म्याग्दीका ग्रामिण क्षेत्रमा गाँजा सेवनकर्ता ह्वात्तै बढेको भन्दै प्रहरीले समुदायकै सहयोगमा धमाधम गाँजा फडानीलाई तिब्रता दिएको छ । सार्वजनिक र ब्यक्तिगत जग्गामा उुम्रिएको गाँजालाई खोज र नष्ट गर्ने अभियानमा जुटेको प्रहरीले विभिन्न स्थानमा करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको गाँजा फडानी गरेको छ ।

प्रतिबन्धित लागुऔषधको सूचीमा राखेको गाँजा वैधानिक बनाउनुपर्ने बहस भइरहेको अवस्थामा प्रहरीले सार्वजनिक स्थान, ब्यक्तिको घरदैलोमा रहेका गाँजा समेत खोजीखोजी नष्ट गर्ने अभियान नै सञ्चालन गरेको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले स्थानीय जनप्रतिनिधिसहित उपस्थितीमा गाँजा नष्ट गर्ने अभियान सञ्चालन गरेको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए । ‘गाँजा सेवनकर्ताहरु नै लागु औषधको प्रयोगकर्ता भइरहेका छन्, यो अभियानमा समुदायको पूर्णरुपमा साथ भएकाले प्रभावकारी देखिएको छ’ प्रनाउ कुँवरले भने ।

उनले समुदायस्तरमा रहेका विभिन्न संघसंस्थाले समेत गाँजाको बोट फैलिएको स्थान देखेपछि प्रहरीलाई जानकारी दिने गरेको बताए । ‘यो अभियानले अझै तिब्रता पाउँछ,‘गाँजा लागूऔषध हो, यसको सेवन र बिक्री बितरण प्रतिबन्ध छ’ प्रनाउ कुँवरले भने। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरू भएको अभियानमा म्याग्दीका सबै स्थानीय तहमा ठूलो परिमाणमा गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीले गाँजाको बोट देखेमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

सामाजिक सञ्जालमा भने प्रहरीको यो अभियानका बारेमा विभिन्न प्रतिक्रिया आउने गरेको छ । गाँजा भन्दै प्रहरीले अचारमा प्रयोग हुने भाँगोको बोट समेत नष्ट गरेको समेत बताइएको छ । म्याग्दीमा ब्यवसायीक भन्दा पनि प्राकृतिक रुपमा उम्रिएको गाँजा ब्यवस्थापनमा चुनौती रहेको जनप्रतिनिधिको भनाई छ । समुदायस्तरमा संकलन गरिएको गाँजाको बोटलाई तत्कालै आगो लगाएर नष्ट गर्ने गरिएको छ ।

Leave a Reply