गण्डकी प्रदेश सरकारका पूर्व सामाजिक विकासमन्त्री नरदेवी पुनले पाँच शय्याको दरवाङ आधारभूत अस्पताल सञ्चालनमा आएपछि आम नागरिकको सपना पूरा भएको बताउनुभएको छ ।

नेपाल सरकारले सबै स्थानीय तहमा पाँच शय्याको अस्पताल निर्माण गर्ने नीतिअनुरूप देशका धेरै स्थानीय तहमा शिलान्यास भएको र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरेर पाँच शय्याको अस्पताल बनाएको थियो ।

सोमबार अस्पतालको उद्घाटन गर्दै पूर्वसामाजिक विकासमन्त्री पुनले म्याग्दीको पश्चिमका मालिका गाउँपालिका, मङ्गला गाउँपालिका र धौलागिरिका साथै बागलुङ  पश्चिम भेकका बासिन्दाले अस्पतालबाट सेवा पाउने बताउनुभयो । “कोही बिरामी परेमा डराउनु पर्ने अवस्था थियो, अब आफ्नै क्षेत्रमा दक्ष डाक्टरसहितको अस्पताल सुरु भएपछि बिरामी जनताको समयमै उपचार पाउने छन्” पुनको भनाइ छ ।

दरवाङ आधारभूत अस्पतालमा निक साइमन इन्स्टिच्युटले प्राविधिक साथै सामग्री सहयोग गर्दैआएको तर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, ‘म मन्त्री भएको समयमा केही सुगम स्थानमा कार्यक्रम गर्न लागेको थाहा पाएपछि कम्तीमा पनि दुर्गम स्थानमा यो सुविधा दिनुपर्छ भन्ने आग्रह बमोजिम यहाँ निक साइमन दरवाङ आएको हो ।’

पूर्वाधार बन्यो, अस्पतालको उद्घाटन भयो तर सुविधा भएन भने समस्या हुन्छ । जनताको भूमिका र साथ सहयोग पनि अपरिहार्य छ, पुनले भन्नुभयो । उहाँले स्वास्थ्यकर्मीको व्यवहारले पनि बिरामीको आधा रोग निको हुन्छ, त्यसैले स्वास्थ्यकर्मीको व्यवहार पनि राम्रो हुन आवश्यक रहेको बताउनुभयो ।

स्थानीय जनप्रतिनिधि तथा प्रतिष्ठित व्यक्तिहरूले आफ्नो स्वास्थ्योपचार दरवाङमै गरेर जनविश्वासलाई बढाउने काम गर्नु पर्ने उहाँको भनाइ छ । मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजाले दरवाङ आधारभूत अस्पतालको सेवा निरन्तरता र गुणस्तर वृद्धि अबको चुनौती रहेको बताउनुभयो ।

स्थापना भयो, यसलाई अब टिकाइ राख्नु र सेवा थप गर्दै जानुपर्छ भन्ने हाम्रो ध्यान छ तर त्यो सहज भने पक्कै छैन । अध्यक्षले स्थानीय बढीबहादुर शेरचनले आफ्नो परिवारको सदस्यले बच्चा जन्माउन नसकेर मृत्यु भएपछि अस्पताल निर्माण गर्नुपर्छ भनेर जग्गा दान गरेसँगै दरवाङमा अहिलेको अस्पताल बनेको उहाँको भनाइ छ ।

मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले सबैले निःस्वार्थ भएर काम गरेमा असम्भव केही नहुने बताउनुभयो । अस्पतालको शुभारम्भ भएसँगै म्याग्दी र बागलुङका पश्चिम भेकका बासिन्दाले सेवा पाउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा सुरु भएको पाँच शय्याको अस्पतालको अभियानले यसैगरी देशैभर सार्थकता पाउने छन् ।’

कार्यक्रममा स्वास्थ्य व्यवस्थापन समितिका पूर्व अध्यक्ष सन्तनाथ जैसी, निक साइमनका तर्फबाट दरवाङ आधारभूत अस्पतालका कार्यक्रम स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठी, अधिकृत शुष्मा लामा, अस्पतालकी डाक्टर गायत्री पौडेल, उद्योग वाणिज्य सङ्घका लेखबहादुर पुनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply