---Advertisement---

विभेद गरेको भन्दै अन्नपूर्णका कर्मचारीले निजामती सेवा दिवस नमनाउने

On: September 8, 2023 12:19 PM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका कर्मचारीले निजामती सेवा दिवस नमनाउने बताएका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सेवा, सुविधा, वृत्ति विकासका सुनिश्चितता नभएको र संघीय निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीलाई निजामती परिभाषामा नसमेटेको भन्दै विरोध स्वरूप दिवस नमनाउने निर्णय गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भदौ ४ गतेको निजामती सेवा दिवस मनाउन सबै स्थानीय तहलाई गरेको परिपत्रको जवाफमा स्थानीय तहका कर्मचारीहरुले निजामती सेवा दिवस नमनाउने घोषणा गरेको अन्नपूर्ण गापाका इन्जिनियर इश्वर भण्डारीले बताए ।

उनले कर्मचारीहरुले निजामती सेवा दिवसको दिन कालोपट्टी बाँधेर काम गरेको बताए । पालिकामा कार्यरत कर्मचारीहरुले विरोध गर्दै प्रमुख प्रशासकीय अधिकृतमार्फत विभिन्न माग राख्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत पत्राचार गरेका छन्।

संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्धार स्थानीय तहमा मात्र हुनपर्ने, चक्रीय सरुवा प्रणली हुनपर्ने, निजामती अस्पतालमा उपचार लगायत सेवा सुविधामा सबै कर्मचारीहरूलाई समेटिनु पर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग राखेका छन्।