म्याग्दीको एक मात्रै सरकारी अस्पताल बेनी अस्पतालमा जनशक्ति अभाव हुँदा बच्चा वार्ड छुट्टै सञ्चालन गर्न समस्या भएपछि मेडिकल वार्डमा मर्ज गरेर सेवा दिन थालिएको छ । बच्चा वार्डका साथै सर्जिकल वार्ड सञ्चालनमा समेत अप्ठेरो भएकोले त्यसलाई पनि मर्ज गरिएको छ ।
५० शैयाको बेनी अस्पतालमा ५९ जनाको दरवन्दी भए पनि दरवन्दी अनुसारको चिकित्सक तथा कर्मचारी नहुँदा छुट्टै बच्चा वार्डबाट सेवा दिन नसकेर बच्चा वार्ड तथा सर्जिकल वार्डलाई मेडिकल तर्फ मर्ज गरेर सेवा प्रदान गर्ने गरेको छ । गत हप्ता झण्डै १ हजार ५ सय बिरामीले ओपिडीबाट सेवा लिएको बेनी अस्पतालमा यो हप्ताको दुई दिन पनि ५ सय भन्दा बढीले सेवा लिई सकेका छन् ।
भाइरल ज्वरोका बिरामीको संख्या निकै धेरै रहेको अस्पतालमा जनशक्ति अभावमै सञ्चालनमा रहेको बच्चा वार्ड नै बन्द गर्ने अवस्थामा पुग्दा पनि सम्बन्धीत निकायले चासो नदेखाएको सेवाग्राहीको गुनासो छ ।
बच्चा बिरामी भएर अस्पतालमा लैजानु भएका जगन्नाथ आचार्यले बच्चावार्ड बन्द भएकोले मेडीकल वार्डमा राखेरै उपचार गर्नु परेको सुनाउनु भयो । बच्चा बिरामी भयो ज्वरोले च्यापेपछि बच्चा मुर्छा नै परेको थियो अस्पताल आउँदा भर्ना गर्न भनियो तर बच्चा वार्ड सञ्चालन गर्न जनशक्ति अभावले त्यो छुट्टै सेवा दिइएको रहेनछ । थोरै जनशक्तिले पनि ५० शैयाको अस्पताल, इर्मजेन्सी तथा ओपिडी सञ्चालन गर्नुभएको रहेछ तर पनि भएको जनशक्तिले सेवा भने दिइएको थियो उहाँले बताउनुभयो ।

अस्पतालमा दरवन्दीका दुई जना मात्रै डाक्टरहरु कार्यरत रहेको बेनी अस्पतालकी निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा अञ्जु थापाले जानकारी दिनुभयो । प्रदेशको करार दरवन्दीबाट गत आर्थिक वर्षमा आएका १३ जनाको करार सकिए पछि अस्पताल सञ्चालनमै समस्या भएको छ ।
प्रदेशले पठाएको कर्मचारीको करार थप नभए पछि समस्या भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । उहाँ भन्नुहुन्छ–‘प्रदेशबाट आएर करार सकिएका कर्मचारीलाई खाजा खर्च हामी उपलब्ध गराउँछौं काम गर्नुस् भनेको हो उहाँहरुले मान्नुभएन त्यसैले बच्चा वार्ड सञ्चालन गर्न नसके पछि बन्द गर्न बाध्य भयौं ।’ राज्यले तोके अनुसारको तलब दिन सक्ने अवस्था अस्पताल सँग छैन, त्यसैले हामीले कम्तिमा खाजा खर्च व्यवस्था गर्छौ माथिबाट करार सुचना आएको खण्डमा प्राथमिकतामा राख्छौं भन्दा पनि नमानेर उहाँहरु गए पछि अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।’
अहिले अस्पतालमा दरवन्दीका दुई सहित अन्य श्रोतबाट चार जना रेजिडेण्ट, तीन जना कन्सल्टेन्ट र पाँच जना मेडिकल अधिकृत कार्यरत रहेका छन् । यसैबीच आर्थिक वर्ष २०७९/०८० को प्रदेश करार सम्झौता अन्तर्गत कार्यरत रहेका स्वास्थ्यकर्मीहरुको नयाँ आर्थिक वर्षका लागि प्रदेशबाट म्याद थप नभएकोले अस्पतालका इमर्जेन्सी, ल्याब, इन्डोर वार्ड, डायलासिस लगायतका नियमित सेवाहरु समेत प्रभावित भएको अस्पतालले एक सूचना प्रकाशन गरेरै जानकारी दिएको थियो ।

बेनी अस्पतालमा दरवन्दी रहेका मध्ये हाल १४ जना मात्रै कार्यरत रहेका छन् । २६ जनाको दरवन्दी रहेको भए पनि आठ जना अध्ययन बिदा र चना जना काजमा अन्यत्रै जाँदा दरवन्दीका १४ जना मात्रै कार्यरत रहेको अस्पतालले जनाएको छ ।
बेनी अस्पतालकी निमित्त मेडिकल सुपरीटेण्डेण्ट डाक्टर अञ्जु थापाका अनुसार मौसम परिवर्तनका कारणले गर्दा पनि रोगको प्रकोप धेरै हुन्छन् त्यसमा पनि कार्यरत कर्मचारीको करार सम्झौता थप नहुँदा सेवा नै बन्द गर्नु पर्ने अवस्थामा पुग्नु पर्दा निकै दुख लागेको उहाँले बताउनुभयो ।








