---Advertisement---

म्याग्दीका महिलाको माग  ‘अंश र वंशको अधिकार चाहियो’

On: September 13, 2023 10:36 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा बुधवार महिलाका लागि अंश र वंशसम्बन्धी विषयमा अन्तर्क्रिया  कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको महान् पर्व हरितालिका तीजको पूर्वसन्ध्याको अवसर पारेर महिलाहरुको लागि अंश र वंश विषयक अन्तर्क्रिया  कार्यक्रम गरिएको हो ।

कार्यक्रममा म्याग्दीका जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालले महिलाको सम्पतिसम्बन्धी अधिकार, प्रहरी नायव उपरीक्षक मदन कुँबरले लैङ्गिक तथा घरेलु हिंसा र सहायक प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीले महिलाको अंश र वंशको विषयमा आ–आफ्नो प्रस्तुतीसहित सहजीकरण गर्नुभएको थियो ।

अन्तर्क्रियामा आफ्नो प्रस्तुती राख्दै जिल्ला न्यायाधीश नेपालले महिलाहरु आफ्नो हक तथा अधिकार प्रयोग गर्न जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले संविधानमा उल्लेख भएका महिलाको हक, अधिकारको बारेमा महिलाहरुलाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले प्राप्त हक तथा अधिकारको पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै महिला दिदीबहिनीहरुले पनि आफ्नो हक अधिकारको खोजी गर्न सुझाव दिनुभयो ।

महिलाहरुमाथि हिंसा हुने प्रमुख कारण आर्थिक परनिर्भरता रहेको भन्दै उहाँले महिलाहरु विभिन्न पेशा तथा व्यवसायमा आबद्ध भएर आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले पहिलेको समयमा तीज पर्वमा महिलाहरु भेट भएर आफ्ना दुःख पीडा सुनाउने गरेपनि अहिले भने हक अधिकारको बारेमा वकालत हुने गरेको बताउनुभयो । उहाँले महिलाहरुको महान् पर्व तीजलाई तडकभडक नगरी समाजमा सन्देश दिने खालका कार्यक्रमहरुको आयोजना गरेर मनाउनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले महिलाहरु एकापसमा मिलेर संयुक्त रुपमा कार्यक्रम आयोजना गरेर तीज पर्व मनाउनु सराह्रनीय भएको उल्लेख गर्नुभयो । अहिलेसम्म जिल्लामा महिलासँग अप्ठ्यारा घटना र परिस्थिति सिर्जना नभएको उहाँको भनाइ थियो ।

बेनी नगरपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग तथा सहकार्यमा सञ्चालित कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको थियो । कार्यक्रमको मिलन म्याग्दी, कालीगण्डकी र मंगला आमा समूह, नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, दिदीबहिनी, सङ्गिनी, मिलन महिला बचत तथा ऋण सहकारी संस्था, महिला अधिकार मञ्च, महिला मानवअधिकार रक्षक सञ्जाल तथा सञ्चारिका समूह नेपाल जिल्ला शाखा म्याग्दी आयोजक रहेका थिए ।

मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापाको अध्यक्षता र कालीगण्डकी आमा समूहका निवर्तमान अध्यक्ष भूलमाया तिलिजाले स्वागत गर्नुभएको कार्यक्रम दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु गौतम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्लास्थित विभिन्न संघसंस्थाबाट महिलाहरुले सहभागिता जनाएका थिए ।जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, उपप्रमुख डिलकुमारी खत्री र मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीको विशेष उपस्थिति रहेको कार्यक्रम महिलाहरुलाई अंश तथा वंशसहित प्राप्त संविधानमा उल्लेखित हक र अधिकारको बारेमा जानकारी गराउने उद्देश्य रहेको आयोजकले जनाएका छन् ।

प्रताप बानियां

प्रताप बानियां बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।