प्रिय पुत्र

प्रेम अनि आदर

विषय : मेरो देश, म र तँ

 

उपरोक्त सम्बन्धमा, छोरा म र मेरो छोटो जीवनी र तेरो भविष्यको कुरा गर्न चाहन्छु ।

 

मैले सरकारी जागिर खाएको र भ्रष्टाचारमा परेर जेल आयको कुरा तिमीलाई बताउनै परेन ।

 

छोरा मेरो सपना र गन्तव्य जेल थियौ, छोरा मेरो कल्पना र सफलता भ्रष्टाचारमा थिएन, यो सबै मलाई थाहा भएको कुरो हो कुनै नौलो विषय होइन ।

 

म भ्रष्टाचारमा समातिँदा पनि त्यति त्रसित भइनँ किन कि एक दिन त्यो हुनु नै थियो ।

 

डिग्रीको पढाइ सकेर लोक सेवाको सपना देखें, लोक सेवा पढेर पहिलो नम्बरमा नाम निकालें, मेरा बा आमा र गाउँलेहरूले मलाई अबिर जात्रा गरेर बधाई दिए ।

 

त्यो दिन मेरो जीवनकै खुसीको दिन थियो, मैले राष्ट्रको सेवा गर्न पाउनु अहोभाग्य सम्झेको थिएँ ।

 

काम गर्दै गएँ, सेवा दिँदै गएँ, अधिकृतमा नाम निकालेर  सरकारी कार्यालयको प्रमुख बन्न पाउनु, म गाउँमा आमाले चामल बेचेर घ्यु बेचेर पठाएको पैसोले अध्ययन गरेर यो स्थानसम्म आउनु चानचुन कुरो हुँदै होइन ।

 

सोचेको थिएँ दु:ख त पढ्ने बेलासम्म मात्र हो, पढाइ सकेपछि त सुखै सुख र खुसी नै खुसी थपिन्छ ।

 

तर छोरा त्यस्तो होइन्छ, त्यो सोच गलत रच ।

 

जागिर खाएको पहिलो वर्ष अन्धाधुन्ध जबरजस्त खुसी र सुखी हुने प्रयत्न गरियो, त्यो अस्वाभाविक पनि थिएन, दर्जनौं कर्मचारीको सलाम र सयौं उपभोक्ता सर्वसाधारणको नमस्तेले खुट्टाले जमिन छोडेर आकाशमा उडेको महसुस हुनु म जस्तो गाउँले मान्छेलाई सामान्य नै हो ।

 

जागिरको दोस्रो वर्ष बिहे गरें, एउटा अधिकृतले बिहे गर्दा थोरै तामझाम सहित बिहे गर्नु बाध्यता थियो, किन कि एउटा कार्यालय सहयोगीले पनि आफ्नो छोराको बिहेमा ८/१० लाख खर्च गर्नु हाम्रो समाजको रितीरिवाज अनुसार सामान्य नै हो । पढाइमा लागेको ऋण नतिर्दै फेरि बिहेको ऋण थपियो र हाम्रो परिवारमा ऋण बाढेर दाजु, भाइ, बा, आमाबिच छुट्टीबन्ध भयो । म घरको जेठो छोरो हुनुको नाताले बुढ्यौली घर कटेरा भाइलाई छोडिदिएर अलि बढी ऋण मेरो थाप्लामा बोकाइयो ।

 

यसै क्रममा ५ वर्ष बित्यो, मैले तेरी आमालाई पनि सँगै क्वाटरमा राख्न थालेको थिएँ, एक दिन गर्भमा तँ बसेको खबर आमाले मलाइ दिइ, त्यो दिन दुखद मेरो जीवनमा तेरो आगमनको खुसी थपियो ।

 

तेरी आमाले थोरै बिलासी जीवन उपभोग गर्न खोजेको महसुस गरेको थिएँ । भेट्नी चिन्निले भन्दा हुन हाकिमनी भनेर ।

 

नभन्दै उसले टिभी फ्रिज को डिमान्ड गरी र तँ गर्भमै हुँदा मैले टिभी र फ्रिज किनेर घर ल्याएँ ।

 

पैसो कहाँबाट आयो भन्लास्, हाम्रो कार्यालयमा काम गर्ने सहयोगी स्थानीय थिए । उनले नै ऋण काढेर ल्याइदिएका थिए ।

 

बिस्तारै दश मैना पुग्यो र तँ जन्मिस्, तँ जन्मेपछि खुसी त थपियो र चिन्ता पनि थपियो । अब के गरेर हुर्काउने बढाउने पढाउने ? तँ जन्मेको छ महिना भएको थियो कि ? तीजको बेला थियो आमाले रानी हार किन्ने सपना देखिच ।

