सोच र सभ्यताले अस्तीत्व निर्देशित गरोस या अस्तित्वले सोच र सभ्यता जन्माओस, केहि पद्धति इतिहासमा यसरी विकसित भएका छन जस्लाइ पल्टाएर हेर्नुको औचित्य छैन । विश्वभर अभ्यासमा रहेका केही प्रणालीहरु परिस्कृत हुन सकेपनि तिनको अवधारणा जिवनको आधारभूत पक्ष जस्तै हुन ।

उदाहरण: उच्च तहसम्मको अध्ययन र शैक्षिक योग्यता । चाहे जुनसुकै शैली, प्रणाली र पद्धति किन नअपनाइयोस के अब अक्षर नै चिन्नुनपर्ने सभ्यता जन्मिन्छ र? शिक्षित र साक्षर हुनु अपरिहार्य भैसक्यो फेरिपनी पद्धति र प्रणालीलाइ लिएर केही विषयमा बहस आवश्यक देखिन्छ ।

विकसित मुलुकहरु के कसरी र कुन ढंगबाट शैक्षिक अभ्यास गर्छन भन्ने अनुभवका आधारमा धेरैले नेपालको शैक्षिक प्रणाली अनि पद्धतिलाई व्याख्या गरे । शिक्षा विद, सरोकारवाला नीतिनिर्माता , शिक्षक, बौद्धिकवर्ग लगायतले यस विषयमा धेरै धारणाहरु राख्छन, सुधार र सम्भावनाका पक्ष देखाउछन ।

तर एक विद्यार्थीको रुपमा नेपाल भित्र बस्नु, पढ्नु अनि राम्रा/ नराम्रा भोगाइहरु संगाल्नु के? कस्तो? भन्ने कुरा ओझेलमा छ । शिक्षाको लागि विदेशिने प्रचलन, प्रतिस्पर्धात्मक मार्केट, चरम निराशा र सम्भावनाको द्वन्द, अवसर र चुनौतिको अवस्था लगायतका यावत कुराहरु बिच नेपाल र उच्च शिक्षाको अनुभव कस्तो भनेर विद्यार्थीको भोगाइको महत्त्व के?

शिक्षा क्षेत्रसंग सम्बन्धित रहेर राखिने हरेक पक्षका धारणाहरु महत्त्वपूर्ण हुन यद्यपि एउटा विद्यार्थीले नेपालमा बसेर उच्च शिक्षा लिदै गर्दा त्यसलाइ कुन रुपमा बुझेको छ भन्ने विषयलाइ पनि नजरअन्दाज गरिनु हुदैन । विद्यार्थी मनोविज्ञान के? उसले उच्च शिक्षाका निम्ति विदेशिनुको विकल्प नेपाल मै पढ्ने देख्नुमा सकारात्मक पक्ष के र सो निर्णय पश्चातका भोगाइ के? भनेर चासोको रुपमा खासै हेरिदैन ।

सर्वविदितै छ, उच्च शिक्षाका निम्ति विदेशिने प्रचलन पछिल्ला केहि वर्ष यता कुन रुपमा बढ्दो छ भनेर । आर्थिक वर्ष २०७७/७८ मा २७ हजार ९ सय ७८ जनाले विदेशिनका लागि NOC लिएको तथ्यांक छ । सोही वर्ष शिक्षा क्षेत्रबाट मात्रै २४ अर्ब ९६ करोड बाहिरिएको रेकर्ड नेपाल राष्ट्र बैंकमा भेटिन्छ ।

अष्ट्रेलिया, क्यानडा, अमेरिका, जापान लगायत दर्जन बढी यस्ता देश छन जहाँ जानेको जमात अत्याधिक छ । अवस्था यस्तो सम्म छ कि कक्षा ११ मा भर्ना हुँदै गर्दा एक विद्यार्थी १२ पछाडी विदेशिन्छु भन्ने कुरामा मनोबैज्ञानिक रुपमा तयार भैसकेको हुन्छ ।

यो परिपाटी बिच नेपाल बसेर पढ्नु, पढ्दै गर्दा आफ्नो निर्णयमा पछुताउनु वा सहि निर्णय गरेको भान हुनु अनि विविध भोगाइहरुबाट गुज्रिनुको अनुभव निष्कर्षमा: मलाइ चाहिँ केही हदसम्म तितो र ग्लानियुक्त लाग्छ । अन्य सबै विद्यार्थीको आवाज समेट्न नसकेपनी “एक विद्यार्थी” को अनुभवले यहि भन्छ : कतै गल्ती गरेँ कि?

