मेरो घर म्याग्दीको बेनी नगरपालिका ५ डडुवा हो । हाल म पोखरामा बस्छु । जन्मिदा एउटा आखा सद्दे थियो । घरको आर्थिक अवस्थाले उपचार संभव नभएकाले ९ वर्षको उमेरमा दुवै आखाको ज्योति गुमाउन बाध्य भए ।
आँखा नदेखे पनि मोबाइल र ल्यापटप चलाएर दुनियाँ चहार्छु । ४ सय दृष्टिविहीनलाई कम्प्युटर तालिम दिइसकेको छु । यो क्रम जारी छ । दृष्टिविहीनलाई कसरी रोजगार र स्वरोजगारयुक्त बनाउन सकिन्छ भन्नेमै मेरो ध्यान केन्द्रीत छ । म अहिले ३९ वर्षको भए ।
मैले बागलुङमा पढे । पोखरालाई कार्यक्षेत्र बनाएको छु । समावेशीकरण सशक्तीकरण केन्द्र नेपाल संस्थामार्फत दृष्टिविहीनलाई सूचना प्रविधि र अंग्रेजी भाषा तालिम दिने अभियानमा छु । कम्प्युटरमा ग्राफिक्सबाहेक कुनै पनि काममा रोकिन्न । अहिले म राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशको अध्यक्ष छु । साथै नेपाल नेत्रहीन संघको केन्द्रीय सूचना प्रविधि विभागको संयोजक पनि छु । अपांगता भएका व्यक्तिको अधिकारको लागि लडिरहेको छु ।
सुरुमा एउटा आँखा देख्थे । ६ वर्षको उमेरमा स्कुल भर्ना भएर ३ कक्षासम्म पढे । त्यसपछि सद्धे (दाहिने) आँखामा पनि समस्या आयो । छिमेकी जिल्ला बागलुङमा स्वास्थ्य शिविर संचालन भएको थाहा पाएपछि मलाई अभिभावकले लगे । तर उपचार संभव भएनछ । साथीभाइ स्कुल गइरहँदा म रोकिए ।
साथीभाइले जिस्काउन थाले । छिमेकीले पनि अव केही गर्न नसक्ने भयो, जिन्दगी कसरी कटाउला भन्थे । तर घर परिवारबाट भने सकरात्मक व्यवहार भयो ।
अभिभावकले दृष्टिविहीनले पढ्ने स्कुलको खोजी गर्दै जादा बागलुङको बलेवास्थित जनताधन माविबारे थाहा भएछ । २०४९ पुसमा लगेर ४ कक्षामा भर्ना गरिदिनु भयो । पढ्ने विषय एउटै तर, अक्षर र पढ्ने माध्ययम फरक थियो । गणीतको ज्यामिती र चित्र कोर्नबाहेक अरु पढाइ ब्रेललिपीमा गर्न थाले ।
बेलाबेलामा आउने विदेशी स्वयंसेवकसंगको संगतले अंग्रेजीमा पनि पोख्त बनायो । निरन्तर अभ्यास र इन्टरनेटको प्रयोगले झनै सघायो । सानै उमेरदेखि दृष्ट्रिविहीन हुँदा निरासा छाउनु स्वभाविक थियो । तर चूनौति र अवसरको रुपमा लिई अगाडि बढेकाले सफल भएको अनुभूति गरेको छु । आखा देख्दिन भनेर कसैले पनि हरेश खान हुदैन । सबै काम गर्न सक्षम भइन्छ भन्ने सन्देश दिन चाहन्छु ।
जनताधन माविबाट एसएलसी र बलेवाकै पैयुंपाटा बहुमुखी क्याम्पसमा मेजर अंग्रेजी लिएर शिक्षा विषयमा १२ कक्षा उत्तीर्ण गरे । आर्थिक अवस्थाले पढाइलाइ निरन्तरता दिन पाइन । स्वयंसेवकको रुपमा आएकी बेलायतकी फ्लोरेन्सले २०६० सालमा इलामको बालमन्दिर प्राविमा खोलेको दृष्टिविहीन स्कुलमा पढाउन गए । ४ वर्ष इलाममै बसे ।
राष्ट्रिय अडियो पुस्तकालय बनाउने योजना बनाएर सहयोगकीको खोजी गरे । सन् २००५ मा नेदरल्यान्डको फोर्स फाउन्डेशन संस्था भेटियो । त्यतिबेला माओवादी युद्ध भएका कारण काम हुन सकेन । युद्ध सकिएपछि सन् २००७ मा फाउन्डेशनबाट पहिला पेश गरेको प्रस्तावप्रति इच्छुक रहेको भए हामी हेर्न आउछौ भन्ने मेल आयो । हुन्छ भनेपछि उनीहरु आए । पोखराको पृथ्वीनारायण क्याम्पसमा क्यासेटमा अडियो रेकर्ड गर्ने, सुनेर पढ्ने पुस्तक तयार पार्ने काम हुन्थ्यो । फाउन्डेशनले सोही अडियो पुस्तकालयलाई स्तरोन्नति गरी राष्ट्रिय अडियो पुस्तकालय बनाउने करीव २३ लाख रुपैयाँ आर्थिक सहयोग ग¥यो । इलामबाट फर्किएर २०६४ मा पुस्तकालय संयोजक भएर डेढवर्ष काम गरे ।
