म्याग्दी : बेनी नगरपालिका–२ बगरफाँट स्थित बगरफाँट रिभर साइड युवा पछिल्लो समय गाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने अभियानमा लागेका छन्। प्रशस्त प्राकृतिक र पर्यटकीय सम्भावना रहेको बगरफाँट गाउँलाई पर्यटन मार्फत चिनाउने अभियानमा बगरफाँट रिभरसाइड युवा क्लब लागेको सचिव सचिन कार्कीले बताए।

यहाँ पानी उड्ने उडाइनो छहरा ,आन्तरिक पर्यटकले खचाखच हुने कोप्रे झरना, १२६ वर्ष पुरानो ऐतिहासिक घुमाउने चौतारी, तीन रोपनी क्षेत्रफलको विशाल चट्टान माथि निर्माण गरिएको आकर्षक दुर्गा भगवतीको मन्दिर, शिवालय, गुफा  लगायत पर्यटकीय स्थल रहेका छन्। प्रचार प्रसार, मर्मत संभारम्हार र संरक्षणको अभावमा वत्ति मुनिको अध्याँरो जस्तै बनेका यी सम्पदाहरुको संरक्षण,मर्मत सम्हार र प्रचारप्रसार गरी गाउँमा आन्तरिक मात्रै नभई बाह्य पर्यटक भित्र्याउने उद्देश्य रहेको अध्यक्ष सुनिल थापाले बताए।

स्थानीय समाजसेवी नारायण कार्कीको अगुवाइमा बगरफाँटको पलाँसे क्षेत्र माथिल्लो पट्टीको विशाल चटनको थुम्कोमा निर्माण गरिएको दुर्गा भगवती मन्दिर, मन्दिरसम्म पुग्नका लागि बनाइएको आकर्षक सिँढी सहितको पक्की बाटो र मन्दिरको तल्लो भागमा अलग अलग थान बनाइ राखिएका विभिन्न देवी देवताका मुर्तिहरुले गाउँको सौन्दर्यलाई बढाउनुको साथै पछिल्लो समय धार्मिक पर्यटकीय स्थलको रूपमा समेत परिचित हुँदै गएको बगरफाँट रिभरसाइड क्लबका पूर्व अध्यक्ष तथा हालका सल्लाहकार इन्द्रबहादुर जिसीले बताए।

‘पुछारमा नागबेली पर्दै  म्याग्दी खोला कलकल गरी बगिरहेको छ, सिरानमा विशाल चट्टाने पहरो र पहरोमा दुई खण्ड हुँदै बगेको उडाइनो छहरा, आप्रे छहरा र कोप्रे झरना छन्’, अध्यक्ष थापाले भने ‘बिचको समथर भागमा टम्मै मिलेको बस्तीसहितको बगरफाँट गाउँ र उर्वर फाँटको हरियालीले यहाँ आउने पर्यटक मख्खै पर्छन्।’

बगरफाँट गाउँ पर्या पर्यटनको दृष्टिकोणले समेत महत्त्वपूर्ण छ। यहाँ गरिएको केरा खेती र तरकारी खेतीले गाउँको सौन्दर्य अझै बढाएको छ।

बगरफाँटको पर्यटन विकासका लागि युवाले दोस्रो चरणमा आकर्षक बगैंचा निर्माण र पिकनिक स्पट (वनभोज स्थल) बनाउन तयारी शुरु गरेका छन्। त्यसका लागि आवश्यक बजेट नगरपालिकाबाट प्राप्त भएमा आफूहरुलाई निकै सहज हुने बताउँदै सचिव कार्कीले भने ‘बजेट पाएनौँ भने पनि काम रोक्दैनौ,देश विदेशमा रहेका यहाँका युवा साथीहरूलाई सहयोग मागेर भए पनि काम गरिछाड्छौँ।’

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि १५ मिनेटको दूरीमा रहेको बगरफाँट गाउँका युवाले खेलकुदको माध्यमद्वारा गाउँलाई चिनाउने र समाजलाई संगठित बनाउने काम गरेकोमा पछिल्लो समय पर्यटन विकासतर्फ पनि लागेको देख्दा आफूलाई निकै खुशी लागेको र उनीहरुलाई प्रोत्साहित गर्न आफूले सक्दो सहयोग गर्ने बेनी नगरपालिका –२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए।

युवाकै अगुवाइ र पहलमा बगरफाँटमा ५५ मिटर चौडाइ र १०० मिटर लम्बाइको विशाल खेलमैदान निर्माण भएको छ। करिब २५ लाख रुपैयाँको लागतमा निर्माण भएको सो खेल मैदानमा गत चैत २८ गतेदेखि चार दिनसम्म एक लाख रुपैयाँ पुरस्कार राशिको प्रथम रिभरसाइड सेभेन ए साइड फुटबल प्रतियोगिता २०७९ आयोजना गरिएको थियो।

बगरफाँट खेलाडीहरूको गाउँ पनि हो। यहाँका युवा जिल्ला र प्रदेशस्तरका विभिन्न खेलकुद प्रतियोगितामा पुरस्कृत र सम्मानित हँुदै आएका छन्। गत माघ दोस्रो साता पोखरामा सम्पन्न दुई फुटसल प्रतियोगितामा यहाँको बगरफाँट रिभरसाइड क्लबले प्रथम र द्वितीय स्थान प्राप्त गर्दै एक लाख ५० हजार रुपैयाँ पुरस्कार जितेको थियो।

त्यसैगरी अविनास तामाङ प्रसिडेन्ट दोस्रो केआइसी पोखरा फुटसल टुर्नामेण्टमा रिभरसाइड बगरफाँट युवा क्लबले प्रथम स्थान प्राप्त गरेको थियो। पोखरा र पोखराबाहिरका गरी २२ टिम सहभागी प्रतियोगितामा रिभरसाइड बगरफाँट युवा क्लब प्रथम हुँदै एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको सचिन कार्कीले जानकारी दिए।

त्यसैगरी पोखरास्थित भद्रकाली एफसी पोखराले आयोजना गरेको पहिलो भद्रकाली ओपन फुटसल प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्न सफल भएको थियो। विभिन्न २४ टिम सहभागी उक्त प्रतियोगितामा दोस्रो भएको क्लबले ५० हजार रुपैयाँ नगदसहित पुरस्कार प्राप्त गरेको थियो।

बगरफाँटका युवा संगठित भई खेलकुद,पर्यटन विकासका साथै अन्य सामाजिक र जनचेतनामूलक काममा लागेका छन्। यहाँका युवाले कोरोना कालमा घर–घरमा पुगेर औषधि, मास्क, स्यानिटाइजरलगायतका सामग्री वितरण गर्नेदेखि लिएर अस्पतालसम्म लगेर उपचार गराएर ल्याउने समेत गरेको स्थानीयले बताए।

Leave a Reply