मैले एक विद्यार्थीको रुपमा करिब १३ वर्ष निजि बोर्डिङ,२ वर्ष +२ निजि कलेज र त्यस यता ४ वर्ष निजि कलेज( ब्याचर तेस्रो वर्षको अन्तिम सम्म, एक वर्ष कोरोना अवधी समेत गरि) करिब १९ वर्ष आजसम्म औपचारिक शिक्षाको लागि खर्चेको रैछु ।

यस आधारमा निजि वा सरकारि कलेज साथै विषयगत रुपमा पढेका विषयका आधारमा मेरा अनुभव अरु परिवेश र विषयको विद्यार्थीसंग फरक रहन गएपनी समग्रमा विद्यार्थी कै रुपमा केहि समानताहरु अवश्य छन जुन हरेक विद्यार्थीले भोगेको हुन्छ । सामान्यतया +२ सम्मको अध्ययनको विकल्प हामिसंग छैन तर त्यसपश्चातको निर्णयमा हामि स्वतन्त्र छौं: विदेश जाने या नेपालमा पढ्ने भनेर ।

ब्याचलर डिग्री पश्चातको अवस्था के भनेर बुझ्न बाकी छ यद्यपि अब यसको उत्तरार्ध तर्फ पुग्दै गर्दा अन्ततः मैले यो स्तरको ग्लानी, पश्चात् भनौं या निरिहताको अनुभव गर्नुमा दोषि को? म, मेरो परिवार? मेरो कलेज? मेरो समाज? मेरो देश? वा हाम्रो समग्र वातावरण ? मैले Bachelor of Arts अध्ययन गर्दै गर्दा नमिठो अनुभव यस आधारमा पनि गरेको छु कि हामिकहा बौद्धिक भनिने कथित बुद्धिजिविहरु कुन विषय पढ्दै छ भन्ने आधारमा विद्यार्थीको बौद्धिक स्तरलाइ मापन गर्छन

। विद्यार्थीको रोजाइ, बुझाइ, क्षमता, योग्यता, भविष्यको योजना भन्दा कुन विषय पढ्नु जान्ने हुनु र कुन विषय पढ्नु कमजोर हुनु भन्ने मानसिकता हावी भेटिन्छ । यसले निश्चित हदसम्म विद्यार्थीलाई कमजोर बनाउछ ।

+२ सकेसंगै आफुसंगका साथीभाइहरुले विदेशिने निर्णय लिदै गर्दा मैले नेपाल बस्ने र पढ्ने निर्णय गर्नुमा केहि तत्वहरु कारक छन । हुन सक्छ कसैका निम्ति आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र, भाषागत ज्ञान, आर्थिक पक्ष लगायतका कारणले बाध्यात्मक रुपमा नेपाल बस्नुपनि स्वभाविक कारण हुन सक्छन ।

यो भन्दा परका अन्य कारणहरु: नेपाल बसेर अध्ययन गर्ने अनि नेपाल भित्रै सम्भावनाको खोजी गर्ने । मलाइ दोस्रो कारण सान्दर्भिक लाग्थ्यो । अवसर, सम्भावनाको हिसाबले नेपाल बसेर ब्याचलर अध्ययन गर्दा केही पनि नपाइने होइन । एउटा सुविधायुक्त कलेज पढ्दा राम्रो अध्ययनको वातावरण र आफ्नो अध्ययनमा निरंतरता दिन सकेको खण्डमा साधारण अवसरहरु भेटिन्छन ।

तर यो कुरा सत्य होकि देशको राजधानीमा बसेर पढ्ने विद्यार्थीले अलिकति सम्भावना देख्नुलाई समग्र रुपमा हेर्न सकिँदैन ।हामी देशको प्रतिष्ठित विश्वविद्यालयले अव्यवस्थित परिक्षा, नतिजा प्रकाशनमा त्रुटि गरेका खबर दिनहु पढ्दा र भोग्दा आजित हुनु हाम्रो दोषारोपण मात्र होइन, तितो यथार्थ हो ।

भलै यकिन तथ्यांक छैन तर एउटा अध्ययन गरेर हेरियो भने पछिल्लो समय त्रिभुवन विश्वविद्यालय प्रती अधिंकाश विद्यार्थीहरुको असन्तुष्टि स्पष्ट झल्किन्छ ।

