बेनीमा एक महिने लामो बर्खेनाच अन्र्तगत शुक्रवार रोपाई नाच देखाईएको छ । बेनीमा बस्ती बसेदेखि नै देखाउन थालिएको बर्खेनाचमा रोपाई नाच संगै लाखे, घोडा, नागनागीनी, गोरु र जोगी नाच देखाउने प्रचलन रहेको छ । नेपाल भाषा मंका : खल : को मुल आयोजनामा निकालिएको रोपाई नाचमा जिल्ला स्थित विभिन्न जातजातिको भेषभुषामा सजियका कलाकारहरुले नृत्य देखाएका थिए ।

नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाचको निरन्तरता र संरक्षणको लागि बेनीमा बसोबास गर्ने सबै समुदायको योगदान रहेको भन्दै पछिल्लो समय यो नाचलाई समेत समावेशी बनाउन थालिएको छ ।

करिब १ सय जना कलाकारहरु सहभागी भएको रोपाई नाचमा नेवार समुदाय संगै, मगर, छन्त्याल, बा्रहमण, क्षेत्री, थकाली, दलीत लगायतका जातजातिहरुको सहभागीता गराईएको नेपाल भाषा मंकाः खलः म्याग्दीका अध्यष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

परम्परागत समाजमा मुखीयाको घरमा खेत रोपाई गर्न जाँदा रोपारले धान रोपेको र बाँउसेले कोदालो खन्दै गरेको दृष्यलाई रोपाई नाचमा देखाउने गरिन्छ । असारे गित गाउँदै बजारमा धान रोपाईको झल्को दिने गरि नाच प्रदर्शन गरिएपछि बजारबासी र सर्वसाधारणले भरपुर मनोरञ्जन लिएका थिए ।

रोपाई नाचमा कलाकारहरु धेरै लाग्ने र व्यवस्थापन र खर्च जुटाउन कठिन हुने भएकाले यस्ता नाचहरुलाई हरेक बर्ष देखाउन नसकिने भएकाले केही बर्षको अन्तरालमा देखाउने गरिएको सुविन श्रेष्ठले जानकारी दिनुभयो ।

घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाईने बर्खे नाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । खास गरि लाखे नाचमा परापुर्व कालमा समाजमा दुख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ ।

बेनीमा बसोबास भएदेखिनै बर्खेनाच देखाउने परम्परागत चलन रहेको पाइन्छ । बर्खेनाच अन्र्तगत तिजको दिनमा दानविय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछी असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच समापन गरिने चलन छ ।

 

Leave a Reply