श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने पर्व रक्षाबन्धन अर्थात जनै पूर्णिमा यो वर्ष भाद्र माषमा पर्न गयो। पुरुषोत्तम माषका कारण यस्तो भएको हो। मन्त्रको भावार्थ थाहा नभए पनि केटाकेटीमा गुरुले वाचन गर्दै भनेको यो मन्त्र खुब मन पथ्र्यो।
‘‘येन बद्धो बलीराजा, दानवेन्द्रो महाबल।
तेन त्वां प्रति बध्नामि, रक्षे मा चल मा चल।।
पूर्णिमा पर्व भन्दा अगाडि मनाइने नागपञ्चमी पनि रमाइलो लाग्थ्यो। त्यसबेला भन्ने गरिन्थ्यो नागपञ्चमीबाट हिउँद लाग्छ, श्री पञ्चमीबाट वर्षा सुरु हुन्छ। यसको अर्थ केटाकेटीले बुझ्ने कुरो थिएन, बुझिदिन्थे। श्रावण लाग्यो अब पाँचवटा कुरा खानु हुँदैन भनिन्थ्यो, त्यसबेला भनेको चुडन्ति, (निंग्रो), बुडन्ति (माछा), उडन्ति (परेवाको मासु), मुला लगायत चार कुरा त खानुहुँदैन भनेको सम्झन्छु। पाँचमध्येमा पर्ने कुरा अर्को के थियो त्यो भने सम्झनामा छैन। वर्षा माषमा उल्लिखित वस्तु खानलाई निषेध गर्नु स्वास्थ्यको दृष्टिले होला भन्ने अहिले लाग्छ।
जनै पूर्णिमा अर्थात रक्षा बन्धनको विषयमा वामन पुराणको भनाइमा, भगवान विष्णुले वामन अवतार लिएर बलि राजासँग तीन पाउ जमिन दानमा माग्छन्। छलपूर्वक मागिएको दानबाट बलि राजाको सबैथोक लिन्छन्। राजासँग केही पनि बाँकी रहँदैन। उनी शून्यको अवस्थामा पुग्छन्। त्यसपछि बलि राजाले भगवान विष्णुसँग एउटा वरदान माग्छन्। वरदानमा बलिले भगवान विष्णुलाई आफ्नै साथमा पातलमा बस्न वर माग्छन्।
भगवानले वामनले भनेकै वर दिन्छन्। त्यसपछि आफूले दिएको वरदान पुरा गर्न बलिका साथ विष्णु भगवान पातलमा जान्छन्। त्यहीँ बस्छन्। त्यसले लक्ष्मी हैरान हुन्छिन्। त्यसपछि लक्ष्मी आफ्नो भेष परिवर्तन गरेर विष्णुलाई बलिबाट मुक्त गर्न भनेर पातल जान्छिन्। त्यसपछि बलिलाई लक्ष्मीले आफ्नो दाजु वा भाइ मानेर रक्षासूत्र बाँधदिन्छिन्, त्यसपछि बलिले लक्ष्मीलाई आफ्नो माग वा इच्छा राख्न भन्छन्। लक्ष्मीले विष्णुलाई आफ्नो साथ बैकुण्ठ लानका लागि माग गर्छिन्। बलिले त्यसपछि विष्णुका साथ लक्ष्मीलाई बिदा गर्छन्।
अर्को पौराणिक कथाअनुसार देवासुर संग्राममा देवताहरू दैत्यबाट पराजित हुन्छन्। आफ्नो विजयको कुनै संभावना नभएपछि उनीहरू देवराज इन्द्रकहाँ जान्छन्। त्यसपछि दुःखी, पराजित तथा चिन्तित इन्द्र देवगुरु बृहस्पतिसँग भन्छन्– यस समय म यहाँ सुरक्षित छुइन ! यहाँबाट कतै निक्लिने अवस्था पनि मेरो छैन। यस्तो अवस्थामा युद्ध गर्नुबाहेक अर्को कुनै विकल्प छैन। तर युद्धमा अहिलेसम्म पराजय नै भैराखेको छ।
फेरि पराजय हुँदैन भनेर विश्वास पनि छैन। उनीहरूबीचको संवाद इन्द्राणीले सुन्छिन्। त्यसपछि भन्छिन्– ‘‘भोलि श्रावण शुक्ल पूर्णिमा हो। म नियमपूर्वक रक्षासूत्र तयार गर्दछु त्यसलाई स्वस्तिवाचनका साथ ब्राह्मणको हातबाट ग्रहण गर्नु। यसबाट अवश्य पनि विजय हुनेछ। दोस्रो दिन इन्द्राणीले भनेअनुसार स्वस्तिवाचनका साथ इन्द्रले रक्षाबन्धन गर्दछन्। त्यसबाट उनलाई आत्मविश्वास बढ्छ। युद्धमा विजय पनि गर्दछन्। त्यसपछि यो दिन पर्वको रूपमा मनाउन थालिएको हो भन्ने भनाइ पनि छ।
रक्षाबन्धनको पवित्र पर्व भद्रारहित अपराह्न व्यापिनी तिथिमा मनाइन्छ। शास्त्रको मत
