सबिना जस्तै प्राविधिक शिक्षा अध्ययनका लागि छनोट भएका काठेखोला—४ तङ्ग्रामका अनिल विश्वकर्मा गाउँपालिकाले ठूलो गुण लगाएको सम्झन्छन्। ‘मेरो परिवारको आर्थिक अवस्था साह्रै नै कमजोर भएकोले गर्दा गाउँपालिकाले विगतमा पनि सहयोग गर्दै आएको थियो,’ विश्वकर्मा भन्छन्, ‘अहिले पढ्ने अबसर जुराईदिएको छ। गाउँपालिकालाई धन्यवाद भन्छु।’ आफ्नो छोराको प्राविधिक शिक्षा पढ्ने धोको गाउँपालिकाले पूरा गरिदिएकोमा काठेखोला—८ लेखानीकी गिता विश्वकर्मा निकै खुसी छिन्।
‘मेरो छोराले पहिलेदेखि नै होटल म्यानेजमेन्ट पढ्ने धोको थियो, तर कहाँ पढाउने कसरी पढाउने भन्ने केही थापा पनि थिएन,’ उनी भन्छिन्, ‘आर्थिक अभावले पनि बाहिर पठाएर पढाउन सकिने अवस्था थिएन। बागलुङमा त्यो खालको व्यवस्था नहुँदा अन्यौलमा थिएँ। गाउँपालिकाले ठूलो उपकार गर्यो खुसी छु ।’ काठेखोला गाउँपालिकाले अभिभावकीय भूमिका निर्वाह गरेको उनी बताउँछिन् । ‘गाउँपालिको पढाई खर्च मात्र नभएर सम्पूर्ण खाने बस्ने खर्च समेत व्यहोरेको छ, जसरी हामीले भूमिका खेल्नुपथ्र्यो, त्यो अविभाकीय भूमिका गाउँपालिकाले खेलेको छ,’उनले भनिन् ।
लेखानीकै दिलबहादुर दर्जी पनि छोराको पढाईका लागि खर्च जोहो गर्नु नपरेकोमा दङ्ग छन्। ‘मेरो घरको अवस्थाले त छोरालाई पढाउने अवस्था नै थिएन, गाउँपालिकाले सबै खर्च दिएर पढाईदिने भयो साह्रै खुसी लागेको छ,’ दर्जीले भने ।
काठेखोला गाउँपालिकाले गाउँसभा मार्फत पालिका भित्रका २० जना विपन्न विद्यार्थीलाई छात्रवृत्तिमा प्राविधिक शिक्षा पढाउने निर्णय गरेको थियो। त्यो निर्णय कार्यान्वयनको चरणमा आईपुग्दा २२ जना विद्यार्थी अध्ययनका लागि धौलागिरि प्राविधिक शिक्षालय लेते मुस्ताङ जाने अवसर पाएका छन्।
छात्रवृत्तिमा अध्ययनका लागि गाउँपालिकाले आह्वान गरेको सूचनामा २५ जनाको निवेदन परेका थियो। त्यसबाट छानिएका २२ जना छनोट गरिएको काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम विकले बताए। ‘हामीले पहिले २० जनाका लागि निर्णय गरेका थियौं, २५ जनाको आवेदन परेकोमा हामीले परीक्षा लिने दिन २२ जना उपस्थित भए,’ विकले भने, ‘उनीहरू २२ जनालाई गाउँपालिको प्राविधिक शिक्षा पढाउने निर्णय गरेका छौँ।’ भौतिक विकास मात्रै विकास हो भन्ने धारणा परिवर्तन गरी मानवीय विकास र नागरिकलाई आत्मनिर्भरताको बाटोमा अग्रसर बनाउन यो कदम चालिएको उनी बताउँछन्।
पछिल्लो समय शिक्षाले शैक्षिक बेरोजगार उत्पादन गर्ने काम गरेकाले गाउँपालिको प्राविधिक शिक्षामा जोड दिएको उपाध्यक्ष तेजबहादुर थापा बाउँछन्। ‘हाम्रै गाउँपालिकाका विद्यालयहरूको कक्षा ११, १२ मा विद्यार्थीको सङ्ख्या न्यून हुँदाहुँदै झण्डै एउटा सिङ्गो कक्षा ओगट्ने विद्यार्थीहरू प्राविधिक शिक्षाका लागि पठाउँदैछौं,’ उनले भने, ‘अहिले शैक्षिक बेरोजगारको सङ्ख्या बढेको छ। अब सीपमूलक शिक्षामा जोड दिनुपर्छ भनेर हामीले यो कदम चालेका हौं।’
प्राविधिक शिक्षा अध्ययनका लागि छानिएका विद्यार्थीलाई गाउँपालिका अध्यक्ष राजु थापा सहितको टोलीले शनिबार मुस्ताङ पु¥याएको छ। होटल म्यानेजमेन्ट, कुक, बाली विज्ञान र पशु प्राविधिक अध्यनका लागि उनीहरू छानिएका थिए। नागरिकलाई आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप यो काम थालिएको गाउँपालिका अध्यक्ष थापाले बताए।
‘हाम्रो मुख्य नारा नै नागरिकलाई स्वरोजगारमूलक बनाउने भन्ने हो, यही कुरालाई आत्मसाथ गरेर झण्डै पाँच सयभन्दा बढीलाई हामीले विभिन्न सीपमूलक तालिम दिएका छौं,’ अध्यक्ष थापाले भने, ‘अहिले २२ जना विद्यार्थीलाई गाउँपालिकाले सम्पूर्ण खर्च व्यहोर्नेगरी प्राविधिक शिक्षा अध्ययनका लागि पठाएका छौं।’ १२ जनाले प्रि डिप्लोको १८ महिने र १० जनाले डिप्लोमा ३ वर्षे कोर्ष अध्ययन गर्नेछन्। उनीहरूको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्नेछ।
एकजना विद्यार्थीका लागि सम्पूर्ण रुपमा वार्षिक झण्डै ७५ हजार रुपैयाँ खर्च लाग्ने गाउँपालिकाको अनुमान छ भने विद्यार्थीको अभिभावकले एक पैसा पनि खर्च गर्न नपर्नेगरी पालिकाले नै खर्च व्यहोर्ने बताएको छ।