म्याग्दीको प्रसिद्ध धार्मिकस्थल बेनी नगरपालिका वडा नं ९ गलेश्वरधाममा अवस्थित पुलह पुलत्स्य अन्न क्षेत्र गलेश्वरको अध्यक्षमा ज्ञानेन्द्र सुवेदी चयन भएका छन् । एक बर्षदेखि नेतृत्व विहिन रहेको क्षेत्रको गत जेठ महिनामा बोलाइएको अधिवेशन सदस्यता विवादका कारण स्थगित भएको थियो । आन्तरिक विवादका कारण पुलह पुलत्स्य अन्न क्षेत्र सञ्चालनमा समस्या भएपछि सहमतिमै सुबेदीको नेतृत्वका कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिको उपाध्यक्ष यामबहादुर खत्री, सचिव ताराप्रसाद आचार्य (बाबुराम), कोषाध्यक्ष लोकेन्द्र खड्का,सदस्यहरु भिमबहादुर खत्री, प्रकाश खत्री र अनिता कार्की रहेका छन् । दुई सदस्य गलेश्वर शिवालय क्षेत्र विकास कोषले सिफारिस गर्ने जनाइएको छ ।

नवनिर्वाचित पदाधिकारीलाई प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको प्रमुख आतिथ्यता र गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीको अध्यक्षतामा पदभार ग्रह्ण गराइएको थियो ।

पुलह पुलत्स्य अन्न क्षेत्रले गलेश्वरमा रहेका जेष्ठ नागरिक, गलेश्वर र मुक्तिनाथ मन्दिर दर्शनका लागि जाने भक्तजनलाई निशुल्क भोजन गराउने गरेको छ । अन्न क्षेत्रमा सर्वसाधारण र संघसंस्थाले समेत नियमित सहयोग तथा भोजन गराउने गरेका छन् । नवनिर्वाचन अध्यक्ष सुबेदीले पुलह पुलत्स्य अन्न क्षेत्रभित्र रहेका समस्या समाधानसँगै समुदाय र दातासँग सहकार्य गरी अगाडी बढ्ने बताए ।

Leave a Reply