छ– पूर्णिमा दुई दिनको हुन्छ भने पहिलो दिनलाई महŒव दिनुपर्दछ। त्यस दिन भद्रा पर्छ भने त्यसलाई त्यागी दिनुपर्छ। किनकि ज्योतिष तथा धर्मशास्त्रको मत छ कि त्यस मुहूर्तमा रक्षा सूत्र बाँध्ने हो भने राजा (शासक) लाई अनिष्ट हुन्छ। यो ज्योतिष विधामा पर्ने क्षेत्र हो। यसको पुष्टि अथवा खण्डन ज्योतिष विज्ञबाट मात्र हुन सक्छ।
‘‘भद्राया द्धे न कर्तव्ये श्रावणी फाल्गुनी तथा।
श्रावणी निपतिं हान्ति ग्रामं दहती फाल्गुनी।।
यसै दिन यज्ञो पवित अर्थात जनै पूर्णिमाको पर्व मानिन्छ। ऋषि तर्पणीको साथै जनै पूजा, होम यज्ञादि गरेर पुरानो जनै विर्सजन गरेर नयाँ जनै लगाउने प्रचलन छ। गोसाइँ–कुण्डलगायत विभिन्न तीर्थस्थल यस दिन महŒवपूर्ण मानिन्छन्। मेला लाग्छ। यस पर्वसँग सम्बन्धित महाभारतमा पनि प्रसङ्ग, आउँछ। भगवान कृष्णले सुदर्शन चक्रको प्रयोगद्वारा शिशुपालको वध गर्दछन्। त्यसले उनको चोर औँलामा पनि चोट लाग्छ। त्यसपछि द्रौपदीले आफूले लगाएको सारी च्यातेर चोट लागेको कृष्णको औँलामा पट्टी बाँधिदिन्छिन्। त्यो दिन संयोगवश श्रावण शुक्ल पूर्णिमाकै दिन परेको थियो भन्ने पनि छ।
यो पर्वमा विशेषतः भारत तथा नेपालको तराई क्षेत्रमा राखी पर्वका रूपमा उल्लासका साथ मनाइन्छ। दाजुभाइ र दिदीबहिनीबीच सम्बन्धमा प्रगाढता तथा प्रेम दर्शाउने पवित्र चाड मानिन्छ। पारिवारिक सम्बन्धमा मात्र नभएर कूटनीतिमा पनि यस पर्वले महŒवपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ।
भारतका मुगलकालीन शासक हुमायुँलाई चितौडकी रानी कर्णवतीले श्रावण शुक्ल पूर्णिमाकै दिन पारेर राखी पठाएर उनलाई माइती बनाएकी थिइन्। त्यसरी राखी पठाउनुको कारण थियो– चित्तौडमाथि बहादुर शाहले आक्रमण गरेका थिए। त्यसैले आफूलाई सहायता गर्न हुमायुँलाई आग्रह गरेकी थिइन्। हुमायुँले पनि संकटको समयमा सहायता गरेका थिए तर त्यो कामयावी भने हुन सकेन।
दाजुभाइ तथा दिदीबहिनीको सम्बन्ध प्रगाढ तुल्याउने यस चाडले सम्बन्ध निर्माणमा पनि भूमिका खेलेको पाइन्छ। भारतका चार छायाँवादी साहित्यकारमा जयशंकर प्रसाद, सूर्यकान्त त्रिपाठी निराला, सुमित्रा नन्दन पन्त र माहादेवी वर्मालाई मानिन्छ। त्यसमा छायाँवादको क्रमशः प्रसाद, निराला र पन्तलाई ब्रह्मा, विष्णु र महेश भन्ने गरेको पाइन्छ। रक्षाबन्धन सूत्रकै कारण महादेवी बर्मा र सूर्यकान्त त्रिपाठीका बीच चेली र माइतीको सम्बन्ध कायम थियो। रक्षाबन्धन पर्वका दिन सूर्यकान्त त्रिपाठी, राखी बाध्न महादेवी बर्माको घरमा जान्थे। धार्मिक, सांस्कृतिक मात्र नभएर यो पर्वले सामाजिक पुनर्ताजगीसमेत बनाउँछ। सम्बन्धप्रतिको दायित्व बोधसमेत गराउँछ।
श्रावणमा प्रकृति संरक्षणका लागि स्थापित केही पक्ष अझ उल्लेख्य छन्। जम्मु–कश्मीरमा यसै महिनामा देविका नदीको किनारमा ‘रुटटर रहार्ड’ पर्व मनाउने प्रचलन छ। यसमा विवाहित छोरी माइत आउँछन्। त्यसपछि आफ्नो बाबु, दाजुभाइ, ठूलो बुबा, काकाको नाममा छोरी चेलीले वृक्ष रोप्छन्। त्यसपछि जस–जसको नाममा ती बिरुवा रोपिएका छन् उनीहरूले त्यसको संरक्षणको जिम्मा लिन्छन्। त्यति मात्र होइन, श्रावण सुरु हुनु भन्दा पहिला नै पोखरी, तलाउ, सफाइ गर्ने, त्यसमा पानी भर्ने। त्यसको वरिपरि बाँस रोप्ने प्रचलन पनि थियो।