म नेपाल बसेर मैले स्नातक अध्ययन पूरा गर्दा मैले प्राप्त गर्ने कुरा र मैले सोही अवस्थमा विदेशिएको भए हासिल गर्ने उपलब्धिको अन्तर कति रैछ भन्ने बोध समय सकिएपछी आउछ । भलै कसैलाइ निराशायुक्त लाग्ला, वास्तविक यहि नै हो ।

पाठ्यक्रम, शैली लगायतका विषयमा बहस गर्नलाइ शिक्षाविदहरु छन तर पढ्दैगर्दा विद्यार्थीमा जन्मिने चरम निराशालाइ हेर्ने कोइ भएन । +२ सम्मको अध्ययन पूरा गरिसकेको विद्यार्थी स्नातक तहमा ४ वर्ष पढ्नका निम्ति मात्रै समय खर्चदा उसको सीप, क्षमता , व्यक्तित्व विकास त परको कुरा कालान्तरमा आफैलाइ बेकार महसुस गर्ने स्थिति बनेको छ ।

धेरै विद्यार्थीमा आफुमा प्रतिस्पर्धामा उत्रिन सक्ने आत्मविश्वास र क्षमता होला र पनि परिवेश र वातावरणले कहिल्यै शसक्त महसुस हुन दिदैन ।

मध्यम वर्गिय परिवारबाट निर्वाहमुखी आम्दानिको भरमा नेपाल बसेर ब्याचलर डिग्री सकेपछी निकै प्रतिष्ठित मानिने निजामती सेवामा प्रवेश गरेर गरिने आम्दानी अनि निजि शैक्षिक संस्थामा महंगो शुल्क तिरेर पढेका विद्यार्थीको लगानीलाई न्याय गर्ने कसरी? अन्य निजि क्षेत्रमा एक त अवसरको अभाव त्यसमाथि न त स्थायित्व भेटिन्छ न ठूलो सम्भावना ।

चर्को शुल्क तिरेर निजि कलेज नपढ्ने सुझाव दिनुहुन्छ भने: सरकारी कलेजहरुमा पढाइ भन्दा बढी राजनिती हुन्छ भन्ने मानसिकता देख्नुभाको हुनुपर्छ र यदि यो गलत नै हो भने यसको बिजारोपन भयो किन अनि हुदैछ किन? प्रतिस्पर्धात्मक रुपमा निजि शैक्षिक संस्था अगाडि किन छन र यो सबैका निम्ति सर्वशुलभ हुदैन किन? विदेशिएको हकमा अध्ययन र आम्दानी दुवै सुनिश्चित हुने अवधिमा हामिले यहाँ हासिल गर्छौ के?

नेपालको पुरानो र प्रतिष्ठित विश्वविद्यालयबाट स्नातक अध्ययन सकेको प्रमाणपत्र भन्दा बढी एक विद्यार्थीले पाउछ के? यो अवधिमा उसले पाउनुपर्ने उपलब्धि नै यति हो र? अनि फेरि भोलिको बाटो अन्योलग्रस्त त छ नै । सफल मान्नु के लाई?परिक्षामा राम्रो अंकसंग उत्तीर्ण भएर आफ्नो जिविकोपार्जन भएपछी सफल भैन्छ?

विद्यार्थी सम्बन्धित विशेष कार्यक्रम, प्रतियोगिता, प्रशिक्षण लगायतका अवसरमा सहभागी भएर हेरेको पनि छु र पनि यस्तो लाग्छ कि साच्चैनै देशभित्र रहेर अध्ययन गर्ने विद्यार्थीको भविष्य सुनिश्चित बनाउन सरोकारवालाहरु गम्भीर छैनन ।

केही समय अघि प्रकाशित एक तथ्यांकले देखाएको छ कि २०७६ सालको स्नातक पहिलो वर्षको ब्याचमा भर्ना भएका विद्यार्थी २०७९(८०) मा तेस्रो वर्षको परिक्षा फर्म भर्दा करिब आधा घटेका छ । यो ३ वर्षे अवधिमा पहिलो वर्षको फर्म भरिसकेका विद्यार्थी तेस्रो वर्ष पुग्दा सम्म गए कहाँ ? किन? बुझ्ने कस्ले?

