म्याग्दी आसपासका क्षेत्रमा सेतो पुतली देखिन थालेका छन् । म्याग्दीको सदरमुकाम बेनी र छिमेकी पर्वतको जलजला गाउँपालिकामा कालो धर्सा भएको सेतो पुतली देखिन थालेपछि सर्तकता अपनाउन अनुरोध गरिएको छ। बत्तीमा झुम्मिने पुतलीहरूमध्ये सेतो पुतली आँखाको लागि अत्यन्त घातक हुन्छ ।

आँखाको ज्योति नै गुम्न सक्ने डरलाग्दो रोग भएकाले भदौदेखि मंसीरसम्म सेतो पुतलीको प्रजनन् अवधि भएकाले वर्षायाम सकिने बेलामा सापुबाट जोगिनुपर्ने नेपाल नेत्रज्योती संघ जिल्ला शाखा म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँले बताए । उनका अनु्सार सेतो पुतली छोएर वा अन्य माध्यमबाट यसको रौं आँखासम्म पुगेमा सापुको संक्रमण फैलिने भएकाले बेनीबजार र पर्वतबेनीमा देखिएको सेतो पुतली घातक रहेको बताए ।

गएको बर्ष सेतो पुतलीका कारण आँखामा समस्या देखिएर नेत्रज्योती संघ म्याग्दीमा आएकी बेनी नगरपालिकाकी एक महिला र म्याग्दीको मालिका गाउँपालिकाका १८ बर्षिय एक यूवाले समेत आँखाको एउटा ज्योती गुमेको उनले बताए । बालबालिकाहरूमा धेरै समस्या देखिने भएकाले सतर्कता आवश्यक रहेको बताए । गतबर्ष सजनल हाइपरएक्युट पनुभिआइटिस (सापु) का ५ जना बिरामी सम्पर्कमा आएको उनले बताए । आँखामा समस्या देखिएको ४८ घण्टाभित्रमा आँखाको दृष्टि गुम्न सक्ने डर हुन्छ ।

असोज महिनामा ब्यापक देखिने गरेकोमा यसपटक नेपाल नेत्रज्योती संघको केन्द्रिय कार्यालयले भदौ महिनाको तेस्रो सातादेखि नै सेतो पुतलीको प्रकोप देखिने भन्दै सबै जिल्लामा विगतमा आँखामा समस्या देखिएका बिरामीहरू तथा उच्च जोखिम क्षेत्रको पहिचान गरी सेतो पुतली नियन्त्रणका लागी म्याग्दीमा समेत टोली आउने तयारीमा छ ।

सापु संक्रमण भएमा आँखा दुख्ने, रातो हुने तर चिप्रा नआउने, आँखाको नानी सेतो हुँदै जाने जस्ता लक्षण देखिन्छन् । उपचारमा ढिलाइ भए क्रमशः आँखा कम देख्दै दृष्टि नै पूर्णरूपमा गुम्न सक्ने समेत चिकित्सकको भनाई छ ।

Leave a Reply