म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ७ कुरेपानीस्थित बराह पूजामा प्रसाद छोइन्छ भन्दै स्थानीय दलित भीमबहादुर विकलाई छुवाछुत र जातीय विभेदलाई गरेको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा कानुनी कारवाहीको माग गदैं निवेदन दिएका छन् ।

जनैपूर्णिमा मेलामा भीमबहादुरले मन्दिरमा चामल र रु ५० भेटी चढाएर प्रसाद ग्रहण गर्ने क्रममा स्थानीय होमबहादुर थापाले प्रसाद छोइन्छ भनेर धम्की दिएको पीडितले बताएका छन् । उनले आफुँले धार्मिक परम्परार अनुसार नै प्रसाद मागेको भन्दा धम्की दिएर हातपात गरी लछारपसार गरेको बताए । ’धुप चामल, भेटी सधै मन्दिरमा दिने गरेको छु, ‘पूजा सकिएपछि प्रसाद माग्दा केहीले मलाई लगातार धम्की दिए‘ पीडित भीमबहादुरले भने ।

पीडित भिमबहादुरले कुटपिटमा संलग्नलाई कारवाहीको माग गदैं स्थानीयले शनिबार गाउँमा नाराबासी समेत गरेका छन् । पीडित भीमबहादुरका आफन्तको अनुसार ‘तिमीहरु सानो जातका हौ, किन प्रसाद छुन आउँछौ’ भन्दै अपशव्द प्रयोग गर्दै गालीगलौज गरेपछि भनाभन भएको बताएका छन् ।

पीडितका अनुसार स्थानीयहरु पीडित परिवारलाई गाउा घरमा भएको कुरा गाउामा नै मिलाउनु पर्छ भनेपनि सार्वजनिक ठाउँमा छुवाछुतको विभेद भएको भन्दै कानुनी लडाईं लड्ने बताएका छन् ।  ‘नेपालमा जातिय छुवाछुत विरुद्ध कानुन बनेको अवस्थामापनि धारापानीमा यस्तो छुवाछुत भोग्नु पर्दा अत्यन्तै दुख लागेको छ’ एक दलित अगुवाले भने ।

सार्वजनिक सेवामा समान पहुँच र सांस्कृतिक क्रियाकलापमा समान सहभागिताको अधिकार अहिले पनि दलित समुदायले नपाएको दलित अधिकारकर्मीको भनाइ छ । यता मन्दिर ब्यवस्थापन समिति तथा घटनाका पीडक भनिएकाहरुले भने आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

धारापानीमा यसअगाडी दलित दलित बिचकै छुवाछुतको विवाद समेत सतहमा आएको थियो । यसपटक दलितहरु संगठित भएर छुवाछुत र जातीय विभेद बिरुद्ध आन्दोलन नै गरेका छन् । नेपालमा बि.स २०६३ जेठ २१ गते संसद्ले छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । नेपालमा २०६८ जेठ २१ गतेदेखि जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउँदै आइएको छ ।

Leave a Reply