म्याग्दी महोत्सवमा ८७ लाखभन्दा बढी आम्दानी, चार संघसंस्थालाई सहयोग

म्याग्दी उद्योग वाणिज्य संघले सातौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औधोगि, ब्यापार मेलाबाट ८७ लाखभन्दा बढी आम्दानी भएको छ । गत बर्ष पुष २० गतेदेखि माघ ७ गतेसम्म सदरमुकाम बेनीमा संचालन भएको सातौं म्याग्दी महोत्सवमा ८६ लाख ९८ हजार ५४ रुपैयाँ आम्दानी भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए । कुल आम्दानीमध्ये ७० लाख ६९ हजार ८५४ रुपैयाँ महोत्सव संचालनमा खर्च भएको अध्यक्ष कटुवालको भनाई छ ।

पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको आयब्ययमा आम्दानीबाट भएको बचतमध्येको १० लाख रुपैयाँ ब्यावसायीक हित कोषमा जम्मा गरिएको छ भने पत्रकार महासंघ, नेपाल बालसंगठन, कालीपुल बसपार्क ब्यवस्थापन र नविन योग केन्द्रलाई प्रतिसंस्था ३५ हजार रुपैयाँ दरले सहयोग उपलब्ध गराईएको छ। संस्थामा आवद्ध रहेकालाई हितकोषमार्फत सहयोगका लागि अहिलेसम्म हितेकाषमा ४३ लाख रुपैयाँ संकलन भएको छ ।

बि.स २०५८ सालदेखि सुरु भएको महोत्सवले म्याग्दीको जातजातीको भेषभुषा पहिचान र जिल्लाको पर्यटन प्रवद्र्धनको सुरुवात समेत भएको महोत्सवले आन्तरिक पर्यटन र ब्यापारमा सघाइरहेको छ । सोही अवसरमा संघका पुर्व अध्यक्ष कुविर कुमार श्रेष्ठ,निर्वतमान अध्यक्ष एवम् बेनी नगरपालिका वडानम्वर ८ का वडाअध्यक्ष उत्तम कर्माचार्यले पर्यटनको सम्भावना उजागर भएको क्षेत्रमा लगानीको अभावले पर्यटन प्रवद्र्दन हुन नसकेको बताएका थिए ।

संघका अध्यक्ष कटुवालले प्रायोजकले समयममै उपलब्ध नगराएकाले खर्च विवरण सार्वजनिकमा ढिलाई भएको बताए । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, उपाध्यक्ष लिलाराम गौतम र महासचिव अमृत बानियाँ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल लगायत पत्रकारहरुको उपस्थित थियो ।