म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट वडा नं ८ कुइनेमङ्गले जोड्ने सडक करिब साढे दुई महिनापछि सञ्चालन भएको छ । कुइनेमङ्गलेलाई सडक सञ्जालले जोड्ने एक मात्रै चिमखोला–घ्यासीखर्क सडकखण्डअन्तर्गत चिमखोलाको मालाङमा गएको पहिराले सडक अवरुद्ध भएको थियो । पहिरो ठूलो भएकाले वर्षात् नरोकिँदा सडक सञ्चालन हुन सकेको थिएन ।

वर्षा कम हुँदै गएपछि अवरुद्ध भएको सडकलाई यस क्षेत्रमा निर्माणाधीन तीनवटा जलविद्युत् आयोजनाबाट डोजर परिचालन गरी मर्मत गरेर अस्थायीरूपमा सवारीसाधन आवतजावत गर्न थालेको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिए ।

पहिरोमा सडकको ‘ट्रयाक’ बनाइएकाले वर्षात् हुँदा पहिरो र ढुङ्गा खस्ने जोखिम रहेकाले यात्रु, सर्वसाधारण र सवारी चालकलाई सावधानी अपनाउन उनले आग्रह गरे।

चिमखोला र कुइनेमङ्गले क्षेत्रमा निर्माणाधीन तुदी पावर लिमिटेड प्रवर्द्धक रहेको राहुघाट मङ्गले, अपर राहुघाट र संयुक्त ऊर्जा प्रालिको ठूलोखोला जलविद्युत् आयोजनाले लगातार पाँच दिनसम्म चिमखोला र गौडामुनीतर्फबाट दुईवटा डोजर परिचालन गरेर पहिरो हटाएर सडक सञ्चालन गराएका हुन् ।

लामो समयदेखि सडक अवरुद्ध हुँदा कुइनेमङ्गले क्षेत्रमा बोलेरो, जिप, ट्रयाक्टर, ट्रकलगायतका सवारीसाधन रोकिएका थिए ।सडक अवरुद्ध हुँदा कुइनेमङ्गलेका स्थानीय सडक सञ्जालको सम्पर्कबाट विच्छेद भएका थिए भने स्थानीयस्तरमा उत्पादन भएको आलुको बजारीकरण र जलविद्युत् आयोजनाका निर्माण सामग्री ढुवानीमा समस्या भएको थियो ।

Leave a Reply