करिव एकदशक अगाडी मौरीपालन सुरू गरेका मंगला गाउँपालिका–१ कुहुँ मौलाथरका गोविन्द खत्रीले मौरीपालनबाट रहरलाग्दो आम्दानी गरिरहेका छन् । बैदेशीक रोजगारको सिलसिलामा डेढ दशक साउदी अरब र इराकमा विताएर घर फर्किएका खत्रीले घरायसी प्रयोजनका लागि दुईवटा घारबाट मौरीपालनमा लागेका खत्रीले हरेक बर्ष करिब १० लाखभन्दा बढी मौरीपालनबाटै कारोबार गर्ने गरेका छन् ।

आधुनिक मौरीपालनमा लागेका खत्रीलाई म्याग्दीका साथै विभिन्न जिल्लाबाट ग्राहकहरुले पेश्की दिएर समेत बुकिङ गर्ने गरेका छन् । मह, घार र मौरीसहितको घार बिक्री गर्ने गरेको खत्रीले बताए । ‘उत्पादन तलमाथी हुन्छ, मेहनत अनुसारको आम्दानीबाट सन्तुष्ट छु’ खत्रीले भने ।

उनले घारसहितको मौरीजस्तै महको समेत अग्रिम बुकिङ हुन थालेपछि पछिल्ला केहीबर्ष यता आम्दानी बढेको बताए । ‘एकपटक आएका ग्राहकले पटकपटक माग गर्छन्’ खत्रीले भने । उनले ग्राहकलाई प्राविधिक सहयोग समेत गर्ने गरेका छन् । मौरीपालन सुरु गरेको पहिलो बर्ष १० हजार आम्दानी गरेका खत्रीले कुनैबर्ष १२–१४ लाखसम्मको विक्री गरेको बताए।

‘अडर पु¥याउन सकेको छैन, घरबाटै विक्री हुन्छ’ खत्रीले भने । दुईबर्षसम्म बजारको खोजी गर्नुपर्ने अवस्था भएपनि अहिले यूरोपका विभिन्न देशमा जाने म्याग्देलीले समेत कोशेलीको रूपमा प्रयोग गर्ने गरेको बताए । उनले मौसमको प्रतिकुल समयमा मह उत्पादन घट्ने गरेकाले चरन क्षेत्रको ब्यवस्थापनमा ध्यान दिएको बताए ।

विना तालिम र अनुदानमा मौरीपालन सुरू गरेका खत्रीले केही महिना मौरीले टोक्दा गाउँमा समेत सबैले हाँसोठट्टा गर्ने गरेको भएपनि अहिले मौरी नै साथी भएको बताउँछन् । उनीसँग१ सयभन्दा बढी वटा घार रहेका छन् ।

घरगोठ र आसपासका खेतबारी, छिमेकी र आफन्तको घरदैलोमा समेत मौरीका घार राखेका खत्रीले मौरीको चरनक्षेत्र समेत ब्यवस्थापन गरेका छन् ।गाउँ आसपासका क्षेत्रमा रहेको लालिगुराँसको जंगल, घर नजिकै रहेको पैयूको बोट, खेतबारीमा तोरीखेतीबाट समेत चरनमा सहज भएको भएको छ ।

मौरीपालनका बारेमा जानकारी लिन आउनेलाई खेलेरै आफ्नो अनुभव सुनाउने र प्रयोगात्मक अभ्यास समेत गरेर देखाउँछन् । कृतिम रानो मौरी बनाएर समेत धमाधम नयाँ घारमा मौरी स्थानान्तर गर्ने गरेका खत्रीले हरेकबर्ष आफ्नै लगानीमा समेत तालिम लिने गरेका छन् ।

एउटा घारमा ४ घार मौरी उत्पादन गर्ने खत्रीले घरबाटै प्रतिकेजी १ हजार ३ सय रुपैयाँमा विक्री गर्ने गरेका छन् । कृतिम रानो मौरी बनाउन जानेपछि उनको आम्दानी फराकिलो भएको बताउँछन् । उनले घरमा रहेका मुढालाई समेत घारको रुपमा प्रयोग गरेका छन् ।

प्रत्येक वर्षको असोज १५ देखि मंसिर १५ र फागनुदेखि जेठ महिना विशेष गरी मौरीको हेरचाहमा समय बिताउने गरेको उनको अनुभव छ । गाउँभरी मौरीपालन गर्न आर्कषित गरिरहेका खत्रीले दुईवटा छोरालाई समेत विदेश पठाउन अस्वीकार गदै आइरहेका छन् । उनले उत्कृष्ट कृषकको रुपमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारसहित नगद १० हजार रुपैयाँ र प्रमाणपत्रका साथै आधा दर्जन सम्मान पाएका छन् ।

 

Leave a Reply