टावरमा चढेर टाढाकाे दृश्य हेर्नेका लागि बनाइने संरचना हाे, भ्यु-टावर । देशमा सङ्घीयता लागू भएसँगै सङ्घ, प्रदेश र पालिका सरकारले अग्ला डाँडापाखामा पनि पर्यटकको आकर्षण बढाउन भन्दै थुप्रै भ्यु–टावरहरु बनाएका छन् ।

म्याग्दीमा तीनवटा पालिकाले आफ्नो पर्यटकीय क्षेत्रमा भ्यु–टावर बनाएका छन् । रघुगङ्गा गाउँपालिकाले २ नम्बर वडा राखु भगवतीको रुइसे–भेडीओढार क्षेत्रमा पर्यटकलक्षित भ्यु–टावर बनाएको छ । मङ्गला गाउँपालिकाले पनि ३ नम्बर वडा बरंजाको झाँक्रीपानीमा भ्यु–टावर बनाएकाे छ । त्यस्तै, बेनी नगरपालिकाले ५ नम्बर वडा पुलाचौरमा रहेकाे गाजनेको केभहिलमा भ्यु–टावर बनाएको छ।

स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन गर्ने, ओझेलमा परेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा स्थानीयवासीको समेत आर्थिकस्तरमा सुधार ल्याउने उद्देश्यले भ्यु–टावर बनाइएको थियो । तर म्याग्दीको पुलाचौरमा रहेकाे गाजनेमा बनाइएको भ्यु–टावरमा पर्यटक जानुको सट्टा अहिले दैनिकजसो भैँसी चर्ने गर्छन् । यहाँ घेराबार गरिएको भ्यु–टावर क्षेत्रमा स्थानीयवासीले भैँसी चराउन थालेका हुन् । पर्यटकलक्षित भ्यु–टावर वरिपरि लगाइएको बार भत्काएर दिनहुँजसो भैँसी चराउने गरिएको छ ।

केभहिल पर्यटकीय क्षेत्र भएकाले वडा कार्यालय र बेनी नगरपालिकाको झण्डै २० लाख रुपैयाँको लागतमा भ्यु–टावर निर्माण गरिएको थियो । भ्यु–टावर निर्माणको केही काम अझै बाँकी रहेको र अहिलेसम्म पनि त्यो कामले पूर्णता पाएको छैन । खाली पाखोमा बनाइएको भ्यु–टावरको काम पूरा नभएकाले स्थानीयलाई रेखदेख गर्ने जिम्मेवारी समेत नदिँदा भ्यु–टावरको संरक्षणमा समस्या आएको हो ।

भ्यु–टावर निर्माणसम्पन्न भइ पूर्ण रुपमा सञ्चालनमा आउनुपर्नेमा अहिले अलपत्र परेकाे छ । उपभोक्ता समितिको गैरजिम्मेवारी, निर्माण व्यवसायीको ढिलासुस्ती र बेनी नगरपालिकाको बेवास्ताले भ्यु–टावर अलपत्र परेको हो ।

भ्यु–टावर निर्माणको लागत स्टिमेट तयार एवं निर्माणको क्रममा भएको कमजोरीका कारण भ्यु–टावरमा चार/पाँच जना चढ्नेबित्तिकै हल्लिने गर्दछ । एकैपटक धेरै जना चढेको खण्डमा जुनसुकै समयमा पनि भ्यु–टावरमा दुर्घटना हुन सक्ने जोखिम समेत बढेको छ । केभहिलमा नवनिर्मित भ्यु–टावरको सुरक्षाका लागि बलियो घेराबार तथा गेट निर्माण गर्नुपर्ने गाजनेका स्थानीय नीलकण्ठ शर्माले बताउनुभयो । उहाँले भ्यु–टावर बाहिरबाट फलामका पोलहरु गाडेर भ्यु–टावरलाई नहल्लिने बनाउनुपर्ने माग गर्नुभयो ।

आर्थिक वर्ष २०७४/०७५ देखि भ्यु–टावर निर्माण थालिए पनि अहिलेसम्म यस टावरले पूर्णता पाउन सकेको छैन । भ्यु–टावर निर्माण गर्नका लागि बेनी नगरपालिकाले १५ लाख र स्थानीय श्रमदान दुई लाख रुपैयाँसहित कुल १७ लाख रुपैयाँको बजेट लगानी भइसकेको छ । आव ०७८/७९ सम्म निर्माण सकिनुपर्ने भ्यु–टावरको काम अझै सकिएको छैन ।

यस भ्यु–टावरको कुल ३६ फिट उचाइ, १ सय ७६ दशमलव ७१ वर्गफिट क्षेत्रफल र भ्यु–टावरमा ६ ओटा ल्याण्डिङ (उक्लने र ओर्लने) भागहरु बनाइएको छ । माथिल्लो भागमा एक पटकमा करिब १५ जना चढेर दृश्य अवलोकन गर्न सकिने क्षमता रहेको भ्यु–टावरको सबै संरचनाहरु स्टिल स्ट्रक्चर अर्थात् (फलाम) को प्रयोग गरिएको बेनी नगरपालिकाले जनाएको छ । भ्यु–टावर निर्माणमा यसअघि बेनी नगरपालिकाले आर्थिक वर्ष ०७४/७५ मा एकलाख, ०७५/७६ मा पाँचलाख, ०७६/७७ मा १० लाख र ०७७/७८ मा थप पाँचलाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटले भ्यु–टावरको झण्डै ९० प्रतिशत पूर्वाधार निर्माणको काम सकिएको छ ।

यस्तै, प्रतिक्षालय बनाउनुका साथै घेराबार लगाइएको भए पनि घेराबारतर्फ भने मर्मतसम्भार गर्नुपर्ने भएको छ । तर थोरै काम बाँकी रहेको भ्यु–टावरको पूर्णताका लागि आव ०७८/७९ देखि अहिलेसम्म बजेट विनियोजन नहुँदा निर्माणाधीन भ्यु–टावर अलपत्र परेको हो । भ्यु–टावरको सबै संरचनाहरु फलामको प्रयोग गरिएकाले गाडिएका पोलमा क्याप नलगाइँदा पानी परेर खिया लाग्न थालेको छ । भ्यु–टावर नजिकै टेकमाइन्ड्स नेटवर्क प्रालिले पर्यटकीय क्षेत्र भनेर इन्टरनेट समेत जडान गरेको छ ।

केभहिलमा बनाइएको भ्यु–टावरका कारण जगन्नाथ क्षेत्रमा पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ । म्याग्दीको सदरमुकाम बेनीको सिरमा पर्यटकीयस्थल केभहिल प्रसिद्ध जगन्नाथ मन्दिर र ऐतिहासिक डढेकोत दरबार क्षेत्र पर्दछन् ।

मन्दिरदेखि १० मिनेटको दूरीमा केभहिल पर्दछ भने ३० मिनेटमा ऐतिहासिक डढेकोत राजदरबार रहेको छ । बेनीबाट अर्थुङ्गे–पुलहाश्रम–ढोल्ठान–जगन्नाथ–केभहिल–डढेकोत हुँदै पर्यटकीय क्षेत्र टोड्के भएर धौलागिरि हिमालको बेसक्याम्पसम्म पुग्ने पदमार्गको पनि निर्माण थालिएको छ ।

Leave a Reply