गएको साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले करोडौँको भौतिक संरचनामा क्षति पुगेको छ ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको घरमा आश्रय लिएर बसेका छन् । बाढीले घर, पुल र गरिखाने बारी नै बगरमा परिणत गरिदिएपछि अहिले उनीहरूको हातमुख जोड्ने माध्यम केही छैन ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्यांकानुसार बाढीले कागबेनीमा करिब एक अर्ब रुपैयाँको क्षति पुगेको छ । भौतिक संरचना, स्थानीयवासीको घर, व्यवसाय र विभिन्न संघसंस्थाको कार्यालयमा क्षति पुगेको हो । बाढीले यहाँका कृषकले खेती गर्दै आएको स्याउ बगैँचा र सिँचाइ कुलोमा समेत क्षति पुगेको छ ।

गाउँपालिकाको कृषि शाखाको तथ्यांकानुसार कागबेनीवासी कृषकको करोड बढीको स्याउ, ओखर र नासपातीलगायत फलफूलका बोटमा क्षति पुगेको छ । बाढीले कृषकको ११ रोपनी तीन कट्ठा बढीमा लगाइएको स्याउलगायत फलफूलमा क्षति पुगेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिए ।

उनका अनुसार करिब १६९ भन्दा बढी स्याउ बोटमा क्षति पुगेको छ । स्थानीय मिङमर गुरुङको ४५ स्याउका बोट र नर्सरी नष्ट भएको उनको भनाइ छ ।

बाढीले सबैभन्दा बढी स्थानीय कृषक कुंगा नमडुल गुरुङ, पेमा निङ्वो विष्ट र कर्म छोक्ले गुरुङको बारीमा रहेको स्याउ बोटमा क्षति पुगेको उनले बताए । उनीहरूका ३५ देखि ५५ सम्म स्याउ बोटमा क्षति पुगेको उनको भनाइ छ ।

बाढीले स्याउलगायत कृषि उत्पादन हुने खेतीयोग्य जमिनमा पनि ठूलो क्षति पुगेको छ । करिब सात हेक्टर जमिनमा सिँचाइ गरिने कागबेनी सिँचाइ कुलोमा क्षति पुगेको शाखा प्रमुख धामीले जानकारी दिए ।

कागबेनीवारिपारि क्षेत्रको खेतीयोग्य जमिनमा सिञ्चित हुने तीन कुलोमा बाढीले क्षति गरेको छ । उनका अनुसार ३६ रोपनी जग्गामा सिञ्चित गरिने सिँचाइ कुलो समेत बाढीले बगाएको छ ।

गाउँपालिकाले कृषकलाई अनुदानमा उपलब्ध गराएको खेतबारी जोत्ने नौ हाते ट्रयाक्टर समेत बाढीले बगाएको उनी बताउँछन् । बाढीले स्याउका बोट, बगैँचा, विभिन्न कृषि उपकरण र सिँचाइ कुलो बगाउँदा करिब एक करोड रुपैयाँ बढीको क्षति भएको धामीको भनाइ छ ।

उनी भन्छन्, “यहाँका धेरै स्थानीयको मुख्य आयस्रोत स्याउ हो । बाढीले अधिकांश कृषकको स्याउ बगैँचामा ठूलो क्षति पुर्‍याएको छ । हामीले धेरै दिन लगाएर क्षति विवरण संकलन गरेका छौँ । कोहीको बगैँचा बगाएको छ, कोहीको स्याउ र नासपातीको बोट बगाएको छ । सिँचाइ कुलो बगाउँदा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो बस्ने अवस्था आएको छ ।”

बाढीले कृषकको गोठ र पशुचौपाया पनि बगाएको छ । पशुचौपाया बगाउँदा करिब ५० लाख रुपैयाँ बढीको क्षति भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पशु शाखा प्रमुख समीक्षा कठायतले जानकारी दिइन् ।

बाढीले २३ गोठ, ३२ लुलुगाई, दुई खसी र एउटा घोडा बगाएको प्रमुख कठायतले बताइन् । यसबाट करिब ५० लाख बढीको नोक्सान भएको उनको भनाइ छ ।

Leave a Reply