नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको ‘मेरो डान्स युनिभर्स’मा म्याग्दीकी देबी गर्बुजा फस्ट रनरअप घोषित भएकी छन् ।  काठमाण्डौमा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम घर भई हाल यूरोपको बेल्जियममा बस्ने गर्बुजा अन्तिम प्रतिस्पर्धा (ग्रान्ड फिनाले) मा फस्ट रनरअप भइन्।

नेपाली भाषा, कला तथा मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको प्रतियोगितामा विश्वका ५२ भन्दा बढी देशबाट १ सय २० जना प्रतियोगितामा सहभागीमध्ये गर्बुजा मगर दर्शकीय मत र निर्णायकको जजहरूको आधारमा हरेक चरणका उत्कृष्ट भएपनि अन्तिम प्रतिस्पर्धामा गर्बुजाले रु ३० लाख सहित विभिन्न पुरस्कार प्राप्त गरिन् ।

बाल्यकालदेखि नै नृत्यमा सक्रिय देवी गर्बूजाको कलात्मक नृत्यलाई दर्शकले रुचाएका छन भने जजहरूले प्रशंसा गरेका छन् । अन्तिम १६ को प्रतिस्पर्धा यता गर्बुजालाई विश्वभर रहेका म्याग्देलीको साझा संस्था मोना अन्तराष्ट्रियमार्फत राष्ट्रिय समितिले भोटिङ अभियान नै सञ्चालन गरेको थियो ।

मोना अन्तराष्ट्रियका सांस्कृतिक संयोजक एवम् उपाध्यक्ष सुर्जे भट्टचनले विश्वभर रहेका म्याग्देलीको भोटिङ अभियानले उपाधीमा पुग्न सहज भएको बताए । ‘हामीले विजेताकै लागि निकै प्रयास गरेका थियौं,‘भोटिङ अभियानमा साथ दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छौ’ उपाध्यक्ष भट्टचनले भने ।मोना पोर्तुगलकी महिला उपाध्यक्ष समेत रहेकी गर्बुजा हाल रोजगारको सिलसिलामा बेल्जियममा रहेकी छन् । उनी यसअगाडी समेत मिस नेशनल आइकनको उपाधी समेत जितिसकेकी छन् ।

विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक रानाले म्याग्दीकी प्रतिभाशाली गर्बुजा मगरले कला र संस्कृतिलाई नेपाली र नेपालीभाषीसम्म पुर्याउन सफल भएको बताए। यसैबीच प्रतियोगितामा उपविजेता हुने गरी सहयोग गर्ने सम्पूर्णलाई गर्बुजाले धन्यवाद दिएकी छन् । उनले आफ्नो नृत्यले मात्रै नभई भोटिङ गरी सहयोग गरेकाले निरन्तर सफलता मिलेको बताईन् ।

संसारमा छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई जीवन्त राख्न धेरै अनुभवी प्रतियोगिसँग अनुभव साट्ने अवसर समेत मिलेको बताईन् । इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड)ले हात पारेका थिए ।

 

Leave a Reply