धादिङको गजुरीमा भएको बस दुर्घटना भएको सोमबार १३ दिन पुगेको छ । दुर्घटनामा ज्यान गुमाएका ८ जनाको परिवारले शव बुझेका छन् भने घाइतेमध्ये केही घाइते अस्पतालको शैय्यामा उपचाररत छन् । तर, त्यही बसमा सवार म्याग्दीके मंगला गाउँपालिका वडा नं १ खानीगाउँका हरिबहादुर अर्मजाको अवस्था भने अहिलेसम्म अज्ञात नै छ ।काठमाडौंको नयाँबानेश्वरमा खाजा पसल सञ्चालन गर्दै आएका प्रेमबहादुर र जसमती अर्मजाको आँखा ओभाएका छैनन् ।

अर्मजा आफन्त पर्ने १६ वर्षीया गीता जुग्जालीसँगै सिटमा रहेकी गिता सामान्य घाइते भई घटनाको भोलिपल्ट अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् । छोराको खोजीमा गजुरी पुगेका प्रेमले रातको मध्यरातमा दुर्घटनामा ज्यान गुमाएका ८ जनाको शवको बीचमा छोरा खोज्दा नभेटाएपछि केही शान्तिको सास फेरे पनि१३ दिनसम्म कहिँ कतै छोराको अत्तोपत्तो नभएपछि झन् भावविह्वल बनेका छन् ।

छोराको खोजीका लागि श्रीमानलाई २ पटकसम्म घटनास्थल पठाएकी जसमति श्रीमान् खबरबिहीन फर्कँदा निराश छिन् । सुरक्षा निकायको सहयोगमा पटक–पटक छोराको खोजीमा घटनास्थल पुगेका बाबु प्रेमले मृतक र घाइतेमा आफ्नो छोराको नाम नदेखेपछि इलाका प्रहरी कार्यालय गजुरीमा छोराको खोजीका लागि निवेदन दिएर फर्किएका छन् ।

उनले आफ्नै पहलमा घटनास्थलदेखि कुरिनटारसम्म सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्दा पनि नभेटेपछि झन् निराश भएको बताए । छोराको खोजीमा गएका प्रेमले गजुरीचौकीबाट भेटे छोराले घरबाट लिएर गएको जेब्रा झोला, छोराको खोजीमा गएका प्रेम त्यही झोला लिएर फर्किए । ‘दुर्घटना भएको दिनको साँझ पौने ९ बजेसम्म छोराको फोनमा घन्टी गएको थियो,‘अहिलेसम्म सो फोन पनि पत्ता लागेको छैन’ प्रेमबहादुरले भने ।

करिब साढे २ महिना अघि छोराको बाबु बनेका ३७ वर्षीय हरिको परिवार अन्यौलमा परेको छ । उनीहरुले हरिले बोकेको फोनको खोजीका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा सम्पर्क गर्दा पनि घटनास्थलकै आसपास उक्त दिन साँझ ८ बजेर ४४ मिनेटसम्म फोनको लोकेसन ट्रयाक भएको थियो । त्यसपछि अहिलेसम्म पनि उक्त फोनको स्वीच अफ गरिएको छ । साढे २ महिने सुत्केरी निर्मलाले श्रीमान घर फर्किने आशमा छिन् ।

‘कतैबाट फोन आउँदा पनि श्रीमानको जस्तो लाग्छ,‘खोजौं कता खोजौं, नखोजौं कता नखोजौं रु’उनले भनिन्। प्रहरी हिरासतमा रहेका बसका सहचालक रोशन तामाङले पनि कलंकीबाट दुईजना चढेको र आफूँले अन्तिम सिटमा लगेर राखेको बताए ।

घाइते गीताका अनुसार उक्त घटनामा ज्यान गुमाउनेमा अधिकांश बसको अन्तिमतिरको सिटमा बसेकाहरू थिए । बेपत्ता हरिको खोजीको सम्बन्धमा इलाका प्रहरी गजुरीमा सम्पर्क गर्दा खोजी कार्य जारी नै रहेको बताइएको छ ।

प्रहरीले जिल्लाको समन्वयमा चितवन प्रहरीसँग पनि समन्वय गरेको जनाउँदै त्रिशुली नदीको किनारमा निगरानी राखिरहेको बताउँदै अहिलेसम्म फेला पार्न नसकिएको जनाए । उक्त घटनामा ८ जनाको मृत्यु भएको थियो भने १३ जना घाइतेको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार गरिएको थियो ।

म्याग्दी कोरला बस कम्पनीको प्रदेश ३–०१–००५ ख ९९५२ को उक्त बसका चालकले समेत बेपत्ता भएका ब्यक्ति चिनेको बताएका छन् । अब कानुनी प्रक्रियाका लागि ३५ दिन पर्खनुपर्ने हुन्छ, त्यसपछि अन्य प्रक्रिया अगाडि बढाउने म्याग्दी कोरला बस प्रालिले जनाएको छ । म्याग्दी कोरला बस कम्पनीका सञ्चालक मोहन केसीले बिमा लगायत अन्य प्रक्रियाका लागि ३५ दिन पुग्नुपर्ने कानुनी प्रावधान रहेकोले सोहीअनुसार आफूँले अन्य पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

Leave a Reply