म्याग्दीको अति विकट मानिएको धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक स्याउ फलेको छ । समुन्द्री सतह देखी ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गूर्जामा उच्च घनत्व जातका इटालियन जातको स्याउ फलेको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

‘स्याउको परीक्षण उत्पादन सफल भएको छ, अब गूर्जामा स्याउ खेती गर्न सकिन्छ’ वडा अध्यक्ष छन्त्यालले भने । गुर्जाको हिमाली कृषि सहकारी संस्थाले गाउँपालिका र कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा १० रोपनी जग्गामा गरिएको छ ।

म्याग्दीमा पहिलोपटक स्याउ खेती गरिएको गूर्जामा यसबर्ष फलेको स्याउ रसिलो भएको बताइएको छ । उच्च हिमाली क्षेत्र, लामो समयसम्म हिमपात हुने र चिसो मौसमका कारण समेत माटो परीक्षणको क्रममा स्याउ उत्पादन हुने देखिएपछि कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा २५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा बिरुवा लगाइएको थियो ।

गुर्जामा स्याउखेतीका लागि धवलागिरी गाउँपालिकाले समेत बजेट विनियोजन गरेको थियो । गुर्जाको नाइलीबाङ भन्ने स्थानमा स्थानीय कृषकले पाखोबारीमा स्याउ लगाएका छन् । करिब एकदशक अगाडीदेखि नै स्थानीयले स्याउ खेतीको प्रयास गरेपनि सफलता हासिल भएको थिएन ।

Leave a Reply