बाढीग्रस्त कागबेनीमा तीन दिनदेखि खानेपानी र विद्युत आपूर्ति अवरूद्ध भएको छ।मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार बाढीले क्षतविक्षत तुल्याएको कागबेनीको आधा भागमा खानेपानी आपूर्ति हुन सकेको छैन। खानेपानी आपूर्ति आजबाट नियमित गरिने र सबैतिर विद्युत आपूर्ति हुन भने अझै केही दिन लाग्ने उनले बताए।

‘बाढीले क्षतिग्रस्त तुल्याएका पोलहरू ममर्त गरेर भोलिबाट आपूर्ति नियमित गर्न सकिन्छ कि भनेर लागिपरेका छौं,’ उनले भने, ‘खानेपानीचाहिँ आजबाट नियमित हुन्छ।’

आइतबार साँझ आएको मुक्तिनाथबाट उत्पत्ति हुने कागखोलामा आएको गेग्रानसहितको बाढीले २९ घर क्षतिग्रस्त बनोका थिए। १३ घरमा आंशिक क्षति भएको थियो। बाढी पसेका घरको भुइँतला पूरै लेदोले ढाकेकाले सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले हिलो पन्छाइरहेको केसीले बताए।

‘राहतमा कुनै कमी हुन दिएका छैनौं। विस्थापितहरूको व्यवस्थापन भइसकेको छ। अहिले अवरूद्ध विद्युत, खानेपानी आपूर्ति गर्न र बजारतिर सोझिएको खोला प्राकृतिक बहावमा फर्काउन लागेका छौं,’ उनले भने।

आइतबार साँझको बाढीले ४ पांग्रे २ सवारी, मोटरसाइकल ३०, एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल बाढीले बगाएको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिङ्जिन गुरूङले जानकारी दिए। बाढीले प्रभु बैंकको घर नै बगाएको छ भने जनशान्ति माध्यमिक विद्यालयमा पनि क्षति पुगेको अध्यक्ष गुरुङले बताए। उनका अनुसार धर्मशाला, गुम्बालगायतका संरचना पनि बाढीमा परेको छ। करिब २०–२५ वटा पशुचौपाया पनि पुरिएको आकलन गरिएको छ ।

कागबेनीमा जिल्ला बाहिरबाट सडक तथा विभिन्न ठाउँमा काम गर्ने ६० मजदुरको उद्धार गरी जोमसोम सामुदायिक हलमा स्थानान्तरण गरिएको अध्यक्ष गुरूङले बताए। बाढीपीडितलाई अहिले आफन्तकहाँ व्यवस्थापन गरिएको छ। सरकारको नीति नियमानुसार राहत सहायता दिने पनि उनले बताए। तत्कालका लागि गाँसबासको व्यवस्था गाउँपालिकाले गर्ने उनको भनाइ छ।

बाढी कागखोलाको सहायक तिरीखोलामा पहिरो आएर थुनिएको आकलन गरिएको छ। मुक्तिनाथबाट सुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ।

उपल्लो मुस्ताङसँगको पहुँच टुट्यो
बाढीले पक्की पुल बगाउँला उपल्लो मुस्ताङ जाने सडकमार्ग विच्छेद भएको प्रजिअ केसीले जानकारी दिए। मंगलबार उपल्लो मुस्ताङबाट आएका बाह्य पर्यटकलाई सडकमार्ग हुँदै उद्धार गरिएको उनले बताए।

‘केहीलाई हामीले खोलाबाट तार्‍यौं। माथि रहनुभएको केही पर्यटकले आफैं हेलिकप्टर मगाएर जानुभयो,’ उनले भने, ‘अहिले पानी नपरेकाले खोलाको बहाव घटेको छ। अवरूद्ध सडक सञ्चालन गर्न के विकल्प हुनसक्छ भनेर मैले नेपाली सेनालाई भनिसकेको छु।’

उनले तत्काल बेलिब्रिज सम्भव नभएकाले खोलैबाट बाटो बनाएर सडक सञ्चालन गर्नेबारे सोचिएको पनि बताए।
‘म्याग्दीबाट बेलिब्रिज ल्याउने कि भनेर पनि सोचेका हौं। तर, तत्काल त्यसको पनि सम्भावना नदेखिएकाले अहिले खोलैबाट बाटो बनाएर सडक चलाउने प्रयत्न गरिरहेका छौं,’ उनले भने।

माथिल्लो मुस्ताङ जाने सिजन सुरू भएको छ। मुक्तिनाथ तीर्थाटन जाने, कागबेनीमा श्राद्ध गर्ने बेला हुन लागेको छ।

यो मौसममा दामोदर कुण्ड दर्शन गर्न र नुहाउन जानेहरू पनि मुस्ताङ भएरै जाने गर्छन्। कागखोलाको बाढीले आन्तरिक र बाह्य पर्यटनमा पनि क्षति पुर्‍याएको छ।

‘बाढीपछि यहाँको अवस्था नाजुकै छ। आगन्तुहरू आउने अवस्था पनि छैन,’ प्रजिअ केसीले भने ।

Leave a Reply