पर्वत : धान रोपाइँको लागि असार महिना उत्तम भए पनि समयमा नै वर्षा नहुँदा गण्डकी प्रदेशमा साउन महिना सकिन लाग्दासम्म पनि अझै करिब आठ प्रतिशत रोपाइँ बाँकी छ।

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीका अनुसार गत वर्ष प्रदेशका नौ जिल्लामा एक लाख चार हजार छ सय २३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएकोमा यस वर्ष साउन मसान्तसम्म ९० हजार पाँच सय १४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। जुन अघिल्लो वर्षको तुलनामा १४ हजार एक सय नौ हेक्टर कम क्षेत्रफल हो। अघिल्लो वर्षको तुलनामा यस वर्ष १३.५ प्रतिशत कम रोपाइँ भएको हो।

निर्देशनालयले अघिल्लो वर्षको तुलनामा यस वर्ष कम रोपाई हुन सक्ने प्रक्षेपण गरेको थियो। यस वर्ष ९७ हजार आठ सय ५१ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकोमा त्यो भन्दा सात हजार तीन सय ३७ हेक्टर कम क्षेत्रफलमा रोपाइँ भएको हो। जुन अनुमान गरिए भन्दा ७.५ प्रतिशत कम हो।

यस वर्ष धानको बीउ राख्ने बेलादेखि नै वर्षा नहुँदा कतिपय ठाउँमा समयमा बीउ नै तयार नभएको तथा बीउ भएको ठाउँमा पनि वर्षाको अभावमा रोपाइँ हुन नसकेको महानिर्देशक रेग्मीले बताए।

‘यो वर्ष रोपाइँको बेलामा मात्रै होइन की बीउ राख्ने बेलामा पनि पानीको अभाव भयो। सिँचाइको सुविधा नभएका स्थानमा वर्षाकै पानीमा भर पर्नुपर्ने अवस्था रहँदा समयमा रोपाइँ हुन सकेन’, उनले भने, ‘हामीले यो वर्ष जति अनुमान गरेका थियौँ त्यो अनुसार रोपाइँ हुन सकेन। अघिल्लो वर्षको जति रोपाइँ त झन् कसरी होस? बीउ राख्ने र रोप्ने बेलामा वर्षा हुँदैन, अब भदौमा खेतले धान्नै नसक्ने गरी वर्षा हुने पछिल्ला वर्षहरूमा देखिएको छ।’

गण्डकीका ११ जिल्लामध्ये मनाङ र मुस्ताङमा धान खेती हुँदैन। बाँकी नौ जिल्लामध्ये बागलुङमा सबै क्षेत्रफलमा रोपाइँ भएको छ। गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टरमा धान रोपाइँ भएकोमा यस वर्ष पाँच हजार आठ सय ८० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। गोरखामा ११ हजार दुई सय ६६ हेक्टर जमिनमध्ये नौ हजार १२ हेक्टर अर्थात् ८० प्रतिशत, कास्कीमा १९ हजार छ सय पाँच मध्ये १६ हजार दुई सय २० हेक्टरमा रोपाइँ भएको छ।

लमजुङमा यस वर्ष आठ हजार चार ६३ हेक्टर जमिनमा धान रोपाइँ भएको छ। गत वर्ष १३ हजार आठ सय तीन  हेक्टर जमिनमा धान रोपाइँ भएकोमा यस वर्ष नौ हजार तीन सय एक हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएको थियो। यस्तै, स्याङ्जामा ९५ प्रतिशत, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ९८ प्रतिशत, तनहुँमा ८२ प्रतिशत, पर्वतमा ९८ प्रतिशत र म्याग्दीमा ९० प्रतिशत रोपाइँ पूरा भएको छ।

 

Leave a Reply