पहिरो खसेर अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक चार दिनपछि खुलेको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने घुमाउनेभीरमा पहिरो खसेर अवरुद्ध भएकाे सडक बुधवार बेलुकीदेखि सञ्चालनमा आएको हो ।

बेनी नगरपालिका–४, तातोपानी र मंगला गाउँपालिका–२ सिमलचौर जोड्ने घुमाउनेभीरमा सडकभन्दा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएकाे थियो । वर्षासँगै खसेको ढुङ्गा, माटो र गेगरसहितको पहिरो डोजरको सहायतामा पन्छाएपछि सडक सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सडक खुलेसँगै बीच सडकमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । घुमाउनेभीरको सडकमा खसेको पहिरो पन्छाएपछि अहिले बेनी–दरबाङ सडकमा निर्बाध रूपमा गाडी चलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कुमार गुरुङले जानकारी दिनुभयो । वर्षा कम हुँदै गएपछि बेनी–जोमसोम सडकमा पनि पहिरोको अवरोध नभएकाले सहज आवतजावत भइरहेको उहाँले बताउनुभयो ।

बेनी–दरबाङ सडक खण्डको घुमाउनेभीरमा खसेको पहिरोका कारणले सर्वसाधारण तथा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका थिए । सडक अवरुद्ध हुँदा खासगरी दैनिक खाद्यान्न सामग्री बोकेका गाडी, एम्बुलेन्स तथा बिरामी ल्याएका गाडी, पालिकाका कर्मचारीलगायत सर्वसाधारण र यात्रुलाई समस्या भएको थियो ।

पश्चिमी म्याग्दी भेगलाई जोड्ने बेनी–दरबाङ सडक म्याग्दीको ‘लाइफलाइन’ को रूपमा मानिन्छ । यो सडक पश्चिम म्याग्दीको मंगला–मालिका–धवलागिरि गाउँपालिका हुँदै जलजला–ढोरपाटन भएर रुकुमलाई जोड्नका लागि दुई जिल्ला जोड्ने रणनीतिक सडकको रूपमा विस्तार गरिएको छ ।

Leave a Reply