पहिरो पन्छाएको केही घण्टा र केही दिनमा फेरी जस्ताको त्यस्तै । करिब डेढदशकदेखि करोडौं खर्चिएर स्तरोन्नती तथा हरेक बर्खाको समयमा दर्जनौ पटक मर्मत गरिएपनि बैकल्पिक सडक सञ्जालप्रति सरोकारवाला निकायको ध्यान जान नसक्दा  सर्वसाधारणले सधैँ सास्ती खेप्नुपरेको छ ।

बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेत अन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा तत्कालिन ड्रिलिप परियोजना, जिविस तथा हाल पूर्वाधार कार्यालय बजेट खन्याएर पनि माथिबाट खस्ने पहिरो नरोकिदाँ पश्चिम म्याग्दीबासीले बर्खाको समयमा जोखिम मोलेर यात्रा गर्नुपरेको छ ।

करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो।  पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको तातोपानीका स्थानीय कुमार केसीले बताए । ‘फापरखेतको पहिरो टाउको दुखाईको विषय बनेको छ,‘बर्खाको समयमा बैकल्पिक सडक बनाए सधै यस्तै हो’ केसीले भने।

उनले माथिबाट खस्ने पहिरो रोकथाममा समान्य बजेटले अपुग हुने भएकाले बर्खाको समयको तीन महिना पखेर आसपासबाट आवतजावत गर्ने बैकल्पिक सञ्जालको आवश्यकता रहेको बताए । पहिरोस्थलमा स्थानीयबासी, सुरक्षा निकाय लगायत प्रशासनका कर्मचारीहरु पुगेर मर्मतसम्भारमा सक्रिय देखिएपनि एकैदिनको बर्षाले अवरुद्ध हुने गरेको छ ।

पश्चिम म्याग्दीको लाइफलाइन मानिएको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्नेसडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको भन्दै बैकल्पिक मार्गमा ध्यान दिन सरोकारवाला निकायलाई अनुरोध गरिएको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘बर्खाको समयमा बैकल्किप मार्ग आवश्यक छ,‘पालिकाले धेरै पहल गरेको छ, सम्बन्धित निकायबाट अव ढिलाई गर्नु हुदैन’ अध्यक्ष रोकाले भने । सामान्य वर्षा हुने बित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेको र मर्मत र स्तरउन्नतीमा हुने खर्चले बैकल्पिक सडक बन्ने जनप्रतिनिधिको भनाई छ ।

फापरखेतको पहिरो बेनी–दरबाङ सडकको सबैभन्दा टाउको दुखाईको विषय बनेको छ । हालसम्म उक्त सडकखण्डमा करोडौं खर्च भएपनि समस्या उस्तै रहेको भन्दै बजेट खर्च गर्ने मात्रै नभई दिर्घकालिन समाधानको उपायमा समेत ध्यान दिन पश्चिम म्याग्दीका जनप्रतिनिधिले माग गरेका छन् । पहिरोबाट खसेको ढुंगाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् । करिब १५० मिटर सडक पहिरोग्रस्त छ।

सडकदेखि करिब २०० मिटरमाथि र १५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ। पूर्वाधार विकास कार्यालयले कालोपत्रसहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा फापरखेतसहित तीन ठूलो पहिरो छन्। बेनीदेखि दरबाङसम्म सबैभन्दा टाउको दुखाई बनेको सडक मर्मत बाहेकको अर्को विकल्प नभएको पूर्वाधार कार्यालयले जनाएको छ । पखेर र पहिरोभन्दा माथि म्याग्दी नदीमा बेलिब्रिज जडान गरेर वैकल्पिक मार्ग खोल्ने चर्चामै सिमित भएको छ ।

Leave a Reply