 

एक दिन जिल्लाका कार्यालय हाकिमहरूको बैठक थियो, त्यो बैठकमा मैले मेरा मनका साथीहरूलाई मेरो समस्या सुनाए । तलबले कुनै हालतमा घर चलाउन र सन्तानलाई पढाउन नपुग्ने भएपछि मैले जागिर छोडेर प्रदेश जाने निधो गरेको सम्मको कुरो साथीहरूलाई सुनाए ।

 

साथी गललल हाँसे, मैले कुरो बुझिनँ, र प्रश्न तेर्साएँ, किन मैले कुनै गलत कुरा बोलेँ र ?

 

उनीहरूले आँखा झिम्काउँदै भने, जुन काम नियम कानूनअनुसार बन्दैन भनेर इमानदारिताको पगरी गुथेर लगाउनु भा छ नि ? त्यो पगरी फालेर नियमले नमान्ने काम गरिदिनुस् न पैसो को के कमी हुन्छ र ? त्यस्पछि त पैसै पैसा ।

 

आखिर यो देशमा कानूनमुनि बसेर इमानदारिताका साथ काम गर्ने कति छन् र ? के तपाईं इमानदारी बन्दा मात्र देश बन्छ त ? नेताले करोडमा अरबमा भ्रष्टाचार गर्दा नि भएकै छ । हाम्ले त उपभोक्ताको मन खुसी बनाएर बक्सिस लिने त हो ? यो के अपराध हो र ? अपराध त सानो ठूलो होला तर देशद्रोह होइन ।

 

त्यो दिन साथीहरूबाट पाएको राय सल्लाह सुनेपछि भोलिपल्टबाट मैले प्रक्रिया नपुगेका कुनै काम पनि फर्काइनँ ।

 

कागजी प्रक्रिया नपुगेका काम खरदारलाई भेट्न भनेर पठाउँथे, उनीहरूले बार्गेनिङ गरेर पुनः काम गरिदिन्थे ।

 

त्यसपछि बिस्तारै घरको आर्थिक अवस्था सुध्रियो, आमालाई रानी हार पनि किनिदिएँ, सहयोगीले मिलाइदिएको ऋण पनि तिरें ।  बिस्तारै म बिलासी जीवनमा फस्दै गएँ ।

 

एघार वर्षपछि मेरो पदवि बढ्यो र म एक तह माथि पुगेँ ।

 

त्यस्पछि मेरो सरुवा पनि भयो र म जिल्ला इन्चार्ज भएर जिल्ला प्रस्थान गर्ने भएँ  ।

 

यहाँसम्म ठिक थियो, तर यहाँबाट मेरो जीवन मोडियो ।

 

एउटा फोन आयो मैले फोन उठाएँ, उताबाट आवाज आयो नमस्कार, मैले नमस्कार फर्काएँ, उसले बधाई दियो मैले धन्यवाद फर्काएँ ।

 

सर हजुर जिल्ला जाँदै हुनुहुन्छ, एक पटक अन्तिममा हजुरलाई भेट्ने तीव्र इच्छा जागेर आयो । मलाई त्यो सौभाग्य दिनुहुन्छ ? मैले यसो सोचें र उत्तर दिएँ ।

 

सरि म आउन पाउँदिन फेरि कुनै दिन भेटौंला, फेरि मैले तपाईंलाई चिन्न पनि चिनेको छैन ।

 

हैन के सर म फलानो ? हजुरले मेरो फलानो काम गर्दिनु भाथ्यो नि ? जाने बेला यसो उपहार दिऊँ कि भनेर मात्र भेट्न खोजेको ।

 

ओके म मेरो कर्मचारी पठाइदिन्छु है त उनीससँग भेटेर के गर्ने हो गर्नु ।

 

उताबाट आवाज आयो, हुँदैन हजुर, हजुर आउने भए आउनुस् नत्र ठिकै छ ।

 

मैले सोचें, उसको मन किन दुखाउनु, जाने बेला ? ठिकै छ भेटिदिउँ न ।

 

ल भन्नुस् तनि म कहाँ आउन परो ? उताबाट कल आयो सर कलंकी चोकमा श्री विनायक होटेलमा म हजुरको प्रतीक्षा गरिरहन्छु आउनुस् ल ।

 

ओके भनेर मैले फोन काटिदिएँ र मोटरसाइकल चढेर म उसले बोलाएको स्थानमा पुगें । म मोटरसाइकल पार्किङमा रोकेर भित्र छिरेँ । उ पब्लिक स्थानमा बसेको रहेछ । मलाई देखेपछि उ उठ्यो र नमस्ते गर्दै नजिक आयो र खल्तीबाट पैसा झिकेर मेरो खल्तीमा ठोसिदियो ।

