म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा सदरमुकाम बेनीमा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा गएको आर्थिक वर्ष २०७९÷०८० मा बेनी नगरपालिका क्षेत्रमा सञ्चालित स्वास्थ्यतर्फका कार्यक्रमहरुको पालिकास्तरीय वार्षिक समीक्षा गरिएको हो ।

गत एक वर्षको अवधिमा बेनी नगरपालिका क्षेत्रमा स्वास्थ्य शाखा र स्वास्थ्यचौकीमार्फत समुदायस्तरमा सञ्चालित कार्यक्रमहरुको वार्षिक समीक्षा तथा चालु वर्षको योजना निर्माणको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विषयगत शाखा र स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका संघसंस्थासँग अन्तत्र्रिmया तथा छलफल समेत गरिएको बेनी नगरपालिकाले जनाएको छ ।

बेनी नगरपालिकामा स्वास्थ्यको जनशक्तितर्फ स्वीकृत दरबन्दी कुल ४५ जना रहेकोमा पदपूर्ति ३३, स्थायी ३०, करार दरबन्दी १३, कार्यक्रमतर्फ करार ७, अन्यत्र काजमा रहेका २ र अध्ययन विदा लिएका २ जना छन् । गतवर्ष बेनी नगरपालिकाको स्वास्थ्य शाखातर्फ कुल ६४ लाख रुपैयाँ बजेट विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न विनियोजन भएको थियो ।

त्यसमध्ये घरघरमा स्वास्थ्यकर्मी परिचालन, असहाय–अशक्त–विपन्न, ७० वर्ष उमेर नपुगेका र महिला स्वास्थ्य स्वयंसेविकाहरुको स्वास्थ्य बीमा, नसर्ने रोगको स्क्रिनिङ क्याम्पलगायत कार्यक्रमहरु सञ्चालन भएको थियो ।

बेनी नगरपालिका क्षेत्रमा १५ देखि ५९ महिनासम्मका १३ सय २६ जना बालबालिकाहरुले पूर्णखोप लगाएको र १५ महिना मुनिका ४ सय ६ जना बालबालिकाहरुले नियमित खोप लिइरहेको सुनिश्चित गरी गएको जेठ ५ गते बेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चित भएको पालिका घोषणा गरिएको थियो ।

यसैगरी पोषणतर्फ हजार दिनका आमालाई ट्र¥याक गर्ने गुगल सिट तयार गरी अनिवार्य सेवामा ल्याउन प्रयास गरिएको छ भने गण्डकी प्रदेश सरकारको कार्यक्रमअन्तर्गत लक्षित समूहका १ सय १५ जना गर्भवती महिलाहरुलाई नौहजार रुपैयाँको दरले पोषण खर्च वितरण गरिएको समीक्षा गोष्ठीमा जानकारी गराइएको छ ।

त्यस्तै कुपोषित बालबालिकाहरुको उपचार गर्नका लागि घतान र रत्नेचौर स्वास्थ्यचौकीमा ओटिसी सेन्टर स्थापना गरी सञ्चालन गरिएको छ । एकीकृत नवजात तथा बालरोग व्यवस्थापनसम्बन्धी स्थलगत अनुशिक्षण, सेवाको पहुँच र उपभोग कम भएका समुदायमा समता तथा पहुँच कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

सुरक्षित मातृत्वतर्फ गर्भवती ग्रामीण अल्ट्रासाउण्ड, पूर्व प्रसुति स्याहार, गर्भवतीलाई आइरन–क्याल्सियम, जुकाको औषधी र टिडी खोप, संस्थागत सुत्केरी, नवशिशु स्याहारसुसारलगायत कार्यक्रम भएका छन् ।

वार्षिक समीक्षा गोष्ठीमा रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर, घतान र पात्लेखेत स्वास्थ्यचौकीबाट प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले गतवर्ष नगरपालिकाबाट सञ्चालित स्वास्थ्यका कार्यक्रम, योजनालगायत समग्र विषयमा आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले नगरपालिकामार्फत सञ्चालित स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुको प्रभावकारितामा जोड दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बेनी नगरपालिका क्षेत्रमा स्वास्थ्य क्षेत्रलाई प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने बताउँदै यसका लागि स्वास्थ्यकर्मीहरु संवेदशील बन्नुपर्ने बताउनुभयो । कार्यक्रम बेनी नगरपालिकाका सिनियर अनमी लिला गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

सोही कार्यक्रमको अवसरमा नगरपालिकाको तर्फदेखि सरुवा भएर जान लाग्नुभएका स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साललाई विदाई गर्नुका साथै नवआगन्तुक कार्यालय प्रमुखलाई स्वागत गरिएको थियो । त्यस्तै रत्नेचौर स्वास्थ्यचौकीमा ३० वर्ष लामो सेवा प्रदान गरी स्वच्छिक अवकाश लिनुभएकी स्वास्थ्यकर्मी सरितादेवी सापकोटालाई दोसल्ला ओढाउनुका साथै प्रमाणपत्र प्रदान गरी सम्मानसहित विदाई गरिएको थियो ।

Leave a Reply