इलाममै रहेका बेला एक विदेशी साथीले मलाई ल्यापटप दिए । त्यही ल्यापटपले जिन्दगी बदलेको अनभूति गरेको छु । ल्यापटप चलाएको अन्य दृष्टिविहीनले चासो राख्दै सिक्ने इच्छा जनाएपछि सहयोगी खोजेर तालिम दिन सुरु गरेको हु । नेदरल्यान्डकै अर्को एक संस्थाले पोखराको मालेपाटनमा महिलालाई मात्र कम्प्युटर सिकाउने थाहा पाएर दृष्ट्रिविहीनलाई पनि सिकाउने मौका दिनुप¥यो भनेपछि २० दृष्टिविहीनलाई ३ महिना कम्युटर सिकाउने अवसर संस्थाले दियो । उक्त संस्था अहिले अस्तित्वमा छैन ।
प्रोजेक्ट प्लानिङ म्यानेजमेन्ट, आर्थिक स्रोतको पहिचान र नेतृत्व विकाससम्बन्धि सिकाउने भारतको केरलास्थित कान्ठारी नामक संस्थामा गएर एकवर्षे कोर्ष पुरा गरे । उत्कृष्ट अवार्डसहित नगद पनि पाए । सन् २०१० मा फर्किएर केन्द्र स्थापना गरेको हु । सन् २०११ मा मलेसियामा १५ दिने एडभान्स कम्प्युटर प्रोग्रामीङ र सन् २०१३ मा भारतको बैंगलोर इनेवल इन्डिया संस्थामा कम्प्युटरका माध्ययमबाट दृष्ट्रिविहीनलाई कसरी रोजगारयुक्त बनाउने भन्ने १५ दिने तालिम लिए । मैले राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थालाई विविध विषयमा तालिम दिने र परामर्शदाताको रुपमा पनि काम गर्छु । अग्रेजी र नेपाली भाषाको दोभासेको पनि काम गर्छु ।
बागलुङ रायडाँडाका शालिग्राम गौतमले कम्प्यूटरको किबोर्ड छमाएर तिमि पनि सिक्न सक्छौ भनेपछि म अघि बढेको हु । काठमाडौंको किर्तिपुरमा टेक्निकल स्कील डेभलपमेन्ट सेन्टर फर ब्लाईन्ड एन्ड डिसेवल नामक संस्थामा पुगेर कम्प्युटर, भाषा र कार्यालय व्यवस्थापनसम्बन्धि विषयमा ६ महिना पढे ।
आँखा बन्द हँुदा कठै बिचरा भन्ने उत्तिकै थिए । अहिले आफु सक्षम भएपछि कठै भन्नेहरु कुनै न कुनै रुपमा ठोक्किन आइपुग्दा आनन्द लाग्छ । दृष्ट्रिविहीन जिन्दगी कुनै ठूलो अपूर्णता नभइ सामान्य नै हो भन्ने बुझ्नपर्छ । मेहनत र आत्मविश्वासनै सफलताको मुख्य कडी हो ।
एउटै विद्यालयमा पढ्ने सुस्मा थापामगरसंग विहे गरे । सुस्मा पनि दृष्टिविहीन छन । उनले पोखराकै अमरिसंह माविको प्रावि तहको दृृष्टिविहीन कक्षामा पढाउछिन । छोरा भिजन १० कक्षा र छोरी भियाना २ कक्षामा पढ्छन ।
अपांगता भएका व्यक्तिले म, समाज र परिवारको फरक सदस्य नभएको भन्ने भावनाको बिकास गर्नुपर्ने मेरो भनाइ छ । पछिल्लो समय नयाँनयाँ ठाउमा घुम्ने, अपांगता भएका व्यक्तिका विषयमा असल अभ्यास र राष्ट्रिय अन्तराष्ट्रिय कानुनका बारेमा बुझिरहेको छु । सामाजिक क्षेत्रमा योगदान पु¥याएवापत वल्र्ड आइडल अफ द ब्लाइन्ड २०२१ अवार्ड पाएको छु ।
दृष्टिविहीन खोमराज शर्मा सुवेदीसंगको कुराकानीमा आधारित । ढोरपाटन दैनिक