गएको बर्ष सेतो पुतलीका कारण आँखामा समस्या देखिएर नेत्रज्योती संघ म्याग्दीमा आएकी बेनी नगरपालिकाकी एक महिलाको दृष्टी गुम्यो । आँखामा समस्या देखिएपछि थप उपचारका लागि हिमालय आँखा अस्पताल पोखरा पठाइएको महिलाले समयमै उपचारमा ध्यान नदिदाँ ज्योति गुमाउनुप-यो ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका १८ बर्षिय एक यूवाले समेत आँखा पाकेको रोग हो भनेर हेलचक्र्याई गर्दै बस्दा आँखा गुमाएको नेपाल नेत्रज्योती संघ जिल्ला शाखा म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँले बताए ।

‘हामीले रिफर गरेका दुईजनाको आँखामा गम्भीर समस्या देखियो,बालबालिकाहरूमा धेरै समस्या देखिन्छ, सतर्कता आवश्यक छ’नेत्र अधिकृत बानियाँले भने । उनले यसबर्ष म्याग्दीमा आँखा पाक्ने रोगको प्रकोप नै देखिएको अवस्थामा झनै झुक्किने सम्भावना रहेको बताए ।

गतबर्ष सजनल हाइपरएक्युट पनुभिआइटिस (सापु) का ५ जना बिरामी सम्पर्कमा आएको उनले बताए ।‘आँखामा समस्या देखिँदादेखिँदै पनि बेवास्ता गरियो भने यसले आँखालाई ध्वस्त पारिदिन सक्छ,‘यो आँखाको लागि निकै घातक रोग मानिन्छ’ नेत्र अधिकृत बानियाँले भने ।

आँखामा समस्या देखिएको ४८ घण्टाभित्रमा आँखाको दृष्टि गुम्न सक्ने डर हुन्छ । असोज महिनामा ब्यापक देखिने गरेकोमा यसपटक नेपाल नेत्रज्योती संघको केन्द्रिय कार्यालयले भदौ महिनाको तेस्रो सातादेखि नै सेतो पुतलीको प्रकोप देखिने भन्दै सबै जिल्लामा विगतमा आँखामा समस्या देखिएका बिरामीहरू तथा उच्च जोखिम क्षेत्रको पहिचान गरी सेतो पुतली नियन्त्रणका लागी टोली नै पठाउने तयारी भइरहेको छ ।

नेपाल नेत्रज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानियाँका अनुसार म्याग्दीमा समेत सापुको स्बाव संकलनका लागि टोली आउने जानकारी आइसकेको बताए ।

‘सबै सेतो पुलती विषालु हुदैनन्, पुतलीको झुस आँखामा परे तत्कालै उपचारमा जानुपर्छ’ अध्यक्ष बानियाँले भने । म्याग्दीमा नेत्रज्योती संघ बाहेक बेनी अस्पतालबाट समेत बिरामी रिफर भएर थप उपचारका लागि पोखरा र काठमाण्डौ जाने गरेका थिए । शरीरभरि बाक्लो रौं (झुस) भएको सेतो आँखाबाट सबैभन्दा बढी जोखिममा बालबालिका रहेको बेनी अस्पतालका मेडिकल अधिकृत गोविन्द्र पोख्रेलले बताए ।

‘सापुजस्ता समस्याको प्राथमिक उपचार मात्रै यहाँ हुन्छ, आँखामा जटिल समस्या देखिएकालाई पोखरा नै रिफर गर्ने गरेका छौ’मेडिकल अधिकृत पोख्रेलले भने ।

उनले भदौदेखि मंसिरसम्म खासगरी वर्षायाम रोकिएर चिसो बढ्नै लाग्दा यो रोग देखापरेको बताए । सेतो पुतलीको जोखिमलाई न्यूनिकरण गर्न सचेतनामुलक कार्यक्रम आवश्यकता रहेको समेत चिकित्सकहरुको भनाई छ ।

Leave a Reply