पर्वत : प्रदेश खेलकुद परिषद् गण्डकीले सूचीकृत भएका रेफ्री र प्रशिक्षकको जीवन बिमा गर्ने तयारी शुरु गरेको छ।

सूचीकरणको लागि ३५ दिने सूचना प्रकाशित गरेको परिषद्ले सूचिकृत भएका सबैको जीवन बिमा समेत गर्ने तयारी सुरु गरेको हो। सो बारे जानकारी दिँदै परिषद्का सदस्य सचिव श्रीधर शर्माले आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेटबाट सबैको जीवन बिमा गरिने जानकारी दिए।

परिषद्ले गत साउन १ गते ३५ दिने सूचना प्रकाशित गरी रेफ्री, निर्णायक, जज, प्रशिक्षक तथा खेल स्थलहरूको समेत सूची दर्ताका लागि आह्वान गरेको थियो। जिल्ला खेलकुद विकास समितिहरूमा सूचीकृत अभियान जारी रहेकै बेला परिषद्ले सबैको जीवन बिमाको तयारी सुरु गरेको जानकारी दिँदै सदस्य सचिव शर्माले जिल्ला–जिल्लामा सूचीकरण काम भइरहँदा परिषद्ले जीवन बिमाको तयारी गरिरहेको बताए।

परिषद्ले सबैको अपनत्व प्रदान गरी प्रदेशको खेलकुद विकास अभियानमा सँगै अघि बढाउन जीवन बिमा कार्यक्रमले सहयोग पुग्ने सदस्य सचिव शर्माको भनाइ छ।
‘उहाँहरू सूचिकृत हुने मात्रै कुरा होइन। सूचिकृत भएसँगै उहाँहरूलाई परिषद्ले उपलब्ध गराउने सेवा पनि अर्को महत्त्वपूर्ण पाटो हो’, उनले भने, ‘३५ दिन भित्र सूचिकृत भएसँगै हामीले उहाँहरूलाई प्रशिक्षण गर्ने कार्यक्रम पनि समावेश गर्ने तयारी गरिरहेका छौँ।’

आगामी दिनमा आयोजना हुने खेलकुद प्रतियोगिताहरूमा सूचिकृत भएका प्रशिक्षक, रेफ्री र निर्णायकले मात्रै सञ्चालन गर्न पाउने विषय कडाइका साथ लागू गर्ने बताउँदै उनीहरूको अभिलेखीकरणको अधिकार प्रदेश खेलकुद परिषद्सँग मात्रै रहेको सदस्य सचिव शर्माले बताए।

परिषद्ले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई समेत पत्राचार गर्दै प्रशिक्षण केन्द्रको विवरण र प्रतियोगिताको अनुमति र सहमतिका साथै खेल प्रशिक्षकको सूचीका लागिसहयोग गर्न भनेको छ।

Leave a Reply