म्याग्दीको मंगला गाउँपालिका-१, खानीगाउँका यामबहादुर बुढाथोकीले यसपटक अहिलेसम्मकै उच्च मुल्यमा गोलभेँडा बिक्री गरेका छन् । साउनको दोस्रो सातासम्म प्रति केजी ८० रुपैयाँमा बिक्री गरेका बुढाथोकीले साउनको अन्तिम साता किलोको एक सय १५ रुपैयाँ सम्म बिक्री गरेका हुन् ।

कृषि खेतीमा लागेपछि बुढाथोकीले गोलभेँडा अहिलेसम्मकै महँगोमा बिक्री गरेको बताए । यसपटक बजारमा गोलभेँडाको मुल्य आकासिएपछि म्याग्दीका किसानले समेत प्रति केजी १ सयभन्दा बढीमा ब्यापारीलाई बिक्री गर्ने गरेका छन् ।‘बजारको अभाव छैन, ब्यापारीहरुले नै खोसाखोस गर्छन’ कृषक बुढाथोकीले भने ।उनका अनुसार म्याग्दीका कृषकले उत्पादन गरेको गोलभेँडा जिल्ला बाहिर समेत खपत हुन थालेको बताए ।

आफ्नो कृषि फर्मबाट सिजनमा ७० क्विन्टलसम्म टमाटर उत्पादन गर्ने गरेका बुढाथोकीले ३ वटा आधुनिक ग्रिन हाउस, १२ वटा बासको टनेलमा उत्पादन गरी बेनीबजारका ब्यापारीलाई थोक मूल्यमा बिक्री गर्छन् ।

बर्खाले सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या हुदाँ केही महँगो भएको बताए । १ क्यारेटको १ सय रुपैयाँ ढुवानी खर्च लाग्ने उनले बताए । गएको बर्ष प्रति केजी ५० रुपैयाँसम्म बिक्री गर्ने गरेका म्याग्दीका किसानले यसपटक गोलभेँडामा दोब्बर मूल्य पाएको बताएका छन् ।

किसानले बारीमै राम्रो मूल्य पाएपछि ब्यापारी हुदै उपभोक्तासम्म पुग्दा प्रतिकेजी १ सय ५० रुपैयाँ मूल्य पुगेको छ । बेनी नगरपालिका, मंगला, मालिका र रघुगंगा गाउँपालिका क्षेत्रका किसानले सदरमुकाम बेनीबजार र सहायक बजारहरुमा खपत गर्ने गरेका छन्। यसपटक एक कृषकले न्युनतम डेढ लाख देखि ७ लाख मूल्य बराबरको गोलभेँडा बिक्री गर्ने गरेका छन् ।

कृषि र पशुपालनमा आर्कषित भएको कुहुँ खानीगाउँका कृषकले यसपटक सिजनमा १५ लाखसम्मको गोलभेँडा बिक्री गर्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्रले ग्रिन हाउसमा ५० प्रतिशत अनुदान सहित थप संरचना थपेर गोलभेँडा सहित तरकारी खेती गरेका कृषकले बेमौसमी उत्पादनमार्फत समेत राम्रो आम्दानी गर्ने गरेका छन् । यसपटक मेहनत गरेर उत्पादन गरेको तरकारीले उचित मूल्य पाएकोमा किसान हर्षित छन् ।

 

Leave a Reply