म्याग्दीको सदरमुकाम बेनीमा हुने नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारीलाई तिब्रता दिइएको छ । म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र ख सम्मेलनको तयारीका बारेमा शनिवार आयोजित पत्रकार सम्मेलनमा जिल्लालाई चिनाउने गरी सम्मेलनलाई भब्य बनाउने तयारी भइरहेको बताइएको छ ।

सम्मेलन निर्देशक तथा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठले म्याग्दीमा आउने प्रतिनिधिलाई स्वागतदेखि विदाईसम्म भब्य बनाउने बताए ।

उनले सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिहरुको आवास व्यवस्थापन, स्वागत तथा सत्कार, प्रचार प्रसार लगायतको तयारी अन्तिम चरणमा पुगेको बताए । सम्मेलनलाई अविष्मरणीय बनाउन आर्थिक संकलन, प्रचारप्रसार, कार्यक्रमस्थल ब्यवस्थापन, होटल ब्यवस्थापन, बजार सजावट, मायाको चिनो, कार्यक्रमको समय तालिका समेत तयार भइसकेको बताए।

सम्मेलनमा क्षेत्र ख अन्तरगतका ४१ शाखाका करिब ६ सय जनाले सहभागीता जनाउने शाखा अध्यक्ष सुमन बानियाँले बताए। म्याग्दी जेसिज स्थापाना भएको २५ बर्ष पूरा गरेको अवसरमा आयोजित सम्मेलन जिल्लाको पर्यटन विकास, प्रवद्र्धन, उत्पादित बस्तु तथा उपजको बजारीकरणका साथै कला, संस्कृतिको संरक्षणसंग जोडिएको छ ।

सम्मेलन सम्पन्न गराउन ४२ लाखको खर्च अनुमान गरिएको जानकारी दिदै सम्मेलन अवधिमा म्याग्दीमा एक करोडको कारोबार हुने अनुमान गरिएको छ ।कार्यक्रममा सम्मेलनका सभापति एवम् नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रजनी थापाले बेनीमा हुने क्षेत्र ख सम्मेलनले म्याग्दीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताईन् ।

सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनमा सहभागी हुन आउनेहरुलाई म्याग्दीकै जंगलमा पाईने अल्लोबाट बनेका झोला र बेनीको बजारको गीत लेखिएको रुमाल र कालीगण्डकी पाईने शालीग्रामको उपहार दिइने छ ।

म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले सम्मेलनलाई जिल्लाका सबै संघसंस्था र स्थानीय तहहरुले समेत प्राथमिकता दिएको बताए । सम्मेलनमा आउनेलाई जिल्लाका कला र संस्कृति प्रर्दशनसँगै बसाईलाई अविस्मरणीय बनाउने गरी स्वागत गरिने म्याग्दी जेसीजले जनाएको छ ।

Leave a Reply