कलाकार बन्ने सपना आजकल सोसियल मिडियाका कारण छिट्टै पूरा भएपनि स्थापित कलाकार हुन संघर्ष जरुरी पर्छ । म्याग्दी जिल्लाको बेनी नगरपालिका ६, छाप गाउँमा जन्मिएर सदरमुकामको विकाससँग हातेमालो गर्न पाएका एक भाग्यमानी व्यक्ति हुन् भुपेन्द्र बानियाँँ (भुपेन) । उनका लागि बेनी बजार पानी भर्ने पँधेरो र खेल्ने आँगन हो । त्यही आँगनमा हुर्केको बिरुवा हुन् उनी ।

बेनी बजारमा खुलेको सोनियाँ कला केन्द्र बेनीमा २०६३ सालमा नृत्य प्रशिक्षण लिएका उनले ग्राफिक्स डिजाइन तथा फोटो इडिटिङ भने २०६३ बाट शुरुवात गरेका हुन् । २०६५–६६ सालमा म्याग्दीकाली एफएममा रेडियो प्रस्तोताका रूपमा काम गरेका बानियाँले सिनेम्याट्रोग्राफी भने काठमाडौंमा अवस्थिति कान्तिपुर फोटोग्राफीबाट सिकेका हुन् । सोही समयमा उनले मोडलिङ तथा भिजेको तालिम पनि लिए ।

आफूलाई सफल निर्देशकका रूपमा स्थापित गर्दै आइरहेका बानियाँँ नृत्यका अलावा, शारीरिक सुगठनमा विशेष रुची राख्ने गर्छन् । उनले ०७२ सालमा प्रमोद खरेलको आवाजमा रहेको दिलको पाना खाली राखे र सहिमा श्रेष्ठको पाउजुको छमछम बजाउँदै छु बोलको गीतबाट मोडलिङमा प्रवेश गरेका हुन् । २०७३ सालमा सर्जक तथा गायक नकुल ढकालको रोइला रुँदै मेला पातैमा भन्ने गीतबाट उनले निर्देशनमा डेब्यु गरेका हुन् । २०६७ कात्तिक २० गतेबाट आधिकारिकरूपमा बेनी बजारको न्युरोडबाट क्रियटिभ मिडिया प्रोडक्सन नामको आफ्नै युट्युब च्यानल तथा इन्टरटेन्मेन्ट कम्पनी दर्ता गरी सञ्चालन गर्दै आएका बानियाँँले खिचेका फोटाको चर्चासमेत हुने गरेको छ । म्याग्दी तथा पोखरामा क्वालिटीयुक्त भिडियो र फोटो सम्पादकका रूपमा उनलाई चिनिन्छ ।

बानियाँँले आफ्नो मिडिया हाउसमार्फत केही व्यक्तिलाई रोजगारीसमेत दिएका छन् । उमेरले तीन दशक नाघेका उनले फोटो खिच्ने, भिडियो खिच्ने, नाच्ने, निर्देशन गर्नुका अलावा  भिडियोको सम्पादन पनी आफैं गर्देछन् । स्वदेशमै गीत संगीतको क्षेत्रमै केही गर्ने अठोट लिएर मोफसलबाटै संघर्ष गरेका बानियाँँले वर्षौंदेखिको बेनी बजारको आफ्नो फेन्सी व्यापार र अफिस अहिले पोखरा सारेका छन् । पोखरामा पनि दैनिक व्यस्त रहने उनलाई आफ्नी जीवन संगिनी सुमी बोगटी बानियाँँले साहस र हौसला दिँदै आएकी छिन् ।

यीनै बानियाँँले आफ्नो जीवनको एक दशक बढी वर्ष सांगीतिक जगतकै लागि व्यतित गरे पनि मोफसलको कलालाई नाक खुम्चाउने गरेको मध्यान्हसँगको कुराकानीका क्रममा बताए । उनले क्षमताको मूल्यांकन भन्दा पनि त्यो त जिल्ला या राजधानी बाहिर बसेको भनेर अलिक होच्याएर हेर्ने गरेको प्रति भने दुखेसो पोखे । आफूसँग भएको सबै प्रतिभा प्रष्फुटन गर्न पनि पैसाकै कारण रोकिनु परेका तिता अनुभव उनीसँग छन् । दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा आफ्नो कलात्मक क्षमता देखाएका उनले आफैं आधा दर्जन गीतमा मोडलिङ गरेका छन् । ठूलो पर्दाका लागि फिल्म निर्देशन गर्ने लक्ष्य लिएर संघर्ष गर्दै गरेका उनी गीत सँगीतकै क्षेत्रमा बाँकी जीवन बिताउने प्रण गरेका छन् ।

ठूला सपनाभन्दा पनि सार्थक हुने सपना देखेर मेहनत गर्न मन पराउने बानियाँँले आफ्नो लगानीमा निर्मित नयाँ लोक दोहोरी गीत ‘चरी बाँसैमा’ आफ्नै च्यानलमार्फत मंगलबार सॉझ बजारमा ल्याएका छन् । पछिल्लो समय निकै चर्चामा रहेका अर्का म्याग्देली कलाकार रबी कार्कीको स्वर, संगीत र थेगो, प्रवीण खत्री ‘ठुले’को शब्द रहेको गीतमा महिला गायन पक्षबाट कमला पोखरेलले साथ दिएकी छिन् ।

बानियाँँ आफैंले निर्देशन तथा सम्पादन गरेको भिडियोलाई बसन्त बानियाँ र सन्दीप खत्रीले मिलेर खिचेका हुन् । समारिका ढकाल र रबीले दोहोरो भूमिकामा अभिनय गरेको भिडियोमा टुटेको प्रेम कहानी र जडियाँ श्रीमानले श्रीमतीलाई दिइएको पीडा देखाइएको छ । सामाजिक सञ्जाल टिकटकमा चर्चा कमाउँदै गएको गीतको संगीत संयोजन कृष्ण केसीले गरेका हुन् ।

Leave a Reply