जिवनका आधारभुत आवश्यकताको सुनिश्चितता, जिवनोपयोगी शिक्षा र त्यसपश्चात रोजगारीको अवसर, समय र पैसाको लगानी बमोजिमको प्रतिफल के लाई मान्ने? यो समय र सम्पत्तिको लगानिको प्रतिफलको आश एउटा विद्यार्थी संगै उसको परिवारलाई पनि रहन्छ ।

हरेक दिन जस्तो गैरजिम्मेवारीपुर्ण जवाफ, त्रुटिहरु बारम्बार भैरहदा पनि सामान्य जस्तो मानेर बस्नुपर्दाको नैराश्यता हरेक दिन जस्तो सामाजिक संजालबाट विद्यार्थीहरुले पोखिरहेको छन , सुनिदिने हो? सम्बोधन गरिदिने हो? एक विश्वविद्यालय छ जो दक्ष जनशक्तिको अभावमा काम ढिला भएको गैरजिम्मेवारीपुर्ण जवाफ दिन्छ अर्को त्यही विश्व विद्यालयबाट स्नातक उत्तीर्ण विद्यार्थी जो एउटा रोजगारिको अभावमा प्रमाणपत्र बोकेर सडक सडक भौतारिदै छ।

शिक्षा र आर्थिक उन्नति यी दुई आजको समाजका प्रमुख आवश्यकता हुन जुन कुरा उच्च शिक्षाका निम्ति विदेशिने विद्यार्थीले सजिलै हासिल गरेको हुन्छ तर नेपालमा हुनेले निरंतरको संघर्षबाट पनि प्राप्त गर्न सक्दैन । अधिकांश विद्यार्थीहरु +२ पछि नविदेसिनुमा पछुताएको दृष्टान्त यत्रतत्र भेटिन्छन ।

मैले यसरि लेखिरहनुको अर्थ यो हो कि स्नातक पढ्नुको औचित्य केबल पढ्नका निम्ति मात्र हैन, केबल आगामी तहमा पढ्न योग्य हुनका निम्ति मात्र हैन । विद्यार्थी विश्वविद्यालय तहमा पुगेर ४ वर्ष व्यतीत गर्दा उसले प्रमाणपत्र मात्र लिएर निस्कनु उपलब्धि होइन ।

यो बिचमा अन्य धेरै कुरामा विद्यार्थी योग्य बनेको हुनुपर्छ , केही अनुभवहरु हुनुपर्छ , केही आर्थिक रुपमा सहायता पुग्ने अवसर हरु हुनुपर्छ , केही व्यवहारिकता र सिपमुलक गतिविधिमा संलग्न भएको हुनुपर्छ अनि कहिकतैबाट आफ्नो अध्ययनको सार्थकता भेट्ने अवसरहरु भेटिनुपर्छ । सम्बन्धित विषयसंग जोडिएका व्यवहारिक अभ्यासहरु उत्तिकै महत्त्वका साथ हेरिनुपर्छ ।

सम्भावना नदेखेर धेरै विद्यार्थी विदेशिएपनी अलिकती रहर र बाध्यता बिच नेपालमै हुनेहरुमा यो निराशा जन्मिन दिइनु हुँदैन । विभिन्न विषयमा जोडिएर टेलिभिजन कार्यक्रमहरु आउछन, आवाज समेटिन्छन तर विद्यार्थी केन्द्रित भएर चासो र गम्भीरता साथ नियमित रुपमा आवाज सम्बोधन त परको कुरा समेटिने ठाउँसम्म भेटिदैन ।

स्वदेशमा बसेर अध्ययन गर्नु जुन सुरुवाती दिनहरुमा गर्वको विषय लाग्छ, कालान्तरमा देशको सामाजिक, आर्थिक, राजनैतिक वातावरण र भविष्यको अन्योलसंगै कहालिलाग्दो महसुस हुन्छ।

निश्चित केहि अवसरहरु छन जहाँ सम्भावना छ, त्यसमा पनि पहुचका आधारमा पुगिने अभ्यास । यी अवस्थाका बिच अध्ययनको लागि आफैले चुनेको बाटोपनी निराशाको कारण बन्छ । प्रोत्साहन र हौसला भन्दा धेरै प्रश्नहरु भेटिन्छन जुन आफुतिर तेर्सिएको भान हुन्छ ।

यो वा त्यो वाहनामा तोकिएको शैक्षिक क्यालेन्डर भन्दा ढिलासुस्ती गरेर परिक्षा संचालन हुन्छ, नतिजा प्रकाशन अझै बिजोक त्यसमा पनि स्वभाविक भन्दा बढी र गम्भीर त्रुटिका घटना नियमीत जस्तो सुनिन्छ । स्नातक तहको अध्ययन सकिदै गर्दा एउटा विद्यार्थीले उतिर्ण प्रमाणपत्र संगै निराशा र अन्यौलताको भुमरी भेट्छ ।

