आफैंले डाकेको प्रदेश सभा बैठक छाडेर सोमबार बिहानै उपसभामुख सिर्जना दनुवार काठमाडौं उडेको खबर पाउनेबित्तिकै कोशीमा सत्ता गठबन्धनका नेताहरू आकस्मिक बैठकमा जुटे।

करिब डेढ घन्टा चलेको बैठकपछि होटल इस्टर्न स्टार बाहिर निस्केका सबैजसो नेताहरू  ‘आजको बैठक स्थगित हुने’ बताइरहेका थिए।

त्यहाँबाट सोझै प्रदेश सभामा पुगेर फेरि छलफलमा जुटेका गठबन्धनका नेताहरूले एक्कासी प्रदेश सभा आजै चलाउने र विश्वासको मत लिने निर्णय लिए।

केहीबेर अघिसम्म बैठक नचलाउने भनिरहेको गठबन्धनले बैठकको अध्यक्षता गर्ने कांग्रेस सांसद इस्राइल मन्सुरीलाइ पनि सरकारका पक्षमा मतदान गराउने निर्णय गरेको छ।

गठबन्धनले केही घन्टाकै बीचमा यस्तो निर्णय लिनुपछिको मुख्य कारण अदालतमा हुनसक्ने ढिलाइ रहेको गठबन्धनका नेताहरूले बताएका छन्।

‘उपसभामुख आफैंले बोलाएको बैठक छाडेर भागेपछि हामी उहाँको असंसदीय व्यवहार र  संवैधानिक दायित्व निर्वाह नगरेका कारण खोज्दै अदालत जाने तयारीमा थियौं,’  गठबन्धनमा रहेका पूर्वमुख्यमन्त्री राजेन्द्र राइले भने, ‘तर, अदालतमा मुद्दा चलिरहँदा यता मुख्यमन्त्रीले विश्वासको मत लिने समय गुज्रने अवस्था हुन्सक्छ। त्यसैले विश्वासको मत आजै लिने भएका हौं।”

साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका कांग्रेस नेता उद्वव थापाले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने सवैधानिक बाध्यता छ। भदौ १३ मा थापाको नियुक्तिको ३० दिन पूरा हुँदैछ।

यसबाहेक भदौ १० भित्र बजेटसम्बन्धी अध्यादेशबारे पनि टुंगो लगाउनै पर्ने बाध्यता छ। अन्यथा प्रदेश बजेट होलिडेतिर जाने अवस्था छ।

‘यी सबै काम गर्न सदनको उपसभामुखविरूद्ध अदालत गएपछि विचाराधीन मुद्दामा छलफल हुन नसक्ने समस्या आउनसक्छ,’ नेता राईले सेतोपाटीसँग भने, ‘त्यसैले आजै उपसभामुखले सदन चलाउने जिम्मा दिएका माननीयले बैठक चलाउने र उहाँले पनि मतदान गर्ने टुङ्गोमा पुगेका हौं।’

गठबन्धनका नेताहरूले सभामुख र उपसभामुख बाहेकलाई यसअघि सर्वोच्चले गरेको फैसला र संविधानले नछेक्ने बताइरहेका छन।

यसभन्दाअघि तत्कालीन सभामुख बाबुराम गौतमले समर्थनको हस्ताक्षर गरेर थापा पहिलो पटक असार २१ मा मुख्यमन्त्री नियुक्त भएका थिए। असार २२ मा एमाले सर्वोच्च गएपछि अदालतले थापाको नियुक्ति बदर गरेपछि साउन १६ मा थापा पुनः मुख्यमन्त्री नियुक्त भएका थिए।

सत्ता गठबन्धनले एक्कासी सदन चलाउने र विश्वासको मत लिने निर्णय लिएपछि प्रमुख विपक्षी एमाले बिलखबन्दमा परेको छ। सदन नचल्ने अनुमान गरेर घरैमा बसेका एमाले सांसदहरूलाई प्रमुख सचेतक रेवतीरमण भण्डारीले फोन गरेर बोलाइरहेका छन्।

एमालेका प्रमुख सचेतक भण्डारीले सत्ता गठबन्धनको प्रयासको सदन र सडकबाट बिरोध गर्ने बताए।

एमालेले बैठकको अध्यक्षता नगराउन र विश्वासको मत पुग्न नदिन सात जना आफ्ना र एक जना राप्रपा सांसदलाई बिदा दिन लगाएको थियो।

Leave a Reply