पर्वत : विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै गएपछि पर्वत सदरमुकाम कुश्मा बजारमा रहेका विद्यालय बन्द हुँदै गएका छन्।कुश्मास्थित विद्यालयहरूमा आँखा पाकेको सङ्क्रमण सर्ने जोखिम बढ्दै गएपछि सोमवारदेखि बुधवारसम्म संस्थागत विद्यालय बन्द गरिएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) कुश्मा नगर समितिका अध्यक्ष थानेश्वर ढकालका अनुसार प्रकोप फैलिन थालेपछि आइतबार बसेको प्याब्सन कुश्मा नगर समितिले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

पोखरा र बागलुङमा पर्वतको तुलनामा सङ्क्रमणको अवस्था बढी हुँदा ती ठाउँमा आवतजावत गर्नेहरूका कारण कुश्मा बजारमा सङ्क्रमण बढ्दै गएको छ। रोगको प्रभाव विभिन्न विद्यालयमा समेत परिरहेको अवस्थामा सङ्क्रमण चक्र रोक्न विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको ढकालले बताए।

अहिले दिइएको तीन दिनको बिदा अरू बिदामा समायोजन गरिने प्याब्सन कुश्मा नगर समितिले बताएको छ। तत्कालका लागि सदरमुकाममा रहेका विद्यालय बन्द गर्न लागिएको र रोगको प्रकोप बढ्दै गएको अवस्थामा प्याब्सन पर्वतमार्फत अन्य स्थानीय तहमा रहेका निजी तथा आवासीय विद्यालय पनि बन्द गर्न सकिनेछ।

ग्रामीण क्षेत्रमा अहिले नै प्रकोप नदेखिएको र रोग सर्ने क्रम बढेमा भने विद्यालय आफैंले आवश्यकताअनुसार बिदा गर्न सक्ने प्याब्सन पर्वतका उपाध्यक्ष विमल पौडेलले बताए।

आँखामा सङ्क्रमण बढ्दै गएपछि विद्यालयमा आउने विद्यार्थीहरूको सङ्ख्या दैनिक रूपमा घट्दै जाँदा पनि विद्यालय केही दिनका लागि बन्द हुने अवस्थामा पुगेका छन्। रोगको लक्षण देखिएका विद्यार्थीहरू घरमै आराम गरेर बस्दा कक्षाकोठामा करिब ५० प्रतिशत मात्रै उपस्थिति भइरहेको अवस्थामा नियमित कक्षा सञ्चालनमा समस्या परेको विद्यालयले बताएका छन्।

सदरमुकाममा रहेका निजी विद्यालयहरू बन्द भइसक्दा पनि सार्वजनिक विद्यालय सञ्चालनमा रहेका थिए तर विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून बन्दै गएपछि सामुदायिक विद्यालय पनि बन्द हुन थालेका छन्। जिल्लामा नै सबैभन्दा धेरै विद्यार्थीको चाप रहेको कुश्माको नारायण मावि पनि बुधवारदेखि शुक्रवारसम्मका लागि बन्द गर्ने निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेलले बताए।

आँखामा सङ्क्रमण भएका विद्यार्थी विद्यालयमा आउँदा स्वस्थ विद्यार्थीमा पनि सर्ने तथा विद्यार्थीका माध्यमबाट प्रकोप प्रत्येक घरमा पुग्ने क्रम बढ्दै गएकाले अभिभावक र विद्यार्थीहरूको मागअनुसार विद्यालय बन्द गर्न लागिएको उनको भनाइ छ।

छिमेकी जिल्ला बागलुङ र पोखरामा समेत आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि विद्यालय बन्द गरिएको छ। ती जिल्लामा विद्यालय बन्द भएपछि उक्त क्षेत्रका विद्यार्थी र अभिभावक समेत गृह जिल्लामा फर्किँदा सङ्क्रमण बढ्दै गएको छ। अहिलेसम्मको अवस्थामा विद्यालय सञ्चालनमा रहेको र अब पनि प्रकोप बढ्दै गएर समस्या देखिएमा विद्यालय बन्द गर्नुपर्ने स्थिति आउने देखिएको छ। जिल्लाको सरकारी अस्पताल पर्वत अस्पताल तथा बजारमा रहेका मेडिकल तथा औषधि पसलमा पनि आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको छ।

चिकित्सकहरूका अनुसार भाइरल कन्जंक्टिभाइटिसप्रति ध्यान दिएर घरमै ध्यान दिएमा एकदेखि दुई हप्तामा आफैँ निको हुन्छ। घरमा स्याहार गर्दा आँखा बन्द गरेर बरफले सेक्ने, घाममा निस्कँदा कालो चस्मा प्रयोग गर्ने, आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने, आँखा छोइसकेपछि साबुनपानीले मिचिमिची हात धुने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रूपमा, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धुने, प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामग्री अरूले प्रयोग नगर्ने लगायतका उपाय अपनाउनुपर्ने सुझाव दिएका छन्।

स्वास्थ्यकर्मीको सल्लाहबिना जथाभावी औषधि प्रयोग नगर्ने तथा दृष्टि कम हुने लगायतका आँखा सम्बन्धी समस्या बढेमा तुरुन्त स्वास्थ्य संस्थामा जान पनि उनीहरूले सुझाएका छन्। ‘एडिनो भाइरलकन्जंक्टिभाइटिस भाइरस’ को सङ्क्रमणपछि आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने समस्या हुन्छ। हरेक वर्ष मनसुनको समयमा आँखामा यस्ता समस्या देखिने गरेको छ।

यो सरुवा रोग भएकाले एउटै घरका धेरै व्यक्तिमा आँखा पाक्ने समस्या देखिने गरेको छ। आँखा पाक्ने समस्या भएको व्यक्तिको रुमाल, चस्मा, साबुन जस्ता वस्तु अन्य व्यक्तिले प्रयोग गर्न नहुने तथा आँखामा समस्या देखिए चिकित्सकसँग परामर्श लिएर मात्रै औषधि प्रयोग गर्नुपर्ने पर्वत अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले बताइन्।

Leave a Reply