अन्तत: ढिलोचाडो विदेशिनु नै विकल्प लाग्छ । समस्या यो पनि होकि नेपाल बसेर स्नातक तह सक्दै गर्दा आफुले हासिल गर्न नसकेको कुरा विदेशिएको अवस्थामा सजिलै प्राप्त हुन सक्ने देख्दा आफुलाइ खेद त लाग्छ नै त्यो संगै आफ्ना सन्तती वा आफ्ना सम्बन्धिहरुलाइ यो गल्ति दोहोराउनु हुदैन भन्ने सुझाव दिनुपर्दा ठूलो प्रभाव पार्छ ।

देशभित्र बस्नु नै गल्ती हो भन्ने अवस्थामा पुगेको एउटा युवा/युवतीको मानसिकता भन्दा हानिकारक के हुन सक्छ एक राष्ट्रका लागि? यहि प्रचलनले अन्ततः मुलुक पुग्छ कहाँ?

मुलुकनै आर्थिक र पुर्वाधार विकासको हिसाबले पछाडी पर्नु हाम्रो दुर्भाग्य हो । यद्यपि शिक्षा क्षेत्रमा रहेको यो बेथिति कसैलाइ चासोको विषय भएन सिवाय: भोग्ने विद्यार्थी । दुई विकल्पहरुमा नेपालमा बस्ने विकल्पलाइ स्विकार्नेहरुको यो दुर्दशा दुखद छ । शिक्षा छ, एउटा तहको अध्ययन पूरा गरेको छ तर अपसोच सो अनुसारको रोजगारी छैन, व्यापार व्यवसाय मैत्री वातावरण छैन ।

विद्यार्थीका आवाजलाइ सुन्न र बुझ्न त्यति धेरै चासो कतैबाट देखाइदैन । बहस र छलफल लगायतका अन्तरक्रियाहरु विद्यार्थीका आवाज सुन्नका लागि गरिदैन ।

मनोवैज्ञानिक रुपबाट, पारिवारिक रुपबाट, सामाजिक र राजनैतिक रुपबाट पनि सशक्त महसुस गर्ने वातावरण बन्दैन । मानसिक दबाबका बिच स्नातक तह पूरा गर्नुको अर्को विकल्प भेटिदैन । समय बितेसंगै गलत निर्णय गरेछु भन्ने विलौना गरेर बस्नुपर्ने स्थितमा धेरै विद्यार्थीहरु छन।

समग्र रुपमा हेर्दा म मेरो र मेरो वरपरको अवस्था देखेर यति भन्न सक्छु कि नेपालमा स्नातक तह पढ्न भन्दा विदेशिन फलदायी मान्ने विद्यार्थी , अभिभावकहरुको संख्या धेरै छ । त्यसमा पनि नेपालमा बसेर अध्ययन गर्दैगरेका अधिकांश विद्यार्थीमा विश्वविद्यालयको लाजमर्दो र अव्यवस्थित शैली, लापरबाही, अवसर र सम्भावनाको अभाव, केबल उतिर्ण हुनका लागि मात्रै पढ्नुपर्ने बाध्यता, त्यसपछिको अन्यौलता, समय र पैसाको लगानिको तुलनामा न्यून प्रतिफल, असुरक्षित वातावरण र भविष्य, अलमलको बाटो, राजनीतिक र अन्य कुराको शिक्षामा नकारात्मक प्रभाव, सुधारको न्यून सम्भावना, आर्थिक संकट, भविष्य परिवार र परिस्थितिले जन्माउने दबाब, निर्वाहमुखी आम्दानिको समेत न्यून अवसर लगायतका कयौं कारणले गर्दा चरम निराशा देखिएको छ ।

शिक्षा क्षेत्र आफैमा भद्रगोलको स्थितिमा छ त्यसमा पनि सुनिदिनेहरु मौन छन् । यी र यस्तै यस्तै कारणले गर्दा यसरिनै संजालमा गुनासो पोख्नुको अरु विकल्प देखिदैन । यसको उचित ध्यानाकर्षण र समस्याको समाधानका निम्ति सम्बन्धि सबै संयन्त्रले कदम नचाल्ने हो भने हामी कहाँ पुग्दै छौं??

Leave a Reply