मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाको गुईठेभीरमा अवरुद्ध भएको सडक ६ दिनपछि शनिबार साँझदेखि सञ्चालन भएको छ । भारीबर्षासँगै लगातार सडकमाथिबाट खसेको पहिरोका कारण मर्मतमा समस्या भएको थियो ।

शनिबार अबरुद्ध भएको सडक पन्छाएपछि रोकिएका सवारीसाधन गन्तब्यतर्फ लागेको दानाका पर्यटन ब्यवसायी इन्द्रसिंङ शेरचनले बताए । ‘रोकिएका सवारीसाधन गन्तब्यतर्फ लागेका छन्,‘अझैपनि पहिरोस्थलमा भने जोखिम कायमै छ’ उनले भने । सडकखण्ड अन्तरगत दानाको गुइँठे, सुकेबगर, जलथले, खामभिक्ता लगायतका क्षेत्र पहिरोको जोखिममा छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले पहिरो पन्छाएर सडक खुलाइएको जानकारी दिए। उनले जोखिम मानिएका क्षेत्रमा अवरुद्धलाई पन्छाउन आवश्यक मेसिन सहितको जनशक्ती समेत तयारी अवस्थामै रहेको बताए ।

सडक अवरुद्ध हुदाँ दानादेखि नारच्याङको घरापसम्म हिलाम्मे सडकमा कष्टपूर्ण यात्रु पैदल यात्रा गर्न बाध्य भएका थिए। लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावट, कालिगण्डकी नदीको कटानले छियाछिया पारेको सडकमा माथीबाट ढुंगा खस्ने भएकाले साउन, भदौ र असोज महिनामा यात्रु र पैदलयात्रीलाई निकै सास्ती हुने गरेको छ।

Leave a Reply