लगातारको बर्षासँगै गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी-जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिरोले अवरुद्ध भएको छ । उत्तरी म्याग्दी हुदै मुस्ताङ पुग्ने एकमात्र स्थलमार्ग पहिरो र कालिगण्डकी नदीको कटानले छियाछिया परेको छ । पहिरोले बगेको सडक पहिलेकै अवस्थामा फर्किन तत्काल असम्भव देखिएको छ ।

बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी खण्डमा ठाउँठाउँमा भासिएर ठूल्ठूला खाडल पर्नुको साथै कतिपय स्थानमा सडक चिराचिरा परेको छ । अन्नपूर्ण–३ दानाको सुवा, फगाम, पुलिवाङ गाउँ पूरै पहिरोको जोखिममा रहेको छ । पहिरो प्रभावित क्षेत्रका स्थानीयको घर मुनीको जमिन धाँजा फाटेको अवस्थामा ठूलो पानी पर्दा कुनैपनि बेला मानवीय क्षती हुने त्रासले आफन्त र अन्य सुरक्षित स्थानमा गएका छन् ।

उच्च जोखिममा रहेका ११ घरधुरीलाई जिल्ला विपद् ब्यवस्थापन समितिको पहल र अन्नपूर्ण गाउँपालिकाले सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए । ‘चर्किएर जमिन भासिँदा बस्ती विस्थापित बनेको छ भने सडक चिराचिरा पर्दा आवागमन ठप्प बनेको छ’ सुबेदीले भने । पहिरोस्थलको आइतबार गण्डकी प्रदेशसभाका सदस्य हरि भण्डारी, अन्नपुर्ण गाउँपालिका उपाध्यक्ष दिवा पुन लगायतको टोलीले समेत अनुगमन गरेको थियो ।

भिरालो जमिन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट विस्तार गरिएको बेनी–जोमसामे सडकखण्ड भासिएर फगाम गाउँका अधिकांस घरधुरी उच्च जोखिममा रहेको अनुगमन टोलीको भनाई छ । ‘अहिलेकै अवस्थामा बस्ती बस्ने लायकको छैन, सुरक्षित स्थानमा बसोबासका लागि तत्काल जग्गा खोज्नुपर्छ’ गण्डकी प्रदेश सांसद हरि भण्डारीले भने ।

भूगर्भविद् ल्याएर परीक्षण गर्न र सुरक्षित स्थानमा स्थानान्तरणमा पहल गर्ने बताए । जमिन भासिने र फाट्ने भएपछि पहिरोले स्थानीयलाई सुकुम्बासी जस्तै बनाएको छ। पहिरोले स्थानीयको घरका साथै जमिन चिराचिरा पर्नुमा कमजोर जमिन, सडक र कालिगण्डकी करिडोर २२० केभिएको टावर विस्तारमा गरिएको लापरवाही प्रमुख कारण रहेको स्थानीयबासीको भनाई छ । ‘जतिबेला पनि पहिरोले बगाउन सक्ने भएकाले घर छाडेर खुल्ला स्थानमा बसेका छौं,’‘वर्षाैं दुःख गरेर बनाएको घरबारी पहिरोले बनाइदियो अहिले खुल्ला चौरमा बस्नुपर्ने बाध्यता बन्यो‘ एक पीडितले अनुगमन टोलीसँग गुनासो गरे ।

अन्नपूर्ण गाउँपालिका–२ तातोपानीदेखि वडा नं. ३ को दाना काभ्रेभिरसम्मको करिव ५ किलोमिटर सडकमा साना ठुला गरेर ५० भन्दा बढी पहिरो रहेको बेनी–जोमसोम–कोरोला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । उनका अनुसार दाना खण्डमा बाढीपहिरो र कालीगण्डकी नदीको सतहले घार परिवर्तन गर्दा सडक कटान गरेको बताए । उनले दैनिक दुई÷तिन वटा डोजर लगाएर पहिरो पन्छाउदा पनि खुलाउन असफल भएको बताए ।

उनले माथिबाट पहिरो र तलबाट कटानले सडक छियाछिया भएको बताए । खामभित्तामा सडकको फाउन्डेसन नै बगाएकाले मंगलबारभित्र सडक सञ्चालनको प्रयास गर्ने बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतिले बताए ।‘ठाउँठाउँमा भीषण पहिरो खसेको छ। कालिगण्डकी नदीको कटान उत्तिकै छ।’प्रमुख प्रजापितले भने । उनका अनुसार माथिल्लो भेगमा यसपालि अचाक्ली पानी परेको र त्यसले नदीमा बहाव बढेको बताए। त्यही बहावले कटान गर्दै जाँदा सडक खसेको उनले बताए।

‘जसोतसो एकठाउँको पहिरो खोल्यो, अर्काे ठाउँमा जान्छ, यो क्रम चलिरहेको छ,’ प्रजापतिले भने। तलबाट कटान बढ्दै जाँदा माथिबाट पहिरो खस्ने क्रम रोकिएको छैन,’उनले भने । सडक क्षतविक्षत भएपछि मुक्तिनाथ दर्शन गर्न पुगेका पर्यटक अप्ठेरोमा परेको व्यवसायीले बताए। पहिरोका कारण बाटोमै फसेकालाई जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

Leave a Reply