नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ५० औं बार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्षको अवसरमा जिल्लाको मालिका गाउँपालिका ६ अल्काचौरको सति आधारभूत विद्यालयमा आइतबार निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाले आयोजना गरेको उक्त शिविरमा स्थानीय,तथा विद्यार्थीहरु गरी १ सय ४२ जना लाभान्वित भएका नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । शिविरमा ९४ जना महिला र ४८ जना पुरुष गरी १ सय ४२ जनाको आँखाको परिक्षणका साथै निशुल्क औषधी वितरण गरिएको थियो। शिविरमा अन्य रोगका विरामीहरुको पनि स्वास्थ्य जाँच गरिएको थियो ।
सेवा लिन ७ वर्षिय बालबालिकादेखि ८० वर्षिय वृद्धबृद्धाहरु समेत आएका थिए । शविरमा दरवाङ उपस्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र दुईजना स्वास्थ्य प्राविधिकहरुले सेवा प्रदान गरेका थिए । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाका सभापति भीमप्रसाद गौतमको अध्यक्षता र सचिव हिराबहादुर पुनको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाका पदाधिकारी र स्थानीय समाजसेवी तथा बुद्धिजीविहरुको पनि उपस्थिति रहेको थियो ।