म्याग्दी : गत शनिबार  रातीदेखि अवरुद्ध बेनी –जोमसोम सडक बुधबार (आज) बिहानसम्म पनि नखुल्दा मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटक तथा यात्रु अलपत्र परेका छन्।रघुगंगा गाउँपालिका वडा नं  १ र २ को सिमानाबाट झरेको पहिरोले रघुगङ्गा –३ बैसरीमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।पहिरोले सडक अवरुद्ध भएपछि मुस्ताङ भ्रमणमा आएका भारतीय, तेस्रो मुलुकका पर्यटक लगाएत यात्रुहरु बीच बाटोमा नै अलपत्र परेका छन्।स्थानीयले दिएको जानकारीअनुसार भारत र तेस्रो मुलुकबाट आएका ५६ जना पर्यटकहरु बेनी फर्कने वा पहिरो पार गरेर मुस्ताङ जाने भन्ने अन्योलमा रहेका छन्।शनिबारदेखिको अविरल वर्षाले सडकको सिरानबाट आएको पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड अन्तर्गत म्याग्दीको बैसरीमा सडक अवरुद्ध भएको हो।

वर्षाले गर्दा नियमित रूपमा पहिरो झरेका कारणले सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक,तीर्थयात्री र सवारी साधनहरुलाई समस्या भएको हो।बैसरीमा दैनिकजसो खस्ने पहिरोले बेनी–जोमसोम सडकको यातायात सेवा प्रभावित हुने गरेको छ।सडक माथिबाट खस्ने पहिरो निरन्तर खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुने गरेको हो।सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटकले सास्ती लामो समय सडकमै बस्नुपरेको छ भने समयमा गन्तव्यमा पुग्न पाएका छैनन्।सडकमाथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखोमा पहिरो खसिरहेको छ। पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको छ। गत वर्षदेखि बैसरीमा पहिरो खस्न सुरु गरेको हो।

वैकल्पिक रुपमा सडक स्तरोन्नतीमा ध्यान नदिदाँ ठूला सवारीसाधन पहिरोले रोकिनुपर्ने अवस्था छ भने जीप र मोटरसाइकलले बैसरी–रिसिनचौतारी–पिप्ले–घुमाउने ताल जोड्ने सडक प्रयोग आएका छन्।वैकल्पिक सडक जीर्ण, साँघुरो र जोखिमयुक्त छ। कुल ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन नहुँदा आवतजावत र कृषिउपज निकासी प्रभावित भएको छ।जिल्ला कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बेनी– जोमसोम सडकमा खास काम नभै यात्रा गर्न नहुने बताए। वर्षा भइरहेको र पहिरो खसिरहेकोले पानी पर्न बन्द नहोउन्जेल सडक स्थायी रूपमा खुलाउन समस्या भएको उनको भनाइ छ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भिरमाथिको पाखो भूमिगत पानी र पहिरोले चिराचिरा भएर सडकमा पहिरो खसिरहने हुँदा जोखिमका साथै सडक अवरुद्ध हुने गरेको बताए।सडकमा थुप्रिने पहिरो डोजरको सहायताले कालीगण्डकीमा खसालेर पन्छाउने गरिएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिको नेतृत्वमा केही दिनअघि भूमिगत पानी पाइपबाट बगाएर पहिरो रोकथामको प्रयास भए पनि सफल भएको छैन। आकाशबाट पानी पर्नेबित्तिकै पहिरो चल्ने र सडकमा खस्ने समस्या छ।

Leave a Reply