निजामति सेवाको क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई आपत्कालीन अवस्थामा जीवन बचाउने सम्बन्धी विषयमा तालिम दिइएको छ । २०औं निजामति सेवा दिवसको अवसरमा ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नारासहित निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियन (सिबिए) जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा तालिम सञ्चालन गरिएको हो ।

आपत्कालीन अवस्थामा मानव जीवनलाई कसरी बचाउन सकिन्छ भन्ने उद्देश्यसहित तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित तालिममा अन्तर्राष्ट्रिय डाक्टर लक्ष्मी पन्थीले आपत्कालीन अवस्थामा कसरी मानव जीवन बचाउन सकिन्छ भनेर विभिन्न विषयहरुमा सहजीकरण गर्नुभएको थियो ।

उहाँले आपत्कालीन अवस्थामा जीवन बचाउन सकिने विभिन्न उपायहरुको बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यासको साथै व्यहारिक ज्ञान, सिपबारे सहजीकरण गर्नुभयो ।

तालिममा डा. पन्थीले ‘तपाइँले पाँच जनाको जीवन बचाउन सक्नुहुन्छ’ अर्थात् ‘यु क्यान सेभ फाइप लाइभ्स’ अभियानअन्तर्गत सर्किनु, हृदयघात हुने, बाह्य रक्तस्राव, सिपिआर तथा बेहोसलगायत विभिन्न विषयमा आधारित रहेर सहजीकरण गर्नुभएको थियो ।

यसैगरी घाँटीमा केही अड्किएर वा सर्किएका बिरामीलाई तत्काल बचाउन गरिने विधि, हृदयघात हुँदा तत्काल र अन्तिम अवस्थामा बचाउने विधि, घटनास्थलमा रक्तस्राव तत्काल रोक्ने प्रक्रिया र विधिहरु, बेहोस हुँदा अपनाउनुपर्ने सिपिआर विधि, आपत्कालीन अवस्थामा देख्ने व्यक्तिले तत्काल घट्नास्थलमै बचाउन सक्ने प्रयोगात्मक विधिबारे पनि सहजीकरण गरिएको थियो ।

हातेमालो अभियान नेपालको संस्थापक अध्यक्ष समेत रहनुभएका अन्तर्राष्ट्रिय डा. पन्थीले तालिममा सिकेका ज्ञान, सिपलाई आ–आफ्नो कार्य क्षेत्रमा आपत्कालीन अवस्थामा मानव जीवन बचाउनलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । सिबिए म्याग्दीका अध्यक्ष चन्द्रमणि सापकोटाले निजामति कर्मचारीहरुलाई आपत्कालीन अवस्थामा कसरी जीवन बचाउन सकिन्छ भनेर सैद्धान्तिक कक्षासहित प्रयोगात्मक अभ्यासको बारेमा जानकारी गराउन निजामित सेवा दिवसको अवसर पारेर व्यवहारिक तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।

तालिममा सहभागी निजामति कर्मचारीहरुले तालिमबाट आगामी दिनमा आपत्कालीन अवस्थामा मानवीय जीवन बचाउन ठूलो सहयोग मिलेको अनुभव सुनाएका छन् । न्यू वेष्ट प्वाइन्ट आवासीय माविका शिक्षक जगदिश पन्थीले तालिममा सहयोग गर्नुभएको थियो । तालिममा म्याग्दी जिल्लास्थित विभिन्न सरकारी कार्यालयका कर्मचारीहरु तथा सुरक्षा निकाय लगायतले सहभागिता जनाएका थिए ।

Leave a Reply