म्याग्दीको बेनी नगरपालिका-५,गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथधामको आज (सोमबार) रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो ।
कार्यक्रमका अतिथिहरु, मन्दिरका पुजारी, सहभागी भक्तजन, गुठी व्यवस्थापन समितिका पदाधिकारी, स्थानीयवासी, सर्वसाधारण लगायतले भजनकीर्तन गर्नुका साथै भगवान् जगन्नाथको मूर्ति बोकेर रथयात्रा गरेका हुन् । जगन्नाथको रथयात्रा भजनकीर्तनसहित मन्दिर परिसरमा परिक्रमा गराइएको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ । सर्वसाधारण सबैले जगन्नाथको दर्शन गरुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको श्रावण शुक्लपक्ष द्वादशी तिथिका दिन जगन्नाथको रथयात्रा गराउने प्रचलन रहिआएको छ ।
विगतमा एक, दुईजना व्यक्तिले पनि साफा लिएर मन्दिरको दर्शन गर्न आएमा भगवान् जगन्नाथको दर्शन गराइदिने गरिएको हुँदा यसबाट तँछाडमछाड हुने र जसले जतिपटक पनि ल्याउन सक्ने भएकाले यस्तो कार्य रोक्न हरेक वर्षको एकपटक मात्रै प्रत्यक्ष दर्शन गर्ने व्यवस्था मिलाइएको हो ।
श्रावण शुक्ल द्वादशीमा रथयात्राको कार्यक्रम आयोजना गरी सोही दिन सबैलाई भगवान् जगन्नाथको पनि दर्शन गराइदिने र साफालगायत कपडा फेरिदिने प्रचलन कायम गरिएको गुठी सञ्चालन तथा व्यवस्थापन समितिका सचिव निलकण्ठ शर्माले जानकारी दिनुभयो । भगवान् जगन्नाथको रथयात्राको कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योती लामिछानेले नगर क्षेत्रभित्र रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नका लागि जोड दिइएको बताउनुभयो।
उहाँले जगन्नाथ मन्दिरको महत्व ऐतिहासिक रहेको भन्दै नगरपालिकामार्फत मन्दिरको विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो। बेनी नगरपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जगन्नाथको विकासका लागि नगरपालिकाबाट प्राथमिकता दिइएको बताउनुभयो ।
कार्यक्रममा बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र जनकल्याण मावि पुलाचौरका अध्यक्ष गोपाल बानियाँले जगन्नाथको विकासमा जोड दिनुभयो । कार्यक्रमको अवसरमा विव्यस अध्यक्ष बानियाँले आफ्ना छोरा डायमन्ड बानियाँले युकेबाट पठाएको नगद ६० हजार रुपैयाँ मन्दिरको व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो ।
यसैगरी स्थानीय व्यक्तित्व राजेन्द्र बानियाँले जगन्नाथ मन्दिरमा एकलाख रुपैयाँ बराबरको घण्टी चढाउने घोषणा गर्नुभएको छ । रथयात्रा कार्यक्रममा पण्डित दण्डपाणि शर्माले स्वस्तीवाचनसहित प्रवचन सुनाउनुभएको थियो ।
सरकारी भोजको समेत आयोजना गरिएको रथयात्रा कार्यक्रममा कुल ४३ पाथी चामलको खिर पकाइएको थियो भने जगन्नाथ आमा समूह र युवा क्लबले स्वयंसेवा गरेका थिए । रथयात्रामा सहभागी भई जगन्नाथको दर्शन र पुजा गर्न साविक धौलागिरि अञ्चलसहित विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजनहरु गाजने पुगेका थिए ।
जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिका कोषाध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षता, सचिव निलकण्ठ शर्माले प्रगति प्रतिवेदन प्रस्तुत र मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले स्वागत गर्नुभएको औपचारिक कार्यक्रमको जनकल्याण माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक शिव बानियाँले सञ्चालन गर्नुभएको थियो ।
जगन्नाथ मन्दिरको ऐतिहासिक पर्वत राज्यका तत्कालीन राजा दिलिपबम मल्लले सन् १५६० को दशकमा भारतको उडिसा राज्यमा गएर जगन्नाथ भगवानको मूर्ति ल्याई मन्दिरको स्थापना गरेको किम्बदन्ती छ ।
सोही समयदेखि नै गाजनेमा घरपालुवा कुखुरा, संगुर, बंगुर तथा अवैध घरेलु मदिरा उत्पादनमा लगाइएको रोक अहिलेसम्म पनि कायम रहेको छ । आजभन्दा ५ सय २० वर्ष पुरानो जगन्नाथधाम (मन्दिर) भित्र भगवान् जगन्नाथ, डिम्ब महाराज, गणेश, राम, लक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहु लगायतका मूर्तिहरु रहेका छन् । मन्दिरमा दैनिक रुपमा नित्य पुजाआजा हुँदै आएको छ ।

Leave a Reply