काठमाडौंबाट म्याग्दीको बेनी आउँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बुधबार सवा ११ बजेतिर दुर्घटनामा परेको छ। बस दुर्घटनामा परेर आठजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक मध्ये ६ जना पुरुष र २ जना महिला रहेको प्रहरीको भनाई छ। बस त्रिशुली नदीमा खसेको छ।

धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले अहिलेसम्म ८ जनाको शव फेला परेको बताए। उनका अनुसार २३ यात्रु क्षमताको बस भएपनि २५ जना यात्रु सवार रहेको पुष्टि भएको छ। ‘बसमा २५ जना यात्रु रहेको पुष्टि भएको छ। तर, बस २३ सिट क्षमताको मात्र थियो,’ उनले भने, ‘मृतकको पहिचान खुलेको छैन। घाइतेको उपचारका लागि अस्पताल पठाइएको छ।’

म्याग्दी कोरला बस कम्पनिले यो बस संचालन गरेको थियो। कम्पनिका अध्यक्ष मोहन केसीका अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ यो बस गण्डकी–धवलागिरी यातायात प्रालिबाट संचालित थियो।

केसीका अनुसार २३ सिट क्षमताको यो बस काठमाडौंबाट बिहान ७ बजे २० जना यात्रु लिएर बस हिडेको थियो। जसमा बेनीका ६ जनाले टिकट काटेका थिए। अरु यात्रु पोखरा, पर्वत, बागलुङ लगायतका सहरका थिए।

‘टिकट काटेको बाहेक अरु यात्रु भएको जानकारी छैन,’ अध्यक्ष केसीले भने, ‘बीचमा अरु यात्रु पनि थपिको भए जानकारीमा आएन।’ उनका अनुसार यो बसको खास क्षमता ३२ सिट हो। तर, यात्रुलाई आरामदायी यात्रा गराउने भन्दै कम्पनिले सिट संख्या २३ मा सिमित राखेको उनले बताए।

Leave a Reply