म्याग्दी कांग्रेसका युवा नेता, समाजवादी व्याख्याता, बौद्धिक लेखक, लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठलाई पोखरामा एक कार्यक्रम बीच सम्मान गरिएको छ । आइतबार ११०औं वि.पी. जयन्तिको अवसरमा पार्टीको गण्डकी प्रदेश समितिको नीति र निर्देशनमा विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले श्रेष्ठलाई उक्त सम्मान गरेको हो ।
जननायक विपी कोइरालाको विचार र दर्शनको अनुशरण गर्नुका साथै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल्य मान्यताको विकास र विस्तारमा क्रियाशील रहेर सामाजिक रूपान्तरणका लागि पुर्याएको महत्वपूर्ण योगदानको कदरस्वरुप उक्त सम्मान गरिएको जनाइएको छ। गण्डकी प्रदेशका एघारै वटा जिल्लाहरुबाट एक एक जना व्यक्ति छनौट गरिने क्रममा छनौट समितिले म्याग्दी जिल्लाबाट श्रेष्ठ को मनोनयन गरेको थियोे। आयोजकका अनुसार ५५ वर्षिय श्रेष्ठ सम्मानित एघार मध्ये सबैभन्दा कम उमेरका व्यक्तित्व हुन्।
सम्मानित श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै सम्मान पत्र र नगद पच्चीस हजार प्रदान गरिएको थियो। विपी स्मृति पुस्तकालयका अध्यक्ष माधवप्रसाद बाँस्तोलाको अध्यक्षता, नेपाली कांग्रेसका उपसभापति एवम् कानुन , न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यता, पुस्तकालयका संरक्षक एवम् पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव सूर्य केसीले गरेका थिए। कार्यक्रममा म्याग्दीका पार्टी उपसभापति केबि भण्डारी र गण्डकी प्रदेश सदस्य मा. विमला गौचनको समेत उपस्थिति रहेको थियोे ।
गण्डकी प्रदेश पुरस्कारबाट म्याग्दीका श्रेष्ठ सम्मानित
On: September 10, 2023 11:01 PM
