---Advertisement---

कतारमा थाली नाच पु-याउने रूमकी यमुना पटेल

On: September 11, 2023 10:40 AM
Follow Us:

कतारमा रहेकी म्याग्दी मालिका गाउँपालिका-३ रूमकी यमुना पटेल म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले आयोजना गर्ने विभिन्न कार्यक्रममा थाली नाच देखाउने गरेकी छन् । कतारको एक विद्यालयमा हाउस किपिङमा कार्यरत पटेलले फुर्सद र विदाको समयमा मोना कतारको कार्यक्रममा नियमित जस्तै म्याग्दीको पहिचान थाली नाचमा नृत्य प्रस्तुत गर्छिन् ।

मोना कतारकी कार्यसमिति सदस्य एवम् सांस्कृतिक विभागमा रहेकी पटेलले हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाउने र नाच्ने गरेको दृष्यलाई कार्यक्रमका अतिथिले निकै चासोपु्र्वक हेर्छन् ।

‘कतारमा थाली नाचले चर्चा कमाएको छ, थाली नाच म्याग्दीको मौलिक नाच समेत हो’ मोना कतारका निर्वतमान अध्यक्ष नरेन्द्र फगामीले भने । उनले कतारमा रहेका नेपाली र कतारीले समेत थाली नाचका बारेमा चासो देखाउने गरेको बताए ।

थाली नाचमा नृत्य प्रस्तुत गर्दा हातमा थाललाई एउटा जादुगरले सर्कसमा प्रस्तुत गर्ने कला भन्दा कमी नहुने म्याग्दीको पहिचानको रुपमा रहेको लोपउन्मुख थाली नाचलाई कतारका अन्य संघसंस्थाका कार्यक्रमहरुमा समेत प्रस्तुत गर्ने योजना रहेको फगामीको भनाई छ ।

सारीमा सजिएर थाली नृत्यमार्फत प्रस्तुत गरेकी पटेलले कामको ब्यस्तताले गर्दा सबैजसो कार्यक्रममा पुग्न नसकेपनि थाली नाच कतारमा भित्राएकोमा खुसी लागेको बताईन् । मोनाको बैठक, नियमित काममा जानुपर्ने भएपनि पटेलले एक्लै सार्वजनिक कार्यक्रममा थाली नाचमार्फत म्याग्दीको मौलिक नाचको जर्गेनाको प्रयासमा समेत सक्रिय छिन्।

थाली नाचको अफर अन्य नेपाली संघसंस्थाबाट समेत आउन थालेपनि उनलाई कामले फुर्सद नहुदाँ सहभागी हुन सकेकी छैनन् । मोना कतारका अध्यक्ष राजु पौडेलले थाली नाचको महत्वका बारेमा मोनामार्फत कतारमा फैलाउने बताए । थाली नाचमा मौलीकता र आफ्नोपन झल्कने गरेकाले मोना कतारले आयोजना गर्ने कार्यक्रममा नियमित जस्तै प्रस्तुत गरिने बताए।

दुवै हातमा थाल राखेर सावधानीपूर्ण तरिकाले नाचिने हुदाँ थाली नाच रोचकपुर्ण हुन्छ। पश्चिम म्याग्दीकी कलाकार पटेलले उत्तरी म्याग्दीको चिमखोलाबाट सुरु भएको नाचलाई फैलाएर म्याग्देली कला र संस्कृतिमा एकता र विविधताको झल्को दिएको बताए । कतारमा हालै सम्पन्न भएको मोना कतार बहुउदेश्यीय अक्षय कोषको कार्यक्रममा एनआरएनए आइसीसीका अध्यक्ष रबिना थापाले समेत पटेलको प्रस्तुतीको प्रशंसा गदैं सम्मान गरेकी थिईन् ।

नाचमार्फत दर्शकको आर्कषक र आर्थिक सहयोग जुटाउन समेत सहज भएको बताईन्, दशक अगाडीसम्म तौल भएको चरेसको थाल नचाउने चलन भएपनि अहिले स्टलको थाल नचाउने गरिन्छ । वि.सं २००८ सालमा म्याग्दीको चिमखोलामा जन्मिएकी हिरामाया पुन श्रीसले सिर्जना गरेर प्रदर्शन गर्न थालिएको ‘थाली नाच’ अहिले म्याग्दीभित्र मात्रै देशभरका नेपालीबीच लोकप्रिय बन्दै गएको छ। वि.सं २०२८ सालमा चिमखोलाकी हिरामाया पुनले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गरेकी थिईन्। वि.सं २०४४ सालमा काठमाडौंमा भएको सार्क सम्मेलनमा प्रस्तुत भएपछि थालीनाचको राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।