यो समस्या अहिले देशैभरी फैलिएको छ।

Leave a Reply