 

खल्तीमा पैसो हालिदिएपछि उ हाँस्यो उसको हाँसो सकिन नपाउँदै क्यामेरा र केही मान्छेहरू आए, ती मान्छे अख्तियारबाट रहेछन्, उनीहरूले मेरो खल्तीबाट मलाई पैसो झिक्न लगाए, मैले पैसो झिकें, पैसो झिक्दा पैसोमा दलेको पाउडर मेरो हातमा लागेछ । त्यस्पछि उनीहरूले मेरो हात पानीमा चोबे मेरो हात रातो भएर आयो ।

 

खै कस्तो पाउडर थियो त्यो म आफैं अचम्ममा परेँ ।

 

मलाई रङ्गेहात समातेर प्रहरीको गाडी बोलाएर प्रहरी भ्यानमा लगेर गए । र, मलाइ कस्टडिमा थुनिदिए ।

 

चौबिस दिनपछि मलाई थुनछेक बहसबाट पुर्पक्षका लागि कारागार पठाइयो ।

 

म कहाँ नेर चुकें भने मैले त्यो पैसो खल्तीबाट झिक्न हुने थिएन, अख्तियार कै कर्मचारीलाई झिक्न लगाउँदा म बच्ने सम्भावना हुन्थ्यो र त्यो मलाई फसाउने मान्छेलाई दुई चड्कन अन द स्पट हानेर मलाई फसाउन खोज्छस् भनेको भए केसले आर्को मोड लिन्थ्यो । तर त्यो बेला ममा त्यति बुद्धि पलाएन । र, मलाई योसम्मको सजाय हुन्छ भन्ने कल्पना पनि त थिएन नि ।

 

छोरा आज ठिक ७ वर्ष भएछ, म यो बन्दी जीवनमा बाँधिएको । र, आजकै दिन तिमीले १२ को परीक्षामा राम्रो अंक ल्याएर पास गरेछौ, बधाई तिमीलाई ।

 

छोरा मेरो तिमीलाई एउटै सुझाव छ, देशको सेवा गर्ने कल्पना तिम्रो दिमागमा कहिल्यै न आओस् बरु बाबु सक्छौ भने अब आईएल्ट्स गरेर अस्ट्रेलिया, क्यानडा, अमेरिका कहाँ जान सक्छौ जाऊ । जाऊ छोरा मैले जस्तो जिन्दगी तिमीले भोग्न नपरोस्, मेरो जस्तो भाग्य तिम्रो न भैदियोस् । छोरा जहाँ गयो त्यही मातृभूमि जहाँ गयो त्यही राष्ट्रियता, जे भाषा बोल्यो त्यही राष्ट्रिय भाषा ।

 

दुनियाँ यति सानो भइदियो कि गुगल म्यापबाट एक मिनेटमा विश्व अध्ययन गर्न सकिन्छ, चाहेको मान्छेलाई क्षणभरमै सम्पर्क गर्न सकिन्छ ।  र, सन्तान जहाँ छन् अभिभावक पनि त्यो ठाउँमा सजिलै पुग्न सकिन्छ भने हामीले किन अवसरबाट aञ्चित हुने ? पैँतिस हजारको जागिरले जिन्दगी बिताउन त सकिन्छ  तर रोएर ।

 

अनि हामी रोएर जीवन बिताउनी, हाम्रा नेताले खर्बौंमा भ्रष्टाचार गर्नी ? हाम्रो त्याग योगदान र आँशुको मूल्य खै त ? कसैले ज्युँदै मर्नुपर्ने, कोही मरेर नि सरकारी पैसोको भरमा बाच्नुपर्ने ? के यो न्याय हो ? के यही समानता हो ?

 

बाह्र बर्से जङ्गलको तपस्याको उपलब्धि यही हो भने हामीलाई चाहिँदैन यो उपलब्धि ।

 

छोरा म आर्को वर्ष जेलमुक्त हुने छु, त्यो दिन तिमीलाई सतीले सरापेको देशमा होइन, एक जना नारी पनि सती जान नपरेको देशमा देख्न चाहन्छु, अन्त्यमा आमालाई दु:ख नदिनु आमाको ख्याल गर्नु छोरा अहिलेलाई बिदा हस् त । बाइ बाइ ।

नकुल ढकाल “नवीन”

म्याग्दी बेनी l

 

(यो कथाका पात्र र विषयवस्तु काल्पनिक हुन्, कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुने छ ।)

 